नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोन सेवाका विभिन्न पूरक सेवाहरुमा लाग्ने शुल्क हटाएको छ । यी सबै सुविधा लिदा पहिले केही शुल्क लाग्दै आएकोमा गत साउन १ देखि ती सुविधा निःशुल्क रुपमा उपलब्ध गराउन थालिएको टेलिकमले जानकारी दिएको छ।
ल्याण्डलाइन टेलिफोनमा कसैले कल गरेकोमा कलरको नम्बर देखिने सुविधा (कलर आईडी) लिनका लागि सुरुमा शुल्क लाग्दै आएकोमा अब यो निःशुल्क भएको छ ।
त्यसैगरी आइएसडी सेवा आफैले बन्द गर्न र खोल्न सकिने, बारम्बार डायल गर्नुपर्ने नम्बरलाई कुनै दुई अंकमा सेभ गरी सोही दुई अंक थिची नम्बर डायल गर्न सकिने र एउटामा आउने सम्पूर्ण कल अर्को नम्बरमा डाइभर्ट हुनेसुविधा पनि सोही मिति देखि निःशुल्क भएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्ययले जानकारी दिइन्।
त्यसैगरी टेलिफोन ब्यस्त हुँदा आउने कल अर्को नम्बरमा डाइभट हुने, ६ पटकसम्म घण्टी बजेर पनि फोन नउठेमा अर्को नम्बरमा डाइभर्ट हुने, आवश्यक पर्ने समयमा अलार्मको रुपमा टेलिफोनमा घण्टी बजाउन वा समय सूचकको रुपमा प्रयोग गर्न सकिने वेक अप कल र टेलिफोनमा कुरा भइरहेको बेला अर्को कल आएको थाहा पाउन प्रयोग गरिने कल वेटिङ सुविधा पनि निःशुल्क लिन सकिने भएको छ ।
टेलिफोन सेटमा आफूले राखेको लकिङ कोड आफैले टेलिफोन सेटबाट परिवर्तन गर्दा समेत अब शुल्क नलाग्ने भएको छ ।
कलर आईडी सुविधा लिनका लागि दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नुपर्ने र अन्य सुविधा भने ग्राहकले आफै लिन सकिने टेलिकमले जनाएको छ।
३ साउन, हेटौंडा । मकवानपुरको थाहा नगरपालिका-१ खानीगाउँमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ४३ जना घाइते भएका छन् ।
डाँडाबासको पकनीबाट काठमाडौंका लागि छुटेको ना ४ ख ४५६७ नम्बरको बस खानीगाउँमा सडकबाट झण्डै एक सय मिटर तल खस्दा कैलाश गाउँपालिका-६ गोगनेकी ३५ वर्षीया कमला दोङ र डाँडाखर्क- ३ बस्ने ३० वर्षीय कुन्साङ लामा (तामाङ)को मृत्यु भएको हो ।
दोङको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारको क्रममा र तामाङको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ३९ जनालाई उपचारको लागि काठमाडौं पठाइएको छ र बाँकी घाइतेहरुको मकवानपुरमै उपचार भइरहेको डिएसपी बामदेव गौतमले जानकारी दिए । बस दुर्घटनाको कारण खुलेको छैन ।
३ साउन, भोजपुर । जिल्लाको अरुण गाउँपालिका ५ याकुमा ११ वर्षीया बालिका निशा (नाम परिवर्तन) लाई अवैध रुपमा गर्भवती बनाउने छिमेकी २१ वर्षीय युवक दुर्गाबहादुर श्रेष्ठ पक्राउ परेका छन् ।
उनलाई प्रहरीले धरानबाट पक्राउ गरी भोजपुर लैजाने तयारी गरिरहेको छ । श्रेष्ठका विरुद्ध जिल्ला प्रहरी कार्यालय, भोजपुरमा आज जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ ।
भोजपुरका प्रहरी प्रमुख डीएसपी काजीकुमार आचार्यले अनलाइनखबरसँग यस्तो गम्भीर घटनालाई सामान्य सम्झेर घरगाउँमै सामसुम पार्न खोजेकाले मुद्दा प्रकृति थोरै कमजोर बने जस्तो देखिए पनि बालिकालाई न्याय दिने र दोषीमाथि कारवाही गर्ने कुरामा कुनै कसर बाँकी नराख्ने बताए ।
मुलुकी ऐनको जबरजस्ती करणी महलले घटना भएको ६ महिनासम्म पीडित पक्षले सम्बन्धित निकायमा न्यायका लागि निवेदन दिनुपर्ने व्यवस्था गरेको छ ।
तर, शुरुमा समाजमै मिलाउन खोजेका कारण ६ महिनाको गर्भसहित बालिकाको विचल्ली भएपछि घटना बाहिर आएको हो । डीएसपी आचार्यले भने ‘हदम्यादको कुरा नभई यो त बालिकाबाट स्वस्थ र सुरक्षित बच्चा जन्माउने, नामाकरण, सम्पत्ती हक दाबीसम्मको न्यायका कुरा छन् त्यो ढंगले मुद्दालाई सोच्नुपर्ने हुन्छ ।’ घटना प्रहरीको जानकारीमा आएपछि आफूहरुले घटनाको छानवीन र दोषीमाथि कारवाहीका लागि एकरति पनि ढीला नगरी लागेको आचार्यको भनाइ छ ।
गएको पुसमा पहिलोपटक महिनावारी भएको एक महिना पनि नबित्दै नियमित महिनावारी रोकिएपछि पनि घरमा सामान्य नै मानेका थिए । तर, पेट बढ्दै गएपछि निशाले आमासँग दुर्गाले यौन सम्पर्क राखेको बताएपछि रहस्य खुलेको थियो । समाज बसेर बालिका जिम्मा लगाइए पनि बालिका नेवार र दलित बाबुआमाको सन्तान भएकाले केटाको परिवारले स्वीकारेन ।
बालिकालाई लिएर धरान झरेको केही दिनमा छाडेर केटाले बालिकालाई अलपत्र पारेपछि मात्र मिडियाहरुमा खबर आयो । केटा पक्षबाट अझै पनि बालिकाका परिवारलाई मुद्दामा फस्लास भनेर दवाब दिइरहेको बालिकाकी माइजू निलम घलेले बताइन् ।
अहिले बालिका र उनको परिवार न्यायका लागि भोजपुर सदरमुकाम पुगेका छन् ।
महिला तथा वालवालिका कार्यालय भोजपुरकी प्रमुख महिला विकास अधिकृत पुष्पलता उप्रेतीले जबरजस्ती करणीबाट हुर्केको गर्भ पतन गर्न मिल्ने कानुनी प्रावधान भए पनि गर्भ निकै हुर्किसकेको साथै उमेर नै नपुगी बसेको गर्भ भएकाले त्यसलाई सुरक्षित जन्म दिने र बालिकाको लेखपढ, पालनपोषणदेखि स्वास्थ्य संरक्षणको आवश्यकता रहेको बताएकी छन् । उनले बालिकाको संरक्षणका लागि थुप्रै संघसंस्था सम्पर्कमा आएको तर कहाँ पठाउने निर्णय भइनसकेको बताएकी छन् ।
वालिकाको जन्मदर्ता ०६३ साल चैत २४ गते रहेको र उनी ७ कक्षामा पढिरहेको पारिवारिक स्रोतको भनाइ छ ।
बिर्तामोड, साउन ३ । गोर्खाल्याण्ड आन्दोलनका क्रममा घइते बनेका बिरामी औषधि उपचारका लागि नेपाल आउन थालेका छन् । आन्दोलनका कारण औषधि उपचार गर्नसमेत समस्या भएको भन्दै उनीहरु नेपालीको सहयोगमा नेपालका विभिन्न अस्पतालमा औषधि उपचारका लागि नेपाल आउन थालेका हुन् ।
भारतको मिरिक – ७ का ३८ वर्षीय आनन्द तामाङ सोमवार साँझ झडपको क्रममा घाइते भएका थिए । उनको उपचार भारतको सिलगढीमा सहज हुने भए पनि आन्दोलनका कारण सिलगढीसम्म विरामीलाई लान नसकेपछि उनलाई उपचारका लागि नेपाल ल्याइएको बताइएको छ ।
घाइते बनेका तामाङलाई इलामको पशुपतिनगरका नेपालीको सहयोगमा सोमवार राति झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा ल्याइएको छ ।
छाती, घाँटी र हातमा खुकुरीले काटेर गम्भीर चोट लागेपछि चिन्ताजनक अवस्थामा उनलाई पशुपतिनगरका नेपालीले उद्धार गरी बीएण्डसी अस्पतालमा ल्याएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताउनुभयो । घाइते तामाङको उपचार डा. बासु बास्कोटा र डा. सन्दिप अधिकारीले गरेको बताइएको छ ।
सरकारले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाए पनि मानव तस्करले सेटिङ गरी नेपाली कामदार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँजसो पठाइरहेका छन् । तस्करले विमानस्थलका अध्यागमन, प्रहरी र एयरलाइन्सका कर्मचारीलाई आर्थिक प्रलोभन (सेटिङ)मा पारी भिजिट भिसा भएकालाई उतै काम गर्ने गरी खाडी मुलुक पठाउने गरेका हुन् । तस्करले सेटिङ गरी भिजिट भिसामा दुबई, कतार, साउदी अरेबिया, कुवेतलगायत मुलुकमा कामदार पठाइरहेको स्रोतको दाबी छ ।
यसरी खाडी मुलुक पुग्ने नेपाली युवायुवती उतै बस्ने गरेका छन् । विभिन्न म्यानपावर कम्पनी र त्यहाँ काम गर्ने एजेन्ट तस्करीमा संलग्न हुँदै आएको स्रोत बताउँछ । उनीहरूको ‘आर्थिक सम्बन्ध’ विमानस्थलका प्रहरी, अध्यागमन र एयरलान्सका कर्मचारीसँग छ ।
स्रोतका अनुसार पछिल्लो पटक असार १३ गते मानव तस्करले १० जनालाई भिजिट भिसामा दुबई पठाएका थिए । एयर अरेबियाको उडान नम्बर ५ सय ३० बाट उक्त दिन चार युवालाई तस्करले दुबई पठाएका हुन् । थप ६ जनालाई पनि त्यही दिन भिजिट भिसामा दुबई नै पठाइएको थियो ।
एयर अरेबिया र अध्यागमनका कर्मचारीले भ्रमणको उद्देश्य नखुले पनि भिजिट भिसा भएकाहरूलाई बोर्डिङ पास र प्रस्थान अनुमति (डिपार्चर) दिएका छन् ।
स्रोतका अनुसार भिजिट भिसामा खाडी मुलुक जानेले टिकटसहित सेटिङका लागि प्रतिव्यक्ति दुई लाख रुपैयाँ खर्चिएका थिए । केही दिनअघि एक होटलमा कार्यरत सेफ पनि सेटिङमै दुबई उडेका थिए । दुबईस्थित होटलमा काम खोजेर उनी भिजिट भिसामा त्यसतर्फ गएका हुन् ।
त्यसरी विदेश जानेमा झापा राजगढका ताराप्रसाद सापकोटा, झापाकै दिनेश भण्डारी र अर्का दुई जना आइतबहादुर घिसिङ र आकाश तामाङ छन् ।
‘कुँवर थरका व्यक्तिले टिकट खर्चसहित प्रतिव्यक्ति दुई लाख लिएर प्रहरी, अध्यागमन र एयरलाइन्समा सेटिङ गरेका हुन्’, उड्नुअघि तामाङले भन्नुभयो, ‘अहिले हामीसँग भएको एक हजार डलरसमेत दुबई पुगेपछि त्यहाँको एजेन्टलाई फिर्ता गर्नुपर्छ । यो एजेन्टकै पैसा हो ।’ तामाङले अरू ६ जना आफ्नो समूहका नरहेको बताउनुभयो । ‘अब हामी दुबईमै त्यहाँका एजेन्टमार्फत काम खोज्छौं ।’
विगतमा खाडी मुलुक जान चाहनेले एक हजार अमेरिकी डलर, दोहोरो हवाई टिकट र होटल बुकिङको कागजपत्र देखाउँदा अध्यागमनका कर्मचारीले भिजिट भिसामा जान दिने गरेका थिए ।
पछिल्लो समय भिजिट भिसामा जाने महिला कामदारमाथि हुने विभिन्न हिंसाको उजुरी आउन थालेपछि गृहले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएको थियो ।
विमास्थलस्थित अध्यागमन प्रमुख होमनाथ थपलियाले भिजिट भिसाको सेटिङमा आफ्ना कर्मचारीको संलग्नता खुले कडा कारबाही गर्ने बताउनुभयो । ‘हामीलाई कसैले उजुरी गरेको छैन । उजुरी आयो भने आवश्य कारबाही गर्छौं’, थपलियाले भन्नुभयो ।
साउदी अरबमा मात्रै झन्डै ४० हजार नेपाली महिला अवैध रूपमा कार्यरत छन् ।
कुवेत, कतार र युएईमा पनि नेपाली महिलाको संख्या उल्लेख्य छ । नेपाली कामदारको अवस्था बुझ्न अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको टोली चैत ५ मा खाडी मुलुक गएको थियो ।
संसदीय टोलीले अवैध रूपमा नेपाली महिलालाई खाडी मुलुकमा पठाउन विमानस्थलस्थित अध्यागमनका कर्मचारीको प्रत्यक्ष मिलोमतो देखिएको दाबी गरेपछि गृहले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएको थियो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
अमेरिकामा भारतीय इन्जिनियर श्रीनिवास कुचीभोतलाको हत्या पछि कोलोराडोमा एक अन्य भारतीयमाथि ‘घृणा अपराध’ को घटना सार्वजनिक भएको छ । एक भारतीयको घरमा अण्डा फ्याँकियो र घृणाले भरिएको मेसेज पनि लेखियो । घर बाहिर लेखियो, ‘तिमी भारतीयहरु यहाँ बस्नु हुँदैन ।’
– यो घटना ६ फेब्रुअरीको हो । न्यूज एजेन्सी एएनआईका अनुसार फेडरल ब्यूरो अफ इन्वेस्टिगेसन (एफबीआईं) यस विषयमा अनुसन्धान गरिरहेको छ ।
– अधिकारीका अनुसार यो काम कुनै एक समूहको हुनसक्छ । डेनवर मिडियाका अनुसार भारतीयको घरमा सबै ठाउँमा ‘हेट मेसेज’ लेखिएको थियो ।
– यस विषयमा भारतीयको केही बयान आएको छैन । उनीहरुका घर मालिकले घटनाको जानकारी दिएको बताइएको छ ।
– घरका मालिक अनुसार हेट मेसेज लेखिएको करिब ५० पेपर उनको ढोका, झ्याल र काममा राखिएको पाइयो । यस्तै, कम्तिमा पनि ४० वटा अण्डा फ्याँकिएका थिए ।
– यतिमात्र होइन, घरको ढोकामा कुकुरको दिसा पनि राखिएको थियो ।
१७ फागुन, काठमाडौं । कुलमान घिसिङको नेतृत्वमा लोडसेडिङ हट्न थालेपछि अत्तालिएका विद्युत- माफियाहरुले अब बिजुलीको पोल ढाल्नेदेखि ट्रान्समिटर बिगार्नेसम्मका हर्कत गर्न थालेका छन् । खाडीचौरमा ढलेको पोल र बानेश्वरमा बिग्रिएको भनिएको ट्रान्समिटरका विषयमा नेपाल विद्युत प्राधिकरणले छानविन गर्ने भएको छ ।
गत फागुन ६ गते राति सुनकोशीबाट भक्तपुर आउने ६६ केभी प्रसारण लाइनअन्तरगत खाडीचौर-अँधेरी खण्डमा पर्ने ६ नम्बर खम्बा ढल्यो । सो खम्बा ढल्नुभन्दा अघि त्यहाँको टावर जोखिममा परेका कारण खम्बाको जगमा जाली राखेर मर्मत गरिँदै थियो ।
फागुन ६ गते राति खम्बाको जगमा जाली राखेर कामदारहरु घरतर्फ लागे । तर, कामदारहरु घर फर्किएपछि मध्यरातमा शंकास्पद रुपमा टावर ढल्यो । यो टावर नढलेको भए ७ गते मर्मतको काम सकिने थियो ।
प्राधिकरणका प्राविधिकहरुले सो खम्बा प्राकृतिक रुपमा नभई नियतवस जग फोडेर ढालिएको निश्कर्ष निकालेका छन् । सो समयमा कुनै हवाहुरी नआएको र अन्य कुनै प्राविधिक कारणसमेत नदेखिँदा प्राधिकरणलाई संशयमा पारेको हो । यसबारे प्राधिकरणका अधिकारीहरुले आन्तरिक रुपमा अनुसन्धान अधि बढाएको कुलमान निकट स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।
ललितपुरमा अर्को काण्ड
नियतवस
फेरि यस्तै अर्को घटना मंगलबार बिहानै भएको छ । ललिपपुरको इमाडोल-१ स्थित फिडर केबल विनाकारण पडि्कएको छ ।
गत कात्तिकमा पनि यस्तै शंकास्पद घटना भएको थियो ।
विद्युत प्राधिकरणले यो घटना कसरी भएको भनेर खोजी गर्दैछ । अहिले कतै कुनै प्राविधिक समस्या थियो कि थिएन भनेर पेट्रोलिङ भइरहेको प्राधिकरणले जनाएको छ । अहिलेसम्म कुनै त्यस्तो प्राविधिक कारण प्राविधिकहरुले फेला पारेका छैनन्, जसका कारण यति ठूलो फिडर केबल जलोस् ।
मंगलबार बिहानको यो घटनाले बानेश्वर सव स्टेशनका २ वटा १८ एमभीए क्षमताका ट्रान्सर्फमर बन्द भएका छन् । र, यो ट्रान्सर्फमरबाट वितरण गरिने ३६ एमभीए बराबरको बिजुलीको आपूर्ति बन्द भएको छ । जसले गर्दा बानेश्वर एरियामा लोडसेडिङ भएको हो ।
शंकास्पद घटना
इमाडोलको फिडर जलेको घटना शंकास्पद देखिएको प्राधिकरणका अधिकारीहरु बताउँछन् । विशेष गरी काठमाडौंमा लोडसेडिङ अन्त्यको घोषणा भएपछि लगातार यस किसिमका घटना भइरहेका छन् । विभिन्न समयमा विना प्राविधिक कारण प्रणालीमा समस्या ल्याउने प्रयत्न भइरहेको देखिएको छ ।
यसबारे जिज्ञासा राख्दा प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी प्राविधिक रुपमा वितरण प्रणाली चुस्त भएकै समयमा ठूला किसिमका घटना दोहोरिनुले केही संशय पैदा भएको स्वीकार्छन् ।
‘विद्युत प्रणालीमा कहिलेकाँही प्राविधिक समस्या त आउने नै गर्छन्, तर यस्ता घटनाहरु बारम्बार आइरहनुले हाम्रो विद्युतीय संरचनाहरुको सुरक्षाप्रति गम्भीर चासो र संशय उत्पन्न गराएको छ’ अधिकारीले भने, ‘किन यस्ता घटना दोहोरिइरहेका छन् भनेर अब सुक्ष्म निगरानी गर्नुपर्ने अवस्था देखिएको छ ।’
विद्युत वितरण प्रणालीलाई चुस्त राख्न प्राधिकरणले पछिल्लो समयमा विभिन्न प्रयत्न गरिरहेको छ । तर, प्राधिकरणको वर्तमान काम गराईसँग असन्तुष्ट भएकाहरुले यस किसिमको घटना गराइरहेको आशंका गरिएको छ ।
काठमाडौंमा यो वर्ष लोडसेडिङ नहुने पक्का भइसकेको छ । बिजुलीको चरम अभाव हुने फागुनको मध्य अवधिलाई प्राधिकरणले पार लगाइसकेकको छ । अब हिउँ पग्लिएर नदीहरुमा पानीको बहाव बढ्ने भएकाले उत्पादन बिस्तारै बढ्दै जाने अवस्था छ ।
यही कारण जसरी पनि प्राधिकरणको वर्तमान नेतृत्वसहित उनको टीमलाई असफल पार्न प्रणालीलाई बिगार्ने गरी विभिन्न बदमासीहरु भइरहेका छन् । यसलाई अब बेलैमा छानविनमार्फत नियन्त्रण नगरे षडयन्त्रकै माध्यमबाट काठमाडौंलाई फेरि अन्धकारमा पुर्याउने अदृश्य शक्ति सफल हुने निश्कर्ष प्राधिकरणकै प्राविधिकहरुले पनि निकालेका छन् ।
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी विद्युत प्रणाली निकै संवेशदनशील हुने भएकाले सानो बदमासी गर्दा पनि त्यसको असर ठूलो पर्ने बताउँछन् । पछिल्ला समयमा लगातार विभिन्न मानवीय बदमासीले उत्पन्न समस्या बढ्दै जाँदा सबै पक्ष यसमा चनाखो हुनुपर्ने अवस्था आएको बताउँछन् ।
प्रहरी प्रशासनले पनि विद्युत प्रणालीमा मानवीय बदमासीमार्फत हुन सक्ने अपराधलाई नियन्त्रण गर्नुपर्ने देखिएको छ । त्यसैगरी प्राधिकरण र ऊर्जा मन्त्रालयले पनि यस्ता घटनाहरुबारे छानविन गरेर घटनालाई रोक्न चासो देखाउनुपर्ने अवस्था आएको छ । नत्र फेरि उत्पादन भएको बिजुली पनि वितरण नहुने अवस्था आउन सक्ने देखिएको छ ।
प्राधिकरणको वर्तमान नेतृत्वलाई असफल गर्न रचिएका सम्भावित षडयन्त्रलाई पहिले नै पहिचान गर्नुपर्ने सरोकारवाला पनि बताउँछन् ।
१७ फागुन, काठमाडौं । यातायात व्यवस्था विभागले २० वर्ष पुराना भाडाका गाडीहरु भोलिबाट सडकमा देखिए कारबाही गर्न आग्रह गर्दै ट्राफिक प्रहरीलाई पत्राचार गरेको छ ।
२० वर्ष पुराना गाडीहरुमा यात्रा गर्दा जोखिम हुने र प्रदुषण पनि बढ्ने भएकाले सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै सरकारले गरेको थियो । उक्त निर्णय बुधबारबाट पूर्णरुपमा कार्यान्वयनमा ल्याइँदैछ ।
यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले अनलाइनखबरसँग भने, ‘यसअघिको निर्देशन बमोजिम भोलिबाट २० वर्ष पुराना गाडी सडकमा गुड्ने छैनन् । यदि गुडेको पाइए कारबाही गर्न ट्राफिक प्रहरीलाई भनेका छौं ।’
यसैबीच यातायात व्यवसायीहरुले २० वर्ष पुराना गाडी हटाउने निर्णय खारेजको माग गर्दै मंगलबार यातायात व्यवस्था विभागको कार्यालय घेराउ गरेका छन् ।
१७ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा खर्चमा भारी बृद्धि गर्ने बताएका छन् । उनले २०१८ का लागि आफ्नो प्रस्तावित बजेटमा रक्षा खर्चमा ५४ अर्ब डलर बृद्धि गर्न चाहेका छन्, जुन कुल रक्षा खर्चको लगभग ९ प्रतिशत हो ।
ट्रम्पको बजेट योजनामा अन्य क्षेत्रमा भने बजेट कटौतीको प्रस्ताव छ । यसमा विदेशिक सहायता र पर्यावरणमा हुने खर्च पनि सामेल छ ।
ट्रम्पका अनुसार बजेट सेना, सुरक्षा र आर्थिक विकासमा केन्दि्रत हुनेछ ।
यद्यपि रिपब्लिकन पवार्टीको सुुधारको मागका बावजुद ट्रम्पले सामाजिक सुरक्षा र स्वास्थ्य सेवामा कुनै कटौतीको प्रस्ताव राखेका छैनन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले मार्च मध्यमा आफ्नो बजेट प्रस्तावको अन्तिम प्रारुप पेश गर्ने सम्भावना रहेको बीबीसीले जनाएको छ ।
सोमबार हृवाइट हाउसमा गभर्नरसँगको भेटमा ट्रम्पले भनेका छन्, हामी सिमित संसाधनमा धेरै कम गर्न चाहन्छौं र सरकारलाई अधिक जवाफदेही बनाउन चाहन्छौं ।’
अमेरिकाको बाषिर्क रक्षा बजेट करिव ६०० अर्ब डलर छ र यो विश्वको सबैभन्दा धेरै हो ।
उनले मंगलकार कंग्रेसमा हुने आफ्नो सम्बोधनमा पूर्वाधारमा हुने खर्चबारे आफ्नो योजना पेश गर्ने समेत बताएका छन् । उनले भने, हामी इन्फ्रास्ट्रक्चरमा धेरै खर्च गर्छौं ।’
ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा ट्याक्स कटौतीको बाचा गरेका थिए । यसले राष्ट्रिय ऋण बढ्न सक्छ ।
इटहरी खानेपानीकाे उपभोत्ता सम्पुर्ण कामकाज बन्द गरी आन्दोलनमा
बेलबारी । ट्राफिक प्रहरीको दादागीरिका कारण एक कर्मचारीले गम्भिर यातना भोग्नु परेको भन्दै सुनसरीको इटहरी खानेपानी उपभोत्ता संस्था कर्मचारी युनियनले बिज्ञप्ती जारी गरी घटनाको भत्र्सना गरेको छ ।
फागुन १५ गते बेलुका कार्यलयको काम सकेर मोरङको गछिया घर फर्कने क्रममा सवारीचालक पदमा कार्यरत उमेश चौधरीलाई बुढीखोला छेउमा सवारी चेकजाँचका क्रममा ट्राफिक प्रहरीले रोकेको र रोक्ने क्रममा एक्कासी लाठी प्रहार गरी शरिरका बिभिन्न भागमा चोटपटक लागेको र गम्भिर घाईते बनाएको भन्दै युनियनले बिज्ञप्ती निकालेर सो घटनाको निन्दा एवम भत्र्सना गरेको छ ।
कर्मचारी युनियनका अध्यक्ष राजु दंगाल र सचिब डुक बहादुर कार्कीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा बर्दीधारी राष्ट्रसेवक बाट भएको यस किसिमको हर्कतको बिरोध गर्दै घटनामा दोषीलाई कारबाही र घाईतेको उपचारको ब्यबस्था गरिदिन सम्बन्धित पक्षसँग जोडदार माग समेत गरेको छ । २४ घण्टाभित्र दोषीउपर कारबाही नभए इटहरी खानेपानीको सम्पुर्ण कामकाज बन्द गरी आन्दोलनमा जाने समेत उनीहरुले बिज्ञप्तीमा उल्लेख गरेका छन ।
काठमाडौँ, १६ फागुन युएईका लागि नेपाली राजदूतमा सिफारिश आशा लामाले सरकारले योग्य, अनुभवि, सक्षमता देखेर आफूलाई राजदूतमा सिफारिश गरेकोले उक्त निर्णयबाट सरकार पछिनहट्नेमा आफू विश्वस्त रहेको बताईन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएकी हुन् । लामाले भनिन्, ‘मैले देश र जनताको हित विपरित कुनैपनि त्यस्तो काम गरेको छैन, मैले आप्रवासी नेपाली महिलाहरुको हकहितको लागि काम गरेको छु, विगत ६ वर्षदेखि युएईमा काम गरिरहेको छु, त्यहाँका नेपालीहरुको पीडा मलाई जति कसैलाई पनि थाहा छैन्, उनीहरुको समस्या समाधान गर्नको लागि म जेलमा पुगेको छ, हरेक ठाउँमा पुगेको छु, हरेक नेपालीहरुले काम गर्ने कम्पनीदेखि घरमा पुगेको छु ।’ सरकारले मेरो योग्यता, क्षमता हेरेर मलाई जुन किसिमको जिम्मेवारी दिने निर्णय गरेको छ, यसले मलाई निकै खुशी तुल्याएको छ, यसको लागि पूर्ण रुपमा सक्षम र योग्य छु ।’
लामाले आफ्नो परिवारको रगत–रगतमा कांग्रेस रहेकोले जिकिर गर्दै भनिन्, ‘मेरा पुर्खाहरु पनि कांग्रेस नै हुन्, हजुरबुवादेखि बुवासम्म सबै कांग्रेस हुन्, मलाई जनमोर्चा भनियो, तर त्यतिखेर मलाई उम्मेद्वारी मात्रै बनाईएको हो ।
मैले पाँच नम्बर क्षेत्रमा कांग्रेसका उम्मेद्धवार नरहरी आचार्यलाई भोट हालेकी हुँ । साध्यबहादुर भण्डारीले मलाई उम्मेद्धवार बन्नुहोस्, सहयोग गर्नुहोस्, हामी राष्ट्रवादी हौँ भनेर भन्नुभयो, त्यसैले मैले उम्मेद्धवारी दिएकी हुँ, म त कांग्रेस नै हुँ ।’ उनले पार्टीले आफूलाई अन्याय नगर्नेमा आफू विश्वस्त रहेको बताईन् ।
लामाले आफू राजदूत बन्न पूर्ण रुपमा योग्य र सक्षम रहेको स्पष्ट पारिन् । उनले राजदूत नियुक्तिमा आफू जत्तिको सक्षम व्यक्ति नेपाली कांग्रेसभित्र नरहेको दाबी समेत गरेकी छन् । लामाले अगाडि भनिन्, ‘अहिले मेरो नाम राजदूतमा सिफारिश भए लगत्तै मेरो बारेमा गलत तरिकाले समाचारहरु आए, यी सबै मेरो चरित्र हत्या गर्नेगरि आएका हुन्, ती असत्य र भ्रामक समाचारहरुको म आज खण्डन गर्न चाहन्छु, आजसम्म मैले कसैलाई बिगारेको छैन ।’
उनले यो देशको लागि केही गर्ने भनेर ठूलो सपना देखेको व्यक्ति भएको बताउँदै भनिन्, ‘म अन्तिमसम्म पनि देश र जनताको लागि र विदेशमा रहेका नेपालीहरुको हकअधिकारको लागि लडिरहनेछु ।’ उनले पछिल्लो समय आफूले महिला हिंसा विरुद्धको अभियानको नेतृत्व गरिरहेको बताउँदै भनिन्, ‘नेपालमा मात्रै नभएर विदेशमा समेत मैले आवाज बुलन्द गरेको छु, नारीमाथि भएको अन्याय, अत्याचार र शोषणविरुद्ध आशा फाण्डेशन नेपाल संस्थाबाट लडिरहेकी छु ।’
उनले आफूले गरेको यस्तो राम्रो कामको बारेमा लेखिदिनुपर्ने बेलामा मिडियाले गलत रुपमा समाचार सम्प्रेषण गरेको गुनासो पोख्दै थपिन्, ‘मैले गरेका राम्रा कामहरुको बारेमा लेख्नुपर्ने बेलामा मिडियाले हचुवाको भरमा तथ्यहीन समाचारहरु मेरो बारेमा लेखेकोमा मलाई निकै दुःखित तुल्याएको छ, मलाई न्याय दिनुहोस्, मैले अन्याय गरेकै छैन ।’
उनले आफूले गलत काम गरेको प्रमाणित भए जस्तोसुकै कठघरामा उभिन पनि आफू तयार रहेको स्पष्ट पारिन् । उनले हात जोडेर भनिन्, ‘मलाई न्याय दिनुहोस्, गलत समाचार कहिल्यै पनि सम्प्रेषण नगर्नुहोस् ।’ उनले दुवईमा बसेर नेपाललाई चिनाउने ग्लोवल भिलेजको आयोजक पनि आफू रहेको दाबी गरिन् ।
बर्दिया फागुन १६ विद्यालय शिक्षाको मन्दिर अनि शिक्षकहरु त्यसका पुजारी । तर बर्दियाको राजापुरमा भने त्यस्तै पुजारीले राक्षसी व्यवहार देखाएका छन् ।
उनले आफैले पढाउने गरेकी ६ वर्षकी नाबालिकालाई विद्यालय मैदानमै बलात्कार गरेको तथ्य सार्वजनिक भएको छ ।
राजापुर नगरपालिकाको एक विद्यालय मैदानमा ललाईफकाई लगी ती ६ वर्षीया बालिकालाई बलात्कार ५४ वर्षीय शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई आरोपित शिक्षकले ललाई फकाई विद्यालयको मैदानमै बलात्कार गरेको बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिए ।
आरोपित शिक्षकमाथि जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
१६ फागुन - बैंक एवम् वित्तीय संस्थाले ऋण नदिएपछि यहाँ निकै फस्टाएको जग्गाको व्यवसाय प्रभावित हुन थालेको छ ।
घर जग्गा र अन्य कुनै पनि शीर्षकमा बैंकले सहजै ऋण दिएका छैनन् । कतिपयले महँगो ब्याजदरमा बैंक र सहकारीबाट ऋण लिएर आफ्नो गर्जो टारिरहेका छन् । साना टुक्रादेखि ठूला प्लटसम्म नपुग रकम बैंकको भरमा बैनाबट्टा गर्नेहरु अहिले समस्यामा परेका हुन् ।
गत महिनाको माघ १५ गतेदेखि जिल्लाका थप तीन स्थानमा मालपोत र नापी कार्यालय खुलेका कारण यकिन तथ्याङ्क आउन नसके पनि कारोबारमा कमी आएको मालपोत र नापी कार्यालयका कर्मचारी बताउँछन् ।
भरतपुर मालपोत कार्यालयका प्रमुख दिवाकर पौडेलले कार्यालय सरेको हुँदा वास्तविक तथ्याङ्क नआए पनि वित्तीय संस्थाबाट कारोबार गर्न नपाएपछि घर जग्गाको कारोबारमा कमी आएको बताउनुभयो । बिहान ९ देखि बेलुका ६ बजेसम्म भरिभराउ हुने मालपोत कार्यालयमा सेवाग्राही घटेका छन् । व्यवसायीका अनुसार एक देखि छ महिनासम्मको भाकामा घर जग्गाको कारोबार हुने हुँदा पहिले बैना गरिएका जग्गाको काम भइरहेको भए पनि आउँदो महिनाबाट यसको प्रत्यक्ष प्रभाव देखिने भएको छ ।
बैंकले पैसा दिँदैन जनतासँग पैसा छैन अनि कारोबार कसरी हुन्छ ? बैंकिङ क्षेत्रमा समेत लगानी गर्नुभएका पुराना जग्गा व्यवसायी वामदेव गौली गौलीले प्रश्न गर्नुभयो । उहाँको भनाइमा कारोबार निश्चित रुपमा घट्छ ।
जग्गा व्यवसायी दिनेशकुमार चुके बैंकको ऋण लगानीको असरले ठूला जग्गाको किनबेच हुन नसके पनि सानातिना जग्गाको कारोबार भइरहेको बताउनुभयो । व्यवसायी–व्यवसायीबीचमा हुने किनबेच रोकिने बताउँदै उहाँले सानातिना टुक्रा किन्ने व्यक्ति चितवन आउने बताउनुभयो ।
नारायणी जग्गा तथा आवास व्यवसायी सङ्घका जिल्ला अध्यक्ष बाबुराम अधिकारीले काठमाडौँमा झँै चितवनमा कारोबार नघटेपनि यसको असर देखिएकाले बैंक वित्तीय संस्थाकै भर पर्नेहरुको कारोबार बिग्रने बताउनुभयो ।
ब्याज तिर्नका लागि जग्गा सस्तोमा बेच्ने अवस्था क्रमशः आउने देखिएको छ । जग्गाको कारोबार बढ्दै जाँदा सर्वसाधारण जो कोहीले नगद हात पार्नासाथ जग्गामा लगानी गरेकाले बैंक वित्तीय संस्थाबाहेक व्यक्ति विशेषसँग पैसा नभएको बैंङ्कर्स विजय भुसालको भनाई छ ।
मालपोत कार्यालयको पुस महिनासम्ममा कुल रु ७० करोड ३५ लाख ५५ हजार ७३३ राजस्व असुली भएको थियो । चितवन जग्गाको कारोबारमा अग्रणी जिल्ला मानिन्छ । देशको मध्यभागमा रहेकाले विभिन्न क्षेत्रबाट बसाइँ सराइ र मूल्य बढ्ने भएकाले जग्गा किन्न धेरैले रुचाएका थिए । रासस
१६ फागुन, काठमाडौं - आगामी स्थानीय तह निर्वाचनमा नेपाली सेनाले नै अन्तिम घेरामा बसेर सुरक्षा दिने जिम्मेवारी पाउने भएको छ ।
रक्षा मन्त्रालय उच्च स्रोतका अनुसार २०७० मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा जस्तै सुरक्षाको तीन घेरामध्ये अन्तिम बाहिर घेराको जिम्मा नेपाली सेनालाई दिने बार छलफल अगाडि बढाएको हो । निर्वाचन आयोगको प्रस्तावमा तीनवटै सुरक्षा निकायका प्रतिनिधिहरुले त्यसबारे गृहकार्य गरिरहेको रक्षा मन्त्रालय स्रोतले जनाएको छ ।
एकै चरणमा निर्वाचन सम्पन्न गर्नुपर्ने र उच्च सुरक्षा व्यवस्था मार्फत चुनावलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन नेपाली सेनाको समेत सहयोग लिन लागिएको हो ।
अहिलेसम्मको गृहकार्य अनुसार नेपाली सेनालाई मतदान केन्द्रसम्म र मतदाताको प्रत्यक्ष सम्पर्कमा जान नदिइने गरि सुरक्षा रणनीति प्रस्ताव गरिएको छ । उत्त स्रोतका अनुसार मतदान केन्द्रको करिब साँढे दुइ किलोमिटरको दुरीबाटै सेनाले सुरक्षा दिनेछ ।
मतदान केन्द्र बाहिर दोस्रो घेराको सुरक्ष सशस्त्र प्रहरी र मतदान केन्द्रको मुख्य सुरक्षा नेपाल प्रहरीले गर्नेछ ।
यस्तै निर्वाचन सम्पन्न भएपछि मतपेटिका ओसार पसारको जिम्मा भने नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा लिनेछ । दुवै प्रहरीले सुरक्षा दिन नसकेको अवस्थामा भने तेस्रो घेरामा रहेको नेपाली सेनाले सुरक्षा दिनेछ ।
यस्तै मतदान केन्द्रमा झडप, हुलदंगा वा ‘बुथ क्याप्चर’ को प्रयास भएमा नेपाली सेना स्थिति नियन्त्रणमा नआउँदासम्म मतदान केन्द्रमा परिचालन हुन सक्नेछ । र, पुन मतदान प्रक्रिया शुरु भएमा सेना पछि हट्नेछ ।
तर, त्यसरी असामान्य अवस्थामा सेना मतदान केन्द्रसम्म जान भने प्रमुख जिल्ला अधिकारी वा निर्वाचन आयोगको अनुमति चाहिनेछ ।
अधिकाश प्राप्त अधिकारीको निर्देशनविना सेनाले गस्ती बाहेक कुनै कारबाही गर्न नसक्ने प्रारम्भिक प्रस्ताव छ ।
यसैगरी निर्वाचन आयोगले अत्यावश्यक सामाग्री ढुवानी, मतपत्र सुरक्षाको सबै जिम्मेवारी भने नेपाली सेनालाई नै दिने इच्छा देखाएको छ । निर्वाचनको पूर्ण सुरक्षाका लागि आयोगले त्यस्तो इच्छा देखाएको हो ।
अहिले गृह मन्त्रालयको नेतृत्वमा निर्वाचन सुरक्षा घेराबारे गृहकार्य भइरहेको गृह मन्त्रालयले जनाएको छ । सबै विषय प्रारम्भिक छलफलको चरणमा नरहेकाले कस्तो सुरक्षा घेरा बन्न भन्नेबारे बोल्न नसकिने मन्त्रालयका एक सहसचिवले बताए ।
काठमाडौं,१६ फागुन - सर्वोच्च अदालतले योग्यता नपुगेको सुजुकी ड्राइभिङ स्कुल प्रालिलाई ट्रायल सेन्टर सञ्चालन गर्न नदिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको खबर आजको कान्तिपुरमा छ ।
सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम २० को अनुसूची ३ विपरीत यातायात व्यवस्था विभाग र प्रालिबीच भएको सम्झौताले सवारी चालक अनुमति पत्र लिन चाहने सोवाग्राहीलाई थप आर्थिक भार पर्ने भएकाले तत्कालका लागि ट्रायल सेन्टर सञ्चालन नगर्न न्यायाधिश इश्वरप्रसाद खतिवडाको एकल इजलासले आदेश दिएको हो ।
अमेरिकी डीभी परेर नेपाल प्रहरीमा जागिर खाइरहेका एसपी प्रमोद खरेलले राजीनामा दिएका छन्। उनको डीभीसम्बन्धी समाचार सार्वजनिक भएपछि खरेलले दिएका हुन्। यद्यपी उनको राजीनामा स्वीकृत भएको छैन।
यो खबर हामीले आजको नेपाल समाचार पत्रबाट लिएका हौ।
कुनै पनि सरकारी ओहदामा रहेका कर्मचारीले विदेशी पीआर तथा नागरिकता लिन नपाउने नियम बनाएको भ पनि त्यसको खिल्ली उडाएर एक वर्षअघि एसपी खरेलले अमेरिकी डीभी भरेका थिए।
अमेरिकी डीभी परेका प्रहरी उपरीक्षक (एसपी) प्रमोद खरेल अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेका छन्। आगामी फागुन ११ गते अमेरिका उड्ने गरी टिकट बुकिङसमेत उनले गराइसकेका छन्।
माघ २७ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले झुटो विवरण पेश गरी अनुदान रकम लिने वा लिन प्रयास गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
बस्न योग्य घर भएका वा अन्यत्र घर भएकाहरुले पनि झुटो विवरण पेश गरी लाभग्राही सूचीमा आफ्नो नाम पारेको भन्ने गुनासो आएकोमा ध्यानाकर्षण भएको भन्दै प्राधिकरणले सार्वजनिक सूचना प्रकाशन गरी कारबाहीको चेतावनी दिएको हो ।
प्राधिकरणले लाभग्राहीको सूचीमा नाम पारी अनुदान सम्झौता गरेका गैर पीडितहरुले अनुदान प्राप्त गरेको भए रकम फिर्ता गर्न र रकम लिन प्रयास गर्नेहरुले सम्बन्धित जिल्ला समन्वय समितिको सचिवालयमा सम्पर्क गरी १५ दिनभित्र लाभग्राही सूचीबाट आफ्नो नाम हटाउन भनेको छ ।
तोकिएको समयभित्र रकम फिर्ता नगर्ने या नाम नहटाउनेलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने प्राधिकरणको चेतावनी छ । यस्तै पहिलो किस्ता अनुदान लिएर पनि घर नबनाउने भूकम्पपीडितलाई सरकारले कारबाही गर्ने तयारी गरेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको ४२ औं बैठकले पहिलो किस्ताको ५० हजार रुपैयाँ लिएर घर नबनाउनेहरुलाई दण्ड दिनुपर्ने निष्कर्ष निकालेको हो ।
‘झुठो विवरण दिएर पहिलो किस्ता लिने र पहिलो किस्ता लिएर घर नबनाउने प्रवृत्ति देखिएकाले दण्डात्मक व्यवस्था गर्न लागेका हौं’, प्राधिकरणका सह–प्रवक्ता भीष्मकुमार भूसालले भने, ‘सुरुमासूचना निकालेर सचेत गराउँछौं ।
पछि कानुनअनुसार रकम फिर्ता गर्नेदेखि कालोसूचीमा राख्नेसम्मको कारबाही हुन्छ ।’ कालोसूचीमा परेकाले सरकारले उपलब्ध गराउने नागरिकता, पासपोर्ट लगायतका कागजात नपाउनुका साथै अन्य नागरिक अधिकारबाट बञ्चित हुने र बैंकको समेत कालोसूचीमा पर्ने उनले बताए । प्राधिकरणले गत फागुन ३० गतेबाट भूकम्पपीडितलाई पहिलो किस्ताको ५० हजार रुपैयाँ दिन थालेको हो।
१६ फागुन, काठमाडौं । पूर्व वैदेशिक रोजगार व्यवसायी एवम् युएईका लागि प्रस्तावित राजदूत आशा लामाले राजदूत नियुक्तिमा आफू जत्तिको सक्षम व्यक्ति कोही पनि नरहेको दाबी गरेकी छन् ।
रिपोर्टर्स क्लव नेपालमा सोमबार पत्रकार सम्मेलन गरेर लामाले भनिन्, ‘म नेपाली कांग्रेसको कार्यकर्ता हुँ । राजदूतका लागि म जत्तिको उपयुक्त व्यक्ति कोही पनि छैन ।’
पत्रकार सम्मेलनमा पटक-पटक ‘म जस्तो सक्षम व्यक्ति कांग्रेसमा राजदूत बन्न कोही पनि छैन,’ भनेकी लामाले परराष्ट्र मन्त्रालयमा राजदूत नियुक्तिका लागि आफूले आवेदन दिएको दाबी गरिन् ।
उनले भनिन्, ‘पत्रपत्रिकामा राजदूत नियुक्तिको समाचार पढेको थिएँ । त्यसपछि पराष्ट्र मन्त्रालयमा गएर निवेदन दिएँ । त्यसपछि मेरो योग्यता र सक्षमता देखेर सरकारले राजदूतमा सिफारिसमा गरेको हो ।’
राजदूत नियुक्तिसहितका राजनीतिक नियुक्ति पार्टीका सिफारिसमा हुने प्रावधान छ ।
तर, परराष्ट्र मन्त्रालयमा निवेदन दिनुपर्ने व्यवस्था छैन ।
कांग्रेस सभापति शेरबहादुर देउवासँग जिपछिरिङ लामाको माध्यमबाट कनेक्सन भएको बताएकी लामाले भनिन्, ‘जिपछिरिङ लामा मेरो पारिवारिक मान्छे हो । उहाँमार्फत शेरबहादुर देउवा समक्ष पुगेको हुँ । उहाँले पनि मेरो काविलियतमा प्रशंसा गर्नुभयो ।’
१६ फागुन, रामेछाप - सोमबार विहान गएको भूकम्पका क्रममा भाग्दा रामेछापको गेलु गाविसमा एक जनाको मृत्यु भएको छ ।
सोमबार बिहान ९ बजेर २२ मिनेट जाँदा आएको भूकम्पमा भाग्ने क्रममा आँगनको पर्खालबाट चिप्लिएर गेलु गाविस ६ काउले पुरानागाउँका ६० वर्षीय ज्ञानकुमार तामाङको मृत्यु भएको स्थानीय श्यामलाल तामाङले जानकारी दिए । तामाङ केहि समयदेखि विरामी परेर थलिएका थिए ।
भूकम्प आएपछि अत्तालिएर भाग्ने क्रममा बण्डाको थाममा ठोक्किएका उनी पर्खालबाट चिप्लिन पुगेका थिए । उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।
सोमबार बिहान रामेछापको सुनारपानी केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको पराकम्प गएको थियो ।
त्यसको ४५ मिनेटपछि बिहान १० बजेर ६ मिनेट जाँदा रामेछापलाई नै केन्द्रबिन्दु बनाएर ४.७ रेक्टरको पराकम्प गएको नेपाल भूकम्प मापन केन्द्रले जनाएको छ ।
सोमबारको पहिलो भूकम्पमा परी साहिल कटुवाल नामका बालक मन्थलीमा घाइते भए । उनलाई सदरमुकाम मन्थलीमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।
बुटवल: सानो कक्षा कोठा । दायाँतर्फ खाट । कक्षाका बेन्च अगाडि राखिएको खाटमा एउटी छात्रा खुट्टाले कलम समातेर कापीमा लेख्दै छिन् ।
शिक्षकले विद्यार्थीलाई पढाइरहँदा उनी सरसर्ती कापीमा खुट्टाले लेख्न थाल्छिन् । कपिलवस्तु गजेहडा धनकौलीकी दुई हात नभएकी रूपा रौतारले लेख्ने मात्रै होइन, सबै काम खुट्टाले नै गर्छिन् ।
गरिब परिवारमा जन्मिएकी उनलाई धेरै पढ्ने इच्छा छ । बुटवलको दीप बोर्डिङ स्कुल बुटवलमा कक्षा ६ मा पढ्दै गरेकी रूपा भन्छिन्, ‘धेरै पढेर समाजमा चिनिन मन छ ।’ करेन्ट लागेर पाँच वर्षको उमेरमै दुवै हात गुमाएकी रूपाले सुरुमा मुखले लेख्ने अभ्यास गरेकी थिइन् ।
अलि कठिन भयो । आमा इन्द्रकलाले खुट्टाले लेख्न सुझाएपछि उनले त्यसै गरिन् । ‘सुरुमा मुखले लेख्ने प्रयास गरेकी थिई, पछि मैले खुट्टाले लेख्न भनेपछि बानी पर्यो,’ आमा इन्द्रकलाले भनिन् ।
दुवै हात नभए पनि उनी दिनहुँ विद्यालय जान्छिन् । गृहकार्य गर्छिन् । रूपाले दैनिक गृहकार्य गर्नेदेखि विद्यालयमा बसेर कापी–किताब खोल्ने, खाना खाने, कपाल कोर्ने, नुहाउनेसम्मको काम खुट्टाकै सहारामा गर्छिन् । लेख्ने मात्रै होइन, उनी सुन्दर तस्बिर कोर्छिन् । ल्यापटप चलाउँछिन् ।
मोबाइलमा नम्बर डायल गरेर फोन गर्छिन् । पानीको बोतल खोलेर खान सक्छिन् ।
खुट्टाले साहित्य लेखेर झमककुमारी चर्चित भएको उनलाई थाहा छ । रूपाले लेखेका अक्षर सग्ला हातले लेखेभन्दा कम छैनन् । आमा इन्द्रकला भन्छिन्, ‘भर्खर कलम समाउन सिक्दै गरेकी मेरी छोरीले दुवै हात गुमाउनुपर्यो ।’ करेन्ट लागे पनि हात नै काट्नुपर्ला भन्ने सोचेकी थिइनँ । तर, कान्ति बाल अस्पतालमा आफूहरूलाई थाहै नदिई रूपाको दुवै हात काटिदिएको इन्द्रकलाले सुनाइन् ।
आमा इन्द्रकला र बुबा विष्णु रौतारले आर्थिक अवस्था कमजोर भए पनि पढाउनुपर्छ भनेर छोरीलाई विद्यालयमा भर्ना गरे । रूपालाई गजेहडाको बालज्योति बोर्डिङमा अक्षर चिन्दै गर्दा करेन्ट लागेको थियो।
रूपाले लेख्ने मात्रै होइन, सुन्दर तस्बिर कोर्छिन् । ल्यापटप चलाउँछिन् । मोबाइलमा नम्बर डायल गरेर फोन गर्छिन् । पानीको बोतल खोलेर खान पनि सक्छिन् ।
करिब दुई वर्ष उपचारमै समय बित्यो । दुवै हात गुमेको भन्दै बालज्योतिले भर्ना लिन मानेन ।
त्यसपछि कपिलवस्तुको होराइजन स्कुलमा रूपाले यू केजीसम्म अध्ययन गरिन् । होराइजनमा पढ्दै गर्दा विष्णु प्रधानसँग भेट भएपछि रूपालाई बुटवलमा ल्याइएको थियो । दीप बोर्डिङ सञ्चालक समिति सदस्यसमेत रहेकी प्रधानले दीपमा निःशुल्क पढाउने वातावरण मिलाएपछि रूपाको पढाइ कक्षा एकदेखि दीपमै चलिरहेको छ । दीप बोर्डिङले भर्ना शुल्क, मासिक र परीक्षा शुल्क लिँदैन । रूपा बस्ने छुट्टै फराकिलो पलङ राखिएको छ । उनी एक्लै त्यहीँ बसेर किताब–कापी निकाल्ने र पढ्ने गर्छिन् । दीप बोर्डिङका प्राचार्य टीकाराम न्यौपानेले रूपालाई कक्षा १२ सम्मै निःशुल्क पढाउने बताए ।
रूपाको क्षमता कमै विद्यार्थीमा हुने भन्दै उनलाई सबैको साथ–सहयोगको खाँचो रहेको न्यौपानेको भनाइ छ ।
रूपाको परिवार बुटवल देवीनगरमा भाडामा बस्दै आएका छन् । बुबा विष्णु रौतार साउदीमा रोजगारीमा छन् । उनका दाइ मनोज कक्षा १२ मा पढ्दै छन् । ‘दुवै हात छैन, उसले पढी भने कम्तीमा बाँच्न सजिलो हुन्छ भनेर बुटवलमा भाडामा बसेका हौं’, इन्द्रकलाले भनिन् । छोरीका लागि कापी–किताब र ड्रेस किन्नसमेत गाह्रो हुने उनले बताइन् । छोरीको उपचारका बेला लागेको ऋण तिर्नकै लागि श्रीमान् विदेश गएको उनको भनाइ छ ।
२०५७ सालमा रूपाको जन्म भएको हो ।
उनी पढाइमा मध्यमस्तरकी विद्यार्थी हुन् । स्वाभाविक रूपमा हातले लेख्नेहरूको भन्दा उनलाई खुट्टाले हरेक काम गर्दा अप्ठ्यारो र असजिलो हुने नै भयो । तर, रूपामा गायन प्रतिभा छ । उनी हालै बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको विद्यालयस्तरीय गायन प्रतियोगितामा प्रथम भएकी थिइन् । विद्यालयमा हुने विभिन्न प्रतियोगितामा उनी उत्कृष्ट बनेकी छन् । उनका ६ वटा गीत ‘रेकर्ड’ भइसकेको छ । तर आर्थिक अभावका कारण उनमा रहेको प्रतिभालाई अझ स्थान दिन नसकेको आमा इन्द्रकला बताउँछिन् ।
रूपाको गायन प्रतिभालाई वागीश्वरी संगीतालय बुटवलले ६ वर्षदेखि निःशुल्क संगीत शिक्षा दिइरहेको छ । रूपासँग गायन प्रतिभा रहेकाले उनलाई स्थान दिनुपर्ने वागीश्वरीका प्रिन्सिपल सुरेश सेन्चुरीले बताए । रूपाले पनि पढाइसँगै गायनलाई अगाडि बढाउन चाहेकी छन् ।





















