काठमाडौँ, १६ फागुन युएईका लागि नेपाली राजदूतमा सिफारिश आशा लामाले सरकारले योग्य, अनुभवि, सक्षमता देखेर आफूलाई राजदूतमा सिफारिश गरेकोले उक्त निर्णयबाट सरकार पछिनहट्नेमा आफू विश्वस्त रहेको बताईन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएकी हुन् । लामाले भनिन्, ‘मैले देश र जनताको हित विपरित कुनैपनि त्यस्तो काम गरेको छैन, मैले आप्रवासी नेपाली महिलाहरुको हकहितको लागि काम गरेको छु, विगत ६ वर्षदेखि युएईमा काम गरिरहेको छु, त्यहाँका नेपालीहरुको पीडा मलाई जति कसैलाई पनि थाहा छैन्, उनीहरुको समस्या समाधान गर्नको लागि म जेलमा पुगेको छ, हरेक ठाउँमा पुगेको छु, हरेक नेपालीहरुले काम गर्ने कम्पनीदेखि घरमा पुगेको छु ।’ सरकारले मेरो योग्यता, क्षमता हेरेर मलाई जुन किसिमको जिम्मेवारी दिने निर्णय गरेको छ, यसले मलाई निकै खुशी तुल्याएको छ, यसको लागि पूर्ण रुपमा सक्षम र योग्य छु ।’
लामाले आफ्नो परिवारको रगत–रगतमा कांग्रेस रहेकोले जिकिर गर्दै भनिन्, ‘मेरा पुर्खाहरु पनि कांग्रेस नै हुन्, हजुरबुवादेखि बुवासम्म सबै कांग्रेस हुन्, मलाई जनमोर्चा भनियो, तर त्यतिखेर मलाई उम्मेद्वारी मात्रै बनाईएको हो ।
मैले पाँच नम्बर क्षेत्रमा कांग्रेसका उम्मेद्धवार नरहरी आचार्यलाई भोट हालेकी हुँ । साध्यबहादुर भण्डारीले मलाई उम्मेद्धवार बन्नुहोस्, सहयोग गर्नुहोस्, हामी राष्ट्रवादी हौँ भनेर भन्नुभयो, त्यसैले मैले उम्मेद्धवारी दिएकी हुँ, म त कांग्रेस नै हुँ ।’ उनले पार्टीले आफूलाई अन्याय नगर्नेमा आफू विश्वस्त रहेको बताईन् ।
लामाले आफू राजदूत बन्न पूर्ण रुपमा योग्य र सक्षम रहेको स्पष्ट पारिन् । उनले राजदूत नियुक्तिमा आफू जत्तिको सक्षम व्यक्ति नेपाली कांग्रेसभित्र नरहेको दाबी समेत गरेकी छन् । लामाले अगाडि भनिन्, ‘अहिले मेरो नाम राजदूतमा सिफारिश भए लगत्तै मेरो बारेमा गलत तरिकाले समाचारहरु आए, यी सबै मेरो चरित्र हत्या गर्नेगरि आएका हुन्, ती असत्य र भ्रामक समाचारहरुको म आज खण्डन गर्न चाहन्छु, आजसम्म मैले कसैलाई बिगारेको छैन ।’
उनले यो देशको लागि केही गर्ने भनेर ठूलो सपना देखेको व्यक्ति भएको बताउँदै भनिन्, ‘म अन्तिमसम्म पनि देश र जनताको लागि र विदेशमा रहेका नेपालीहरुको हकअधिकारको लागि लडिरहनेछु ।’ उनले पछिल्लो समय आफूले महिला हिंसा विरुद्धको अभियानको नेतृत्व गरिरहेको बताउँदै भनिन्, ‘नेपालमा मात्रै नभएर विदेशमा समेत मैले आवाज बुलन्द गरेको छु, नारीमाथि भएको अन्याय, अत्याचार र शोषणविरुद्ध आशा फाण्डेशन नेपाल संस्थाबाट लडिरहेकी छु ।’
उनले आफूले गरेको यस्तो राम्रो कामको बारेमा लेखिदिनुपर्ने बेलामा मिडियाले गलत रुपमा समाचार सम्प्रेषण गरेको गुनासो पोख्दै थपिन्, ‘मैले गरेका राम्रा कामहरुको बारेमा लेख्नुपर्ने बेलामा मिडियाले हचुवाको भरमा तथ्यहीन समाचारहरु मेरो बारेमा लेखेकोमा मलाई निकै दुःखित तुल्याएको छ, मलाई न्याय दिनुहोस्, मैले अन्याय गरेकै छैन ।’
उनले आफूले गलत काम गरेको प्रमाणित भए जस्तोसुकै कठघरामा उभिन पनि आफू तयार रहेको स्पष्ट पारिन् । उनले हात जोडेर भनिन्, ‘मलाई न्याय दिनुहोस्, गलत समाचार कहिल्यै पनि सम्प्रेषण नगर्नुहोस् ।’ उनले दुवईमा बसेर नेपाललाई चिनाउने ग्लोवल भिलेजको आयोजक पनि आफू रहेको दाबी गरिन् ।
काठमाडौं,१६ फागुन - सर्वोच्च अदालतले योग्यता नपुगेको सुजुकी ड्राइभिङ स्कुल प्रालिलाई ट्रायल सेन्टर सञ्चालन गर्न नदिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको खबर आजको कान्तिपुरमा छ ।
सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम २० को अनुसूची ३ विपरीत यातायात व्यवस्था विभाग र प्रालिबीच भएको सम्झौताले सवारी चालक अनुमति पत्र लिन चाहने सोवाग्राहीलाई थप आर्थिक भार पर्ने भएकाले तत्कालका लागि ट्रायल सेन्टर सञ्चालन नगर्न न्यायाधिश इश्वरप्रसाद खतिवडाको एकल इजलासले आदेश दिएको हो ।
माघ २७ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले झुटो विवरण पेश गरी अनुदान रकम लिने वा लिन प्रयास गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
बस्न योग्य घर भएका वा अन्यत्र घर भएकाहरुले पनि झुटो विवरण पेश गरी लाभग्राही सूचीमा आफ्नो नाम पारेको भन्ने गुनासो आएकोमा ध्यानाकर्षण भएको भन्दै प्राधिकरणले सार्वजनिक सूचना प्रकाशन गरी कारबाहीको चेतावनी दिएको हो ।
प्राधिकरणले लाभग्राहीको सूचीमा नाम पारी अनुदान सम्झौता गरेका गैर पीडितहरुले अनुदान प्राप्त गरेको भए रकम फिर्ता गर्न र रकम लिन प्रयास गर्नेहरुले सम्बन्धित जिल्ला समन्वय समितिको सचिवालयमा सम्पर्क गरी १५ दिनभित्र लाभग्राही सूचीबाट आफ्नो नाम हटाउन भनेको छ ।
तोकिएको समयभित्र रकम फिर्ता नगर्ने या नाम नहटाउनेलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने प्राधिकरणको चेतावनी छ । यस्तै पहिलो किस्ता अनुदान लिएर पनि घर नबनाउने भूकम्पपीडितलाई सरकारले कारबाही गर्ने तयारी गरेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको ४२ औं बैठकले पहिलो किस्ताको ५० हजार रुपैयाँ लिएर घर नबनाउनेहरुलाई दण्ड दिनुपर्ने निष्कर्ष निकालेको हो ।
‘झुठो विवरण दिएर पहिलो किस्ता लिने र पहिलो किस्ता लिएर घर नबनाउने प्रवृत्ति देखिएकाले दण्डात्मक व्यवस्था गर्न लागेका हौं’, प्राधिकरणका सह–प्रवक्ता भीष्मकुमार भूसालले भने, ‘सुरुमासूचना निकालेर सचेत गराउँछौं ।
पछि कानुनअनुसार रकम फिर्ता गर्नेदेखि कालोसूचीमा राख्नेसम्मको कारबाही हुन्छ ।’ कालोसूचीमा परेकाले सरकारले उपलब्ध गराउने नागरिकता, पासपोर्ट लगायतका कागजात नपाउनुका साथै अन्य नागरिक अधिकारबाट बञ्चित हुने र बैंकको समेत कालोसूचीमा पर्ने उनले बताए । प्राधिकरणले गत फागुन ३० गतेबाट भूकम्पपीडितलाई पहिलो किस्ताको ५० हजार रुपैयाँ दिन थालेको हो।
१६ फागुन, रामेछाप - सोमबार विहान गएको भूकम्पका क्रममा भाग्दा रामेछापको गेलु गाविसमा एक जनाको मृत्यु भएको छ ।
सोमबार बिहान ९ बजेर २२ मिनेट जाँदा आएको भूकम्पमा भाग्ने क्रममा आँगनको पर्खालबाट चिप्लिएर गेलु गाविस ६ काउले पुरानागाउँका ६० वर्षीय ज्ञानकुमार तामाङको मृत्यु भएको स्थानीय श्यामलाल तामाङले जानकारी दिए । तामाङ केहि समयदेखि विरामी परेर थलिएका थिए ।
भूकम्प आएपछि अत्तालिएर भाग्ने क्रममा बण्डाको थाममा ठोक्किएका उनी पर्खालबाट चिप्लिन पुगेका थिए । उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।
सोमबार बिहान रामेछापको सुनारपानी केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको पराकम्प गएको थियो ।
त्यसको ४५ मिनेटपछि बिहान १० बजेर ६ मिनेट जाँदा रामेछापलाई नै केन्द्रबिन्दु बनाएर ४.७ रेक्टरको पराकम्प गएको नेपाल भूकम्प मापन केन्द्रले जनाएको छ ।
सोमबारको पहिलो भूकम्पमा परी साहिल कटुवाल नामका बालक मन्थलीमा घाइते भए । उनलाई सदरमुकाम मन्थलीमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।
भक्तपुर - फागुन, भक्तपुरस्थित नगरकोटका होटलमा यौन क्रियाकलापमा संलग्न १४ जना रंगेहात पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय समाचार कक्षले जनाए अनुसार नगरकोट नगरपालिका–११ स्थित रातोभाले रेष्टुरेण्टमा अनैतिक क्रियाकलापमा संलग्न अनन्तलिङ्गेश्वर नगरपालिका–३ बस्ने २९ बर्षीय संजोक थापा र ३ जना महिला सहित १४ जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । जुवा तास खेलिरहेको अवस्थामा पक्राउ
काठमाडौं - काठमाडौं महानगरपालिका–१५ स्वयम्भू ठाडोभर्याङ स्थित हरी कसुजीको घरमा डेरा गरी बस्ने नवलपरासी बर्दघाट–२ घर भएकी ३८ बर्षीया पुनम घलेको कोठामा अवैधरुपमा कौडा खेलिरहेको अवस्थामा पुनम घले समेत ६ जनालाई ३१ थान कौडा र नगद ७९ हजार ३ सय १० रुपैयाँ सहित प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ ।
काठमाडौं - काठमाडौं महानगरपालिका–१५ स्वयम्भू मुस्ताङ गुम्बा नजिक शिव श्रेष्ठको घरमा डेरा गरी बस्ने बांके राधापुर–८ चन्द्रनगर घर भएकी २६ बर्षीया रजनी मगरको कोठामा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा निज रजनी मगर समेत ८ जनालाई ३२० पिस तास र नगद ३७ हजार ६ सय १० रुपैयाँ सहित प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ । तस्विर : फाइल
पोखरा - पोखराको खाल्टे मसिनामा एक कृषकले पालेका हाँसमा बर्ड फ्लु रोग देखा परेको छ । सो ठाउँ वस्ने मिना परियारले पालेका हाँस विरामी परेपछि केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा बर्ड फ्लु रोग देखा परेको जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक एवं सूचना अधिकारी डा ठगेन्द्र प्रसाद अर्यालले जानकारी दिनुभयो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीको अध्यक्षतामा आज वसेको जिल्ला दैविक प्रकोप उद्धार प्राविधिक समितिको वैठकले खाल्टे मसिनाको पूर्वमा खहरे खोला, पश्चिममा भगवती मार्ग, उत्तरमा खाल्टेमसिना पीच रोड र दक्षिणमा त्यस ठाउँको भीर पहरोको ५०० मिटरसम्मको चार किल्ला क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
बर्ड फ्लु रोगलाई अन्यत्र नसरोस् भनेर त्यस चार किल्ला भित्र २४ घरपरिवारले पालेका २५६ कुखुरा, ४१ हाँस, ६७ किलो दाना र ४२ किलो पक्षी तथा पक्षीजन्य पदार्थ नष्ट गरी खाल्टो खनेर व्यवस्थापन गरिएको डा अर्यालले वताउनु भयो । समितिले सो क्षेत्रलाई ४२ दिनसम्म संकटग्रस्त क्षेत्र घोषणासंगै पक्षी तथा पक्षीजन्य पदार्थ विक्री वितरणमा रोक लगाएको र पोखरा नगर क्षेत्रमा रहेर व्यवसाय गरेका कृषकहरुले पनि पक्षीहरु पाल्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
आपूmले पालेका पक्षीहरु विरामी परेर मरेमा तुरुन्त जिल्ला सेवा कार्यालयमा तुरुन्त खवर गर्न र पक्षी तथा पक्षीजन्य पदार्थ ओसार पसार गर्दा उच्च सतर्कता अपनाउन पनि समितिले सवैलाई सचेत गराएको छ ।
फागुन, भक्तपुर - भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका– ३ बालकोटमा शुक्रबार एक युवकको झुन्डिएको अवस्थामा शव भेटिएको छ ।
ओखलढुङ्गा घर भई हाल बागमती बस व्यवसायीद्वारा सञ्चालित बालकोट कलङ्की रुटमा चल्ने बा२ख ७०१० नंको माइक्रोबसका सहचालक (खलासी) का रुपमा कार्यरत अन्दाजी २१ वर्षीय आशिष खड्काको शव भेटिएको महानगरीय प्रहरी प्रभाग बालकोटका प्रहरी नायब निरीक्षक प्रकाश घिमिरेले जानकारी दिनुभयोे ।
भक्तपुरको बालकोट र ललितपुरको टीकाथलीको सिमानामा रहेको गोदावरी खोला पुलको किनारामा रहेको वरपिपलको रुखमा झुन्डिएको अवस्थामा बिहान शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ । हत्या हो या आत्महत्या भन्नेबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । रासस
काठमाडौँ - बिगत लामो समय देखि प्रहरी प्रशासनसँग को मिलेमतोमा काठमाडौँको दर्वारमार्गमा गुण्डागर्दी गर्दै आएका राम गिरी लाई सोमबार दिउँसो पकाउ गरेको छ ।
केही दिन अगाडि काभ्रेका राजेन्द्र तमाङलाई ज्यान मार्ने उद्देश्यले आक्रमण गरेर फरार भएका गिरी दर्बारमार्गका डिसपिले समरक्षण गर्दै आएको भएपनि केन्द्रीय अपराध अनुसन्धान व्युरोले पक्राउ गरेको हो ।
डिएसपी मगरको असहयोगका बिच पनि अपराध अनुसन्धान व्युरोले पकाउ गरेको हो । पछिल्ला दिनहरूमा गिरी केही प्रहरी अधिकारीहरू सँगको मिलोमतोमा गुन्डागर्दीमा संलग्न थिए ।
१४ फागुन, काठमाडौं । नेपाली सेनाले खोलेको काठमाडौं–तराई फास्ट ट्रयाकको ७० किलोमिटर सडकखण्डमा सरकारले यातायात सञ्चालनको तयारी गरेको छ ।
कुल ७६ दशमलव ४ किलोमिटर लामो सडक योजनामध्ये अहिलेसम्म ७० किलोमिटरको मात्र ट्र्याक खोलिएको छ । काठमाडौं–तराई-मधेस फास्ट ट्रयाक सडक आयोजनाका प्रमुख सत्येन्द्र शाक्यका अनुसार छैमलेदेखि सिस्नेरी–दोभान–निजगढ हुँदै लेनडाँडासम्म सुक्खायाममा यातायात सञ्चालन हुने नयाँ पत्रिका दैनिकमा समाचार छ । ललितपुरको सैंबु, खोकना, बुङमती र डुकुछाप क्षेत्रमा अझै ६ दशमलव ४ किलोमिटरमा पर्ने जग्गा खरिद तथा मुआब्जासम्बन्धी काम बाँकी रहेको छ ।
यही क्षेत्र हुँदै फास्ट ट्र्याक निर्माण हुने भए पनि जग्गा प्राप्ति भइनसकेकाले वैकल्पिक सडकका रूपमा छैमलेदेखि सिस्नेरी–दोभान हुँदै फास्ट ट्रयाक भेट्ने गरी यातायात सञ्चालन सुरु गर्न लागिएको हो । ‘यातायात सञ्चालन गर्न ट्रयाक सफा गर्ने काम भइरहेको छ,’ आयोजना प्रमुख शाक्यले भने, ‘मिति किटान गर्न नसके पनि चाँडोभन्दा चाडो यातायात सञ्चालनमा ल्याउँदै छौँ ।’
आयोजना कार्यालयले निजगढ र छैमले दुवैतिरबाट सवारी गुड्न सक्ने ट्र्याक तयारीको काम भइरहेको जनाएको छ । त्यसका लागि दुवैतिरबाट डोजरले काम गरिरहेका छन् । केही दिनअघि गरिएको स्थलगत निरीक्षणले पनि हिउँद याममा सवारीसाधन गुड्न सक्ने सम्भावना रहेकाले सञ्चालनको तयारी थालिएको आयोजना प्रमुख शाक्यले जानकारी दिए । सेनाले ०६६ देखि ७० सालसम्म चार वर्ष लगाएर एक सय १० किलोमिटर ‘पाइलट ट्रयाक’ खोलेको थियो ।
आयोजनाको जग्गा प्राप्तिमा मात्र ६ अर्ब आवश्यक फास्ट ट्र्याकका लागि आवश्यक जग्गा प्राप्ति गर्न मात्रै कुल ६ अर्ब २४ करोड रुपैयाँ आवश्यक पर्ने भएको छ । त्यसमध्ये काठमाडौं–तराई-मधेस फास्ट ट्र्याक सडक आयोजनाले अहिलेसम्म तीन अर्ब २४ करोड रुपैयाँबराबरको रकम ट्रयाक खोल्न र जग्गाधनीलाई मुआब्जा वितरणमा खर्च गरेको छ । त्यसमध्ये ९४ करोड ४४ लाख रुपैयाँ भने ट्र्याक खोल्न खर्च भएको छ । अझै दुई अर्ब ८० करोड रुपैयाँ आवश्यक पर्ने आयोजना प्रमुख सत्येन्द्र शाक्यले जानकारी दिए ।
आयोजनाले ७० किलोमिटर सडकका लागि आवश्यक जग्गा प्राप्ति गरिसकेको छ । यो आवश्यक जग्गा अधिग्रहणमध्ये ९३ प्रतिशत हो । बाँकी रहेको ६ दशमलव ४ किलोमिटर सडकका लागि दुई अर्ब ८० करोड रुपैयाँ आवश्यक रहेको आयोजना कार्यालयले जानकारी दिएको छ ।
ललितपुरको सैंबु, खोकना, बुङमती र डुकुछाप क्षेत्रमा पर्ने (६.४ किमि) जग्गा प्राप्ति गर्न मुआब्जामा विवाद भएपछि अझै वितरण हुन पाएको छैन । सो क्षेत्रका बासिन्दाले जग्गाको मूल्य निर्धारण कम भएको भन्दै निर्धारित मुआब्जा लिन मानेका छैनन् । ‘उपत्यकाको जग्गा भएकाले चलनचल्तीको दरभन्दा धेरै मूल्य राखि“दा पनि स्थानीयले असन्तुष्टि देखाएका छन्,’ आयोजना प्रमुख सत्येन्द्र शाक्यले भने । तर, यही क्षेत्रमा मुआब्जामा चित्त बुझाएका धरधनीलाई ४० करोड रुपैयाँ भने वितरण गरिसकेको छ ।
जग्गा प्राप्तिबाहेक समस्या भएको क्षेत्रमा रहेका घर, टहरा, बोट–विरुवालगायतको मूल्य थप २० करोड रुपैयाँ आवश्यक पर्ने जिल्लाको मूल्य निर्धारण समितिले अनुमान गरेको छ ।
१२ फागुन, काठमाडौं - राजधानीको सबैभन्दा व्यस्त रहने न्यूरोडमा फिल्मी शैलीमा अपहरण र लुटपाट भएको छ । लुटपाटमा संलग्न ६ जना पक्राउ परेका छन् ।
घटना गत मंगलबारको हो । काका-भतिज नारायण खराल र विधान न्यूरोडको ग्लोबल आईएमई बैंकबाट पैसा निकालेर बाहिर मात्र के निस्किएका थिए, हामी अख्तियारबाट आएका हौं भन्दै ६ जनाको समूहले उनीहरुलाई पक्राउ गर्यो । ४ लाख २७ हजार रुपैयाँको चेक साटेका उनीहरुमाथि हुण्डीको कारोबार गरेको अभियोग लगाइएको थियो । ६ जनाको समूहले काका-भतिजलाई ट्याक्सीमा राख्यो तर, अख्तियारको कार्यालय टंगाल होइन, डल्लु पुर्यायो ।
डल्लु पुर्याएपछि खुकुरी देखाएर उनीहरुसँग भएको रकमका साथै तीन थान चेक, आइफोन, सामसुङ र नोकिया मोबाइलका साथै काका-भतिजको पर्स लुटेर लग्यो । लुटपाटमा संलग्न ६ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ परेको छ । पक्राउ पर्नेमा गोरखाका नारायण बानियाँ, सदिप थापा मगर, अशोक वानियाँ, शिव वानियाँ र रुकुमका विश्वास घर्ती मगर र धनकुमार परियार छन् । लुटपाटमा संलग्न विश्वास र नारायण योजनाकार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
कोरियाबाट फर्किएका नारायण हुण्डीको काराबार गर्छन् र उनले बैंकमा कारोबार गर्नेहरुको निगरानी गर्ने काम गर्दै आएका थिए । दुबैले लुटपाटको योजना बनाएपछि चार जना सहयोगी खोजेका थिए, जसमध्ये अशोक र शिव बानियाँ पूर्वसैनिक समेत हुन् । नारायण मंगलबार विहान ११ बजे नै न्यूरोड पुगेका थिए । र, करिव २ः४५ बजेतिर बैंकमा पुगेका खराल काका-भतिज उनीहरुको लुटको शिकार भए ।
काठमाडौँ, १२ फागुन - संयुक्त अरब इमिरेट्स (यूएई) का लागि राजदूत सिफारिस भएकी आशा लामाको म्यानपावर कम्पनीले ठगेको भन्दै वैदेशिक रोजगार विभागमा २३ वटा मुद्दा चलिरहेको भेटिएको छ। सबैभन्दा बढी यूएईबाट फर्केका कामदारले नै मुद्दा हालेका छन्।
म्यानपावर कम्पनीले प्रतिव्यक्ति २० हजारदेखि ७ लाख रुपैयाँसम्म ठगी गरेको भन्दै पीडितले विभागमा उजुरी दिएका हुन्। लामाको म्यानपावर कम्पनी जब ट्रयाक रिक्रुटिङ (लाइसेन्स नम्बर ४५८/६०/६१) बाट यूएई, साउदी अरब र कुवेत पुगेर फर्किएका कामदारले सम्झौताअनुसारको काम, तलब र सेवासुविधा नदिएको उजुरीमा उल्लेख गरेका छन् । ठगी गरेको भन्दै महिला कामदारले समेत उजुरी गरेका छन्। मोरङमा जन्मिएर काठमाडौंबाट नागरिकता बनाएकी ५२ वर्षीया लामालाई नेपाली कांग्रेसले आफ्नो कोटामा राजदूतमा सिफारिस गरेको हो। लामा जब ट्रयाककी सञ्चालकका साथै प्रबन्ध निर्देशक हुन् । म्यानपावर कम्पनीमा उनको १५ हजार कित्ता सेयर छ।
पीडितहरूले जबर्जस्ती राहदानी लिएको, ठगी गरेको भन्दै म्यानपावर कम्पनीलाई कारबाही गरी क्षतिपूर्ति रकम दिलाइदिन विभागसमक्ष उजुरी गरेका हुन्। यूएईबाट फर्केर उजुरी हाल्नेमा कल्याण कटुवाल (एक लाख १० हजार), अनिशा लामा, अजय तामाङ (९० हजार), विनोद सुनुवार (९० हजार), रोशनप्रसाद दाहाल (एक लाख ४० हजार), सन्तोष गुरुङ (२० हजार), कृष्णप्रसाद अधिकारी (७ लाख ६ हजार), खुम्बाबहादुर भुजेल (एक लाख ५ हजार), मधुकृष्ण नापित (एक लाख ५ हजार), कामना तामाङ (चार लाख ४० हजार), ताराकुमारी तामाङ (एक लाख १० हजार), तुलसी श्रेष्ठ (एक लाख १० हजार) र बिजु मगर (एक लाख ११ हजार ४ सय रुपैयाँ) छन्।
साउदीबाट फर्किई मुद्दा हाल्नेमा सविता नेपाली (५५ हजार), रामबहादुर विक (८२ हजार), कृष्णबहादुर थापा (८० हजार), हरिबहादुर थापा (८० हजार), सुवर्ण तामाङ (८० हजार), लालबहादुर निरौला (साउदी अरब), कालिका गौतम, अजयकुमार चौधरी, बिहारी मुखिया (७५ हजार), रामअवतार साह (७५ हजार), राम सुगारथ (७५ हजार) र प्रविनकुमार चौधरी छन्।
कुवेतबाट फर्केर आएका दिनेशबहादुर क्षत्री (एक लाख), अक्कलबहादुर बिष्ट (एक लाख), निमाछिरी शेर्पा (९० हजार) र जगतप्रसाद विश्वकर्मा (एक लाख रुपैयाँ) ले पनि विभागमा उजुरी दिएका छन्। कान्तिपुर दैनिकले खबर छापेको छ।
१२ फागुन, काठमाडौं - ट्यांकर चालकले हड्तालको तयारी गर्दा उपत्यकामा इन्धन आपुर्ति प्रभावित भएको छ । गत शुक्रबार एक दिन उपत्यकामा इन्धन आपुर्ति ठप्प पारेका चालकहरुले माग सुनुवाइ नभए फागुन १५ देखि हड्ताल गर्ने प्रचार गरेका छन् ।
प्रचारका कारण उपभोक्ता इन्धनको स्टक राख्न थालेका छन् र पम्पहरुमा बढी लाइन देखिन थालेको छ । आफूहरुले डेढ महिनादेखि १५ बूँदै माग राखेको तर सुनुवाइ नभएकाले हड्तालमा उत्रनुपरेको उनीहरुको जिकीर छ ।
नेपाल आयल निगमले २० हजार लिगर र त्यसभन्दा बढी इन्धन बोक्ने ट्यांकरमा २ सय लिटरभन्दा बढी चुहावट भए त्यसको दोब्बर मूल्य चालकलाई तिराउने विनियमावलीको तयारी गरेपछि बिशेषतः ट्यांकर चालकहरु आक्रोशित भएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
११ फागुन, काठमाडौं - निर्वाचन आयोगले बुधबार सरकारका नाममा १९ बुँदे निर्देशन जारी गरेको छ । आयोगले आगामी बैशाख २५ गतेदेखि ३१ गतेसम्म देशभरिका शैक्षिक संस्थाहरु बन्द गर्न र मतदानस्थलका रुपमा प्रयोग हुने विद्यालय कम्पाउण्डहरु मर्मत गर्न भनेको छ ।
आयोगले चुनावको तयारीमा खटिने निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीको सुरक्षा प्रवन्ध गर्नका साथै चाहिएका बेला उपलब्ध हुने गरी हवाइ टिकट र हेलिकोप्टरको समेत व्यवस्था गर्न सरकारका नाममा निर्देशन जारी गरेको छ । निर्वाचन आयोगले देशैभरिका शिक्षकहरुको विवरण एक साताभित्र निर्वाचन आयोगसमक्ष पठाउन भनेको छ । साथै चाहिएका बेला कर्मचारीको व्यवस्था गर्न र निर्वाचन सामाग्रीको सुरक्षाको उचित प्रवन्ध गर्न पनि सरकारलाई निर्देशन दिएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यतालिका बुधबार सार्वजनिक गरेको छ ।
जस अनुसार वैशाख १६ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । स्थानीय तह निर्वाचन बैशाख ३१ गते हुँदैछ । यस्तो छ १९ वुँदे निर्देशन
१. निर्वाचनको सन्दर्भमा आयोगबाट भएका निर्णय र अन्तर्गतको कार्यालयबाट भएका पत्राचारलाई नेपाल सरकारका सम्पूर्ण निकाय, सार्वजनिक संस्थान, विकास समिति, स्थानीय निकाय, शैक्षिक संस्थानहरूले उच्च प्राथमिकता दिई तत्काल सम्पन्न गर्ने ।
२. आयोगबाट जारी भएको निर्वाचन आचार संहिताको पूर्ण रूपमा पालना गर्न गराउन मातहतका सबै निकायलाई निर्देशन दिने । साथै, आचार संहिता कार्यान्वयनका सम्बन्धमा आवश्यक सहयोग पुर्याउन र माग भएको जानकारी तत्काल आयोग र अन्तर्गतका निकायलाई उपलब्ध गराउने ।
३. नेपाल सरकारका सम्पूर्ण निकाय, सार्वजनिक संस्थान, विकास समिति, स्थानीय तह, अनुदानमा सञ्चालित विश्वविद्यालय र सामुदायिक विद्यालयका शिक्षकको अद्यावधिक बिवरण यो निर्देशन प्राप्त भएको मितिले एक हप्ताभित्र छिटो साधनद्वारा सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा पठाउने ।
४. निर्वाचनको कामका लागि आयोग तथा अन्तर्गतका कार्यालयले माग गरेका कर्मचारीहरू तुरून्त खटाई पठाउने व्यवस्था गर्ने ।
५. नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल टेलिकम तथा विकास आयोजना लगायत सरकारी निकायका वायरलेस, टेलिफोन, फ्याक्स तथा अन्य सञ्चार साधनहरू मर्मत र सेवा बिस्तार गर्नुपर्ने भए तत्कालै मर्मत गरी चालु हालतमा राख्ने तथा निर्वाचनको कामका लागि माग गरेको समयमा प्राथमिकता दिई उपलब्ध गराउने ।
६. निर्वाचन आयोग र अन्तर्गत सबै कार्यालय र निर्वाचन सामाग्री भण्डार स्थलको सुरक्षा व्यवस्था मिलाउन सुरक्षाकर्मर्ी परिचालन गर्न आवश्यक व्यवस्था मिलाउने ।
७. निर्वाचनको सिलसिलामा आयोगका पदाधिकारी तथा कर्मचारी र निर्वाचन अधिकृत, पर्यवेक्षक लगायत अन्य कर्मचारीको आवागमन तथा मतपत्र लगायत निर्वाचन सामग्री ढुवानी गर्दा गराउँदा सुरक्षाको आवश्यक प्रबन्ध मिलाउने ।
८. निर्वाचन अधिकृतको कार्यालयको लागि आवश्यक पर्ने घर, फर्निचर, कम्प्यूटर, फ्याक्स मेसिन, सवारी साधन, पेट्रोमेक्स र अन्य आवश्यक भौतिक सुविधा माग भएको अवस्थामा जिल्लास्थित कार्यालयबाट तुरून्त उपलब्ध गराइदिने ।
९. निर्वाचन सम्बन्धी मुऽण कार्यमा सरकारी वा सरकारी स्वामित्वमा रहेका छापाखानाले प्राथमिकतासाथ छपाइ सम्बन्धी कार्य गर्ने । मतपत्र छपाइ लगायतका काम गर्न आयोगले जनक शिक्षा सामग्री केन्ऽलाई जिम्मा दिने हुँदा सो केन्ऽको छापाखानाको मर्मत सम्भार गर्नुपर्ने भए शीघ्रातीशीघ्र मर्मत समेत गरी चालु अवस्थामा राख्ने ।
१०. निर्वाचन आयोगका पदाधिकारी तथा कर्मचारी र निर्वाचन अधिकृतको आवागमनका लागि माग गरेको बखत हवाई टिकट सुरक्षित राखि दिने र निर्वाचन सामाग्री ढुवानीका लागि आवश्यकतानुसार मोटर, हवाईजहाज र हेलिकप्टरको सुविधा उपलब्ध गराउने ।
११. निर्वाचनसँग सम्बन्धित सबै कार्यमा शान्ति सुरक्षाको आवश्यक प्रबन्ध मिलाउने ।
१२. स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गर्न उम्मेदवार,दल,मतदाताहरूको सुरक्षाको उचित प्रबन्ध मिलाउने ।
१३. निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा बिजुली, धारा, डाँक तथा टेलिफोन सेवा निर्वाध रूपले उपलब्ध गराउने ।
१४. निर्वाचनको सन्दर्भमा नेपाल सरकारका जुनसुकै तहको कर्मचारी र सुरक्षा निकायका पदाधिकारीलाई जिम्मेवारी तोक्न सकिने हुँदा यसरी तोकिएको कर्मचारीको जिम्मेवारी पूरा गर्ने दायित्व निज कर्मचारी वा सुरक्षाकर्मीको हुने ।
१५. २०७४ साल वैशाख ३१ गते तदनुसार मे १४, २०१७ आइतबारका दिन हुने स्थानीय तहको निर्वाचनको लागि मतदानकेन्द्र विद्यालय भवन तथा कम्पाउण्डभित्र पनि राखिएकाले सबै विद्यालयमा २०७४ साल वैशाख २५ गतेदेखि मतदान सम्पन्न नभएसम्म पठनपाठन, परीक्षा सञ्चालन र सबै शैक्षिक क्रियाकलापहरू स्थगन गर्ने व्यवस्था मिलाउने । साथै विद्यालय भवन तथा कम्पाउण्ड वाल निर्माण तथा मर्मत गर्नुपर्ने भएमा सो को तुरून्त निर्माण तथा मर्मत गर्ने व्यवस्था मिलाउने ।
१६. सार्वजनिक सञ्चारका माध्यम रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र, दि राइजिङ्ग नेपाल, राष्ट्रिय समाचार समिति आदिले निर्वाचन अयोगको निर्देशन अनुरूप निर्वाचन सम्बन्धी सूचनालाई प्राथमिकता दिई प्रकाशन तथा प्रसारण गर्ने ।
१७. नेपाल सरकारले निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने बजेट र जनशक्ति प्राथमिकताकासाथ उपलब्ध गराउने ।
१८. निर्वाचन कार्यमा संलग्न हुने जनशक्तिको सुरक्षाको उचित प्रबन्ध मिलाउने ।
१९. निर्वाचन आयोगबाट स्थानीय तहको निर्वाचन प्रयोजनका लागि खरिद गरिएका निर्वाचन सामग्रीहरू तोकिएको मितिमा आयोगमा प्राप्त हुने सुनिश्चितता नेपाल सरकारले मिलाउने ।
८ फागुन काठमाडौं - भूकम्पपीडितहरूलाई दिन लागिएको ट्याक्सीको नतिजा आगामी २६ चैतमा सार्वजनिक हुने भएको छ ।
यातायात व्यवस्था विभागले गोलाप्रथाबाट नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । ‘२६ चैतमा गोलाप्रथा गर्ने गरी तयारी गरेका छौँ,’ विभागका प्रवक्ता डा. टोकराज पाण्डेले भने, ‘०७३ सालभित्रै यसको टुंगो लाग्नेछ ।’ ट्याक्सी नम्बरका लागि आवेदन दिने सबैको नाम अपडेट भइसकेको र त्यसलाई किताबका रूपमा छापेर रुजु गरेपछि गोलाप्रथामार्फत ट्याक्सी नम्बर वितरण गर्न लागिएको उनले बताए ।
आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । भूकम्पले धेरै क्षति पुर्याएका १४ जिल्लाका सर्वसाधारणलाई गोलाप्रथाको माध्यमबाट सरकारले नयाँ ट्याक्सी दर्ता गर्ने सुविधा दिन लागेको हो । १५ सय ट्याक्सी नम्बरका लागि एक लाख ४९ हजारले आवेदन दिएका छन् ।
आवेदन दिने सबैको नाम रहेको पुस्तक प्रकाशन गरिने र त्यसलाई १४ जिल्लाकै जिल्ला प्रशासन, मालपोत तथा प्रहरी कार्यालयमा पठाउने विभागको तयारी छ । ‘आवेदन दिएर पनि कसैको नाम छुटेमा जिल्लाबाटै दाबीविरोध गर्न पाइनेछ,’ डा. पाण्डेले भने, ‘थप रुजु गरेर टुंगो लगाएपछि गोलाप्रथाको काम हुनेछ ।’
आवेदन दिनेको नामावली विभागले वेबसाइटमा पनि राख्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्न विभागका निर्देशक सोम फुयाँलको संयोजकत्वमा एक समिति गठन गरिएको छ । समितिले फागुनभित्रै आवेदकहरूको नामसहितको पुस्तक प्रकाशन गरेर जिल्ला जिल्लामा पठाउने तयारी गरेको छ । भूकम्पपीडितहरूलाई राहतस्वरूप सरकारले ट्याक्सी नम्बर दिन लागेको हो ।
८ फागुन काठमाडौं - आफू कार्यरत पसलकै साहुलाई अपहरण गरी फिरौती लिएर एक युवती फरार भएकी छन् ।
कामदार युवतीले पसल साहुलाई काठमाडाैंको सुन्धारामा बोलाएर नियन्त्रणमा लिई फिरौतीसमेत असुल गरेर फरार भएको प्रहरीले जनाएको छ । सुन्धाराको सनराइज गेस्ट हाउसमा बन्धक अवस्थामा फेला परेका व्यापारी श्यामसुन्दर अग्रवालबाट ८ लाख फिरौती लिएर ती युवती सहयोगीसहित बेपत्ता भएपछि घटनाबाहिर आएको हो । आजको राजधानी दैनिकमा समाचार छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार अग्रवाललाई गेस्ट हाउसका कर्मचारीले उद्धार गरी प्रहरीलाई खबर गरेपछि कामदारबाटै अपहरणमा परी फिरौतीसमेत बुझाउनुपरेको रहस्य खुलेको हो । अपहरण गरी फिरौती असुल्ने ती युवती सहयोगीसहित फरार भएका थिए । सात महिनाअघि जागिर खोज्दै आएकी ती युवतीले भन्दै सुन्धारा बोलाएपछि अग्रवाल न्युरोडबाट सनराइज गेस्ट हाउसमा पुगेका थिए ।
महिलासहित उनीहरूले त्यही होटलमै ६ घण्टा बन्धक बनाएर अग्रवालको साथमा रहेको ७२ हजार नगद र चेकमार्फत ८ लाख फिरौती लिएर होटलमै छाडेर भागेका रहेछन्,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) प्रकाशजंग कार्कीले भने ।
बैतडी - फागुन ६ खानी तथा भूगर्भ विभागले बैतडीको मल्लादेहीमा रहेको फलाम खानीको प्रारम्भिक अध्ययन गरेकोे छ ।
दुई दिन लगाएर गरिएको अध्ययनले मल्लादेहीको अल्याडी क्षेत्रमा फलाम रहेको पुष्टि भएको अध्ययन टोलीमा संलग्न भूगर्भविद् सन्तोष ढकालले राससलाई जानकारी दिनुभयो । “सयौँ वर्ष पहिले पनि फलाम निकालिएको पाँचसयभन्दा बढी खाल्डा छन्”, उहाँले भन्नुभयो, “रातो रातो रङ्गको चटटनमा चुम्बक राख्दा फलाम तानिएकाले त्यहाँ फलाम रहेको पुष्टि हुन्छ ।”
सयौँ वर्ष पहिले फलाम निकाल्ने गरेको र ती खाडल आठदेखि १० मिटर गहिराइमा रहेका समेत उहाँले बताउनुभयो । “खाल्डो पुरिन थालेका छन्”, भूगर्भविद् ढकालले भन्नुभयो, “बाहिरी आँखाले नदेखिने भएकाले थप अध्ययन गर्ने तयारी भएको छ ।” दुई दिनको प्रारम्भिक अध्ययनपछि फलाम खानी भएको प्रमाणित गरेर त्यस क्षेत्रको अन्य चट्टानको अध्ययनमा टोली लागेको विभागका अर्का भूगर्भविद् प्रकाश पोखरेलले बताउनुभयो । “एक किलोमिटर क्षेत्रमा सयौँको सङ्ख्यामा रहेका खाडल आधा पुरिएका छन्”, उहाँले भन्नुभयो, “पहिले फलाम निकाल्न प्रयोग भएका धेरै खाडल अहिले प्रयोगविहीन अवस्थामा छन् ।”
खानी विभागले विभिन्न चरणका अध्ययन गर्ने लक्ष्य लिएकाले अर्को वर्ष यस क्षेत्रको जमिनमुनिको फलामको मात्रा पनि थाहा हुने दाबी गरेको छ । ती खाल्डाबाट आजभन्दा पचास वर्षअघि सम्म बैतडीको मल्लादेहीमा कुनै यान्त्रिक प्रयोग बिना, हातैले उत्खनन गरेर फलाम उत्पादन गरिएको भूगर्भविद प्रकाश पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “बाजेको पालाका त्यही खानीबाट निकालेको फलामबाट बनेका भाँडाहरु भेट्टिए ।”
उत्तरपट्टि फर्केको पाटोमा खानी रहेको बताउँदै भूगर्भविद पोखरेलले अध्ययनका क्रममा अल्याडी क्षेत्रमा एक ठाउँमा देखापरेको चट्टानमा फलाम खानी रहेको र बैतडीमा यस्ता धेरै खानी हुन सक्ने समेत बताउनुभयो । खानी विभागको टोली त्यही ठाउँमा शिविर बनाएर दुई दिन बस्यो र फलाम खानीको अध्ययन अघि बढाएको हो ।
भूगर्भविदले यो क्षेत्रमा खानी रहेको प्रमाणित भएपनि कच्चा पदार्थको मात्रा कति छ भन्ने अर्को विस्तृत अध्ययनपछि मात्र थाहा हुने बताएका छन् । खानी विभागले विभिन्न चरणका अध्ययन गर्ने लक्ष्य लिएकाले चैत महिनासम्म पुनः यस क्षेत्रको जमिनमुनिको फलामको मात्रा पनि थाहा हुने भूगर्भविद्ले दाबी गरेका छन् । आजभन्दा झन्डै पचास वर्षअघि सम्म बैतडीको मल्लादेहीमा कुनै यान्त्रिक प्रयोग बिना, हातैले उत्खनन गरेर फलाम उत्पादन गरिएको कुरा अहिलेसम्म सुन्नमा मात्रै आएको थियो । त्यही खानीबाट उत्खनन गरेको फलामबाट निर्मित केही घरेलु प्रयोजनका सामग्री देख्न पाइए पनि त्यसको ठोस प्रमाण केही थिएन । तर खानी तथा भूगर्भ विभागले केही दिनअघि गरेको अध्ययनपछि मल्लादेहीमा फलाम खानी रहेको प्रमाणित भएको छ ।
विस्तृत अध्ययन हुनुपर्ने माग झट्ट हेर्दा कुनै विद्रोही समूहको बङ्करजस्तै अनुमान गर्न सकिने ती गहिरा खाडल त्यही खाडल हुन् जहाँबाट सयौँ वर्षअघि स्थानीयवासीले फलामको धाउ निकाल्ने गर्दथे । जताततै खाल्डाखुल्डी देखिन्छन् । त्यहाँ ठूला खाल्डा खनिएका छन् । जयपृथ्वी बहादुरसिंह राजमार्गअन्तर्गत बैतडीको ढोल्यामोडबाट पुरचौडी हाट जाने कच्ची सडक हुँदै १७ किलोमिटर हिँडेपछि कोटिलाको रुइनचौर पुगेपछि पश्चिम हुँदै त्यहाँको प्रसिद्ध डिलासैनी मन्दिरलाई दायाँ पार्दै दक्षिणतर्फ लाग्यो भने एक घन्टामा मल्लादेहीमा रहेको उक्त फलाम खानीमा पुग्न सकिन्छ ।
स्थानीय बासिन्दाले पनि लामो समयदेखि फलामखानीको अध्ययनका लागि खानी विभागलाई गुहार्दै आएका थिए । अहिले आएर खानी तथा भूगर्भ विभागले प्रारम्भिक अध्ययन गरेको हो । खानी विभागको अध्ययनपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् भने प्रारम्भिक अध्ययन मात्रै नभएर यसको विस्तृत अध्ययन हुनुपर्ने स्थानीय बासिन्दाको माग रहेको छ । मल्लादेही–१ का रामबहादुर बोहराले त्यही खाल्डोबाट आफ्ना बाबुबाजेले फलाम निकालेको बताउनुभयो ।
“त्यसै खाल्डोबाट घरायसी हतियारले फलाम निकालेर हँसिया, बाउसो बनाएको अझै आफूलाई सम्झना छ”, उहाँले भन्नुभयो, “त्यही खानीबाट निकालेको फलाम मेरो घरमा अझै पनि छ ।” फलामको टुक्राले आगो बाल्ने गरेको समेत उहाँले बताउनुभयो । पुरचौडीको मल्लादेहीमा रहेको यो फलामखानीबारे पटकपटक आवाज उठाउँदै आएपनि यसका बारेमा खासै सुनुवाइ नभएको स्थानीयवासी जयबहादुर धामीले बताउनुभयो । “यस खानीको विस्तृत अध्ययन गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “यस क्षेत्रको आर्थिक समृिद्घका लागि यो खानी सञ्चालनमा आउनुपर्छ ।”
खानी तथा भूगर्भ विभागको एक टोलीले बैतडीको जमाडीगाड र सुर्नयागाड नदी क्षेत्रलगायत मल्लादेही, कोटिला, भूमिराज, कुवाकोट, विजयपुर, शङ्करपुरमा भौगर्भिक सर्वेक्षण गरेको छ । भौगर्भिक सर्वेक्षणपश्चात् प्रारम्भिक प्रतिवेदन भूगर्वविद्ले खानी तथा भूगर्भ विभागमा बुझाउने भएका छन् । प्रारम्भिक प्रतिवेदन बुझाइसकेपछि भूगर्भविद्को टोली एक महिनापछि चैतमा फेरि भौगर्भिक सर्वेक्षणका लागि बैतडी आउने भएको छ । रासस
फागुन, बिराटनगर - मोरङको बेलबारी नगरपालिकामा चलिरहेको धार्मिक महोत्सवबाट अपहरणमा परेकी एक किशोरी सामुहिक बलात्कारको शिकार भएकी छिन् ।
घटनापछि प्रहरीले दुर्इजना स्थानीयलार्इ पक्राउ गरेको छ । महोत्सवबाट फर्कंदै गर्दा शुक्रबार राति दुईजना स्थानीय व्यक्तिले किशोरीलार्इ अपहरण गरेको स्थानीयबासीले अनलाइनखबरलार्इ बताए । मोटरसाइकलमा आएका दुई व्यक्तिले राति १० बजेतिर जबरजस्ती मोटरसाइकलमा राखेर एकान्तमा लगी सामूहिक बलात्कार गरेको बेलबारी प्रहरीले बताएको छ ।
दुईवटा मोटरसाइकलमा आएका दुईमध्ये एक जनाले युवतीसँगै रहेका अन्य युवालाई आफूहरु प्रहरी भएको बताउँदै हातपात गरेका थिए । आफूहरु प्रहरी भएको भन्दै युवतीलार्इ लिएर हिँडेका ती व्यक्तिले कोशी हरैचा – ५ बेलेपुरमा अवस्थित एक काठ मिलमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार राति बलात्कारीहरुले किशोरीलाई काठ मिलमै छाडेर हिँडेका थिए । पीडित किशोरीले फोन गरेर आफन्तलार्इ बोलाएपछि उनको उद्दार भएको थियो ।
१६ वर्षीया युवतीलाई अपहरणपछि सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले ४० वर्ष कटेका दुई जना गाउँलेलाई पक्राउ गरेको छ । बलात्कृत चेली बेलबारी निवासी हुन् भने पक्राउ पर्ने दुर्इजना पनि बेलबारीकै बासिन्दा हुन् । बत्लाकारको घटनापछि प्रहरीले बेलबारी–३ का ५२ वर्षीय शम्भु थापा र‘अनिल’ भनिने ४० वर्षीय प्रेम गुरुङलार्इ नियन्त्रणमा लिएको छ ।
को ९ प ८४४ नम्बरको मोटरसाइकलको नम्बरका आधारमा युवाको पहिचान खुलेको बेलबारी प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक रामजी कटवालका अनुसार थापा र रार्इविरूद्ध जबरजस्ती करणीको मुद्दा दायर गरी अदालतबाट म्याद थप गरिएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।
माेरङ ५ फाल्गुण - मोरङको राजघाट १ स्थित अठियाबारीमा चितुवाले स्थानियलाई आतंकित बनाएको छ । आज बिहान साढे ८ बजेतिर नजिकैको नर्सरीबाट आएको चितुवाले स्थानिय दुइ जनालाई आक्रमण गरी घाइते बनाएको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।
चितुवाको आक्रमणबाट राजघाट १ का ५५ बर्षका टंकबहादुर धिमाल र सोही ठाउँका ५० बर्षीय खुशीलाल धिमाल घाइते भएका हुन् । उनीहरुको उर्लावारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चितुवा स्थानिय नर्सरीमै रहेकाले स्थानिय अझै त्रासमा रहेको प्रहरीको भनाइ छ ।
मोरङ- यौन क्रियाकलाप गराएको आरोपमा इलाका प्रहरी कार्यालय पथरीले एक होटल एण्ड लज संचालिका सहित एक जोडी यौनकर्मी पक्राउ गरेको छ ।
सोमबार पूर्वपश्चिम लोकमार्ग अन्तरगत सडकको दक्षिण पटि जोडिएको पाथिभरा होटल एण्ड लजका संचालक कमला लिम्बूलाई पक्राउ गरेको हो । होटल संचालिका लिम्बू सहित यौन गतिबिधिमा संम्लग्न तेह्रथुम घर भएका महिला र पर्सा जिल्ला वीरगंज घर भएका १८ बर्षिय रवी कुमार जैसावाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ।आफ्नो होटलमा ग्राहक आएपछि होटल संचालिका लिम्बूले यौनकर्मीहरुलाई फोन सम्र्पक गरी बोलाई आफ्नो ग्राहकको माग पुरा गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
संचालिका लिम्बूले युवती कुरेर बसेको ग्राहक भएको कोठामा पठाइ वेश्यावृति कार्यमा संम्लग्न गराएको इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर राजन कार्कीले बताए। व्यक्तिगत सम्पर्कको आधारमा अबैध यौनधन्दा तथा वेश्यावृति गर्ने गरेको गोप्य सुचनाको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको तिनै जनालाई सार्वजानीक मुद्दा दर्ता गरेको इस्पेक्टर कार्कीले जनाएको छ ।




















