एमाले वरिष्ठ नेता माधव कुमार नेपालले जिल्ला प्रहरी कार्यालयभन्दा पूर्वपट्टि रहेको ब्यारेक मैदानमा विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत गरिरहेका थिए ।
कार्यक्रम स्थलबाट झण्डै चार सय मिटर पश्चीममा रहेको बिपि चोकमा भने प्रहरी र प्रदर्शनकारी एक आपसमा भिडदै थिए । गौरका स्थानीय व्यापारी तथा समाजसेवी शम्भू साह सहितका व्यक्तिलाई नेता नेपालले पार्टी प्रवेश गराएका छन् । कार्यक्रम सुरक्षाका लागी ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको थियो ।
एमालेलाई मधेश विरोधी पार्टी भन्दै विरोधमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मी बिच ढुङ्गा हानाहान हुँदा झण्डै तिन घण्टासम्म त्यस क्षेत्र तनावग्रस्त बनको थियो । प्रर्दशनलाई नियन्त्रणमा लिन प्रहरीले एक सेल अश्रुग्यास प्रहार गरेको थियो ।
प्रर्दशनकारीले हानेको ढुङ्गा लागेर प्रहरी जवान राम विनय यादव घाइते भएका छन् भने प्रहरीको लाठीबाट पत्रकार प्रभात झा सहित स्थानिय नन्दकिशोर पटेल घाइते भएका छन् ।
प्रदर्शनकारीहरुले गौर ८ वाल्मीकिनगरमा एमाले कार्यकर्ताले प्रयोग गरेको बिआर ०६ पी ५४६१ भारतीय नम्बरको जीपमा आगो लगाएका छन भने अर्को एक जिपको सिसा फुटाएका छन् ।
यसैबीच झडपका क्रममा रिपोर्टिङ्गमा रहेका अग्रेंजी दैनिक द हिमालयनका पत्रकार प्रभात कुमार झा लाई सशस्त्र प्रहरीका जवानले कुटेको भन्दै नेपाल पत्रकार महासंघ रौतहट शाखा लगायत अन्य पत्रकार समूह र संगठनले छुट्टाछुट्टै विज्ञप्ती जारी गरेर विरोध गरेका छन् ।
रिपोर्टिङ्गमा रहेका पत्रकार माथि अनावश्यक रुपले सशस्त्र प्रहरीले बल प्रयोग गरेको भन्दै पत्रकारहरुले घटनाको निन्दा गरेका छन भने दोषी माथि कारवाहीको माग समेत गरेका छन् ।
ललितपुर, फागुन १६ - नयाँ शक्ति नेपाल पार्टीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको शासकीय स्वरुप हुनुपर्ने भन्दै सरकारलाई दबाब दिन ७५ हजार हस्ताक्षर संकलन गराएको छ ।
उक्त हस्ताक्षर फागुन २७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई बुझाइने नयाँ शक्ति नेपाल ललितपुरका संयोजक रोशन पोखरेलले जानकारी दिए ।
जिल्लामा माघ २ गतेदेखि शुरु भएको उक्त हस्ताक्षर अभियानको आज एक कार्यक्रमबीच लगनखेलमा समापन गरिएको छ ।
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पुर्ण समानुपातिक व्यवस्थापिका संसदको लागि दबाब दिन हस्ताक्षर अभियानमार्फद जनताको मत बुझ्ने काम भएको संयोजक पोखरेलले जानकारी दिए ।
एक महिना १४ दिनसम्म चलेको अभियान जिल्लाको सबै गाउँपालिका र नगर तथा उपमहानगरपालिकाको सबै वडाहरुमा गरिएको पोखरेलले बताए ।
उनले भने–‘आजसम्म ७५ हजार भन्दा बढी हस्ताक्षर सङ्कलन भैसकेको छ, फाल्गुन २७गते र्याली सहित गएर संकलन भएको उक्त हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेका छौं ।’
जिल्लाका दुर्गम गाउँदेखि शहरसम्मका जनता, सबै पार्टीका नेता, कार्यकर्ता सबैले आफ्नो पार्टीले उठाएको मागमा समर्थन जनाएको उनले दाबी गरे । विशेष गरेर युवाहरुले हाम्रो माग मन पराए ।
१६ फागुन, काठमाडौं - नेकपा एमालेले फागुन २१ देखि झापाको काँकडभिट्टाबाट शुरु गर्न लागेको दुई साता लामो मेची-महाकाली अभियानमा जाने स्वयंसेवकहरुका लागि ९ बुँदे आचारसंहिता जारी गरेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा सोमबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वयम् सेवकहरुलाई प्रशिक्षण दिए । साथै दुई साता पूर्णकालीन रुपमा सहभागी हुने स्वयंसेवकहरुलाई आचारसंहिता कडाईका साथ पालना गर्न पनि निर्देशन दिए ।
मेची-महाकाली अभियान सचिवालयले तयार पारेको आचारसंहितामा स्वयंसेवकहरुले सेल्फी खिच्ने कुरामा कडाई गरिएको छ ।
आचार संहिताको ८ औं बुँदामा भनिएको छ, ‘स्वयंसेवकहरुले सेल्फी खिच्ने, घुमफिर गर्ने, साथीभाइ आफन्तसँगको भेटघाटमा अनावश्यक समय खर्च नहोस् भन्नेमा ध्यान दिने ।’
स्वयंसेवकले अभियानको अवधिभर मध्यपान र धुम्रपानको प्रयोग गर्न पूर्णतः निषेध गरिएको छ । यो अभियानमा केन्द्रबाट एक सय जना स्वयंसेवक जानेछन् ।
बाँकी स्वयंसेवक तराई मधेसका जिल्लाबाटै थपिने एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले बताए ।
स्वयंसेवकहरुको केन्द्रीय कमाण्डर पार्टी सचिव योगेश भट्टराई तोकिएका छन् । सोमबार स्वयंसेवकहरुलाई बिशेष प्रशिक्षण दिइएको र उनीहरु अभियानभरी पार्टी नेताहरुसँगै रहने प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिए ।
स्वयंसेवकलाई पार्टीको तर्फबाट रातो रंगको हाफ ज्याकेट र निलो टोपी र टिसर्टको व्यवस्था गरिएको छ । यो अभियानभर पार्टीका अध्यक्षसहित शीर्ष नेताहरु तराई मधेसमा जनताकै घरमा बस्ने एमालेले जनाएको छ ।
मधेसका जिल्लामा एमालेको शाख बढाउन अभियान केन्द्रित गरिने भएको छ । अभियानको पूर्वसन्ध्यामा रौतहटमा मधेसी मोर्चाका कार्यकर्ताले एमाले वरिष्ठ नेता माधव नेपालको कार्यक्रममा अवरोध प्रयास गरेका थिए । एमालेले यस्तो अवरोध भएमा ठाउँको ठाउँ प्रतिरोध गर्ने चेतावनी दिएको छ ।
एमालेको यो अभियान मधेसका भित्री शहरमा केन्द्रित हुनेछ, जहाँ संविधान जारी भएदेखि एमालेले सार्वजनिक कार्यक्रम गरेको छैन ।
राजविराज, लाहान, महोत्तरी, गरुढा जस्ता शहरमा अभियान लिएर एमाले जान लागेको छ ।
मोर्चा कार्यकर्ताले भने एमालेलाई मधेस प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन् ।
सरकारले स्थानीय निकायको चुनाव मिति घोषण गरे सँगै ने क पा एमाले ले यो घोषणलाई स्वागत गरेको छ।
आफ्नै मतले प्रतिनिधि चुन्न पाउने यो चुनावको मिति घोषण गरेपछी जनतामा खुशी छाएको छ । जनतामाझ घुलमिल तथा जनता , देश र रास्ट्र प्रती सचेत रहेको पार्टी ने क पा एमाले यति बेला चर्चाको सिखरमा छ ! धेरै जसो जनताहरु " आफैले प्रतिनिधि चुन्न पाउनी भयौ , अब सुर्यमा छाप , काङ्ग्रेस हाफ , माओबादी पत्ताछाप " लगाएतका आफ्ना बिचार राख्दै विभिन्न गाउँ ठाउँ एमालेमय बनाएका छ्न ।
अब पालो एमालेको , रास्ट्रलाई माया गर्ने पर्टिको ! स्थानीय निकाय बाटै एमालेलाई बिजय बनाउन नेपाली रास्ट्रप्रेमी जनता लागीपरेका छ्न ।
काठमाडौं - स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको विषयमा विद्यार्थी संगठनबीच विवाद हुँदा रत्नराज्य (आरआर) क्याम्पसमा झडप भएको छ।
एमाले निकट अनेरास्ववियु र कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ता र नेताबीच विवाद हुँदा झडप भएको हो। क्याम्पस प्रमुखसँग भएको सम्झौता विपरित अनेरास्ववियुले उम्मेदवारी दर्ता गराएको भन्दै नेविसंघले असन्तुष्टि जनाएपछि अनेरास्ववियुका नेताले नेविसंघका कार्यकर्तामाथि हातपात गरेका हुन् । कसरी झडप भयो भन्ने अन्नपूर्णको प्रश्नमा नेविसंघका एक नेताले भने, ‘अनेरास्ववियुका नेता नेत्र मैनालीले अन्य क्याम्पसबाट बाइकमा युवा बोलाएर हाम्रा भाइहरुमाथि निर्घात कुटपिट गर्न निर्देशन दिएका हुन् । गुण्डा शैलीमा हाम्रा भाइहरुमाथि कुटपिट भएको छ ।’
अनेरास्ववियुको कुटपिटबाट नेविसंघका महेश गौतम, सुनिल शर्मा, ऋषिकेश पोखरेल, सुरेश सुवेदीलगायत घाइते भएका छन् । पुतलिसडकस्थित क्यापिटल अस्पतालमा उपचारपछि तीनजना घर फर्किएका छन् भने सुरेशलाई थप उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल बबरमहलमा लगिएको छ। शनिबार बिहान अनेरास्ववियुले निर्वाचन कार्यालयमा गएर उम्मेदवारी दर्ता गरेपछि नेविसंघ र विप्लव निकट क्रान्तिकारी माओवादीका नेताले आरआर क्याम्पसको निर्वाचन आयोगमा ताला लगाएका थिए ।
नेविसंघले ब्याचलर तेस्रो वर्षको परीक्षा दिएर बसेका विद्यार्थीले समेत चुनावमा मतदान गर्न पाउनुपर्ने मागअघि सारेपछि अनेरास्ववियु र नेविसंघबीच विवाद चुलिएको हो। यता अनेरास्ववियुले भने आफ्नो संगठनले उम्मेदवारी दर्ता गरेकोप्रति विरोध जनाउदै नेविसंघका नेता र कार्यकर्ता आरआर क्याम्पसमा पुगेपछि झडप भएको दाबी गरेको छ ।
दुई पक्षबीच ढुंगामुढा हुँदा क्याम्पस तोडफोड भएको आरआर स्ववियु सभापति राजकुमार राईले अन्नपूर्णलाई जानकारी दिए । नेविसंघले भने राईले नै नेविसंघका कार्यकर्तामाथि हातपात गरेपछि झडपको स्थिति सिर्जना भएको बताएका छन् । अपडेट
काठमाडौं,१४ फागुन - संसदमा विचाराधीन संविधान संशोधन विधेयकमा प्रमुख प्रतिपक्षी दलको बदलिँदो व्यवहार फेरि वाम गठबन्धनको सरकार निर्माणको पूर्वअभ्यासको संकेतका रूपमा आएको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको निवास बालकोटमा मंगलबार राति १ बजेसम्म र प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति ११ बजेसम्म माओवादी केन्द्र र एमालेका शीर्ष नेताहरूबीच भएको मन्थनपछि संशोधन विधेयकमा एमालेले अवरोध खडा नगर्ने, आगामी दिनमा हुने महत्वपूर्ण नियुक्ति तथा मनोनयनमा कांग्रेसको हस्तक्षेपलाई माओवादी केन्द्रले स्वीकार नगर्ने र परिआए कांग्रेससँग सम्बन्धविच्छेदसम्म गर्ने रणनीति बनेको जानकारी एक उच्च स्रोतले अन्नपूर्णलाई दिएको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
दाहालले संशोधन विधेयक पारित गरेरै जाऊँ भन्दै बैठकमा ओलीसँग पटकपटक आग्रह गरेका थिए । ओलीले संशोधन विधेयक मतदानमा गए आफूहरूले विपक्षमा मतदान गर्ने बताउँदै आएका छन् । संशोधन कुनै पनि हालतमा पारित हुन नदिने अडानविपरीत एमालेले बिहीबारको संसद्मा फरक व्यवहार प्रस्तुत गरेको थियो । एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफलमा सहभागी हुँदै मौन विरोधको संज्ञासहित आफ्नो मन्तव्य राखेका थिए ।
ओली निवासमा मंगलबार राति र प्रधानमन्त्री निवासमा बुधबार राति भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एमाले अध्यक्ष केपी शर्मा ओली, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र संसदीय दलका उपनेता नेम्बाङ सहभागी थिए ।
काठमाडौं, फागुन १३ - आगामी स्थानीय चुनावका लागि मतपत्र छाप्ने जिम्मा जनक शिक्षा सामाग्री केन्द्रलाई दिइएको छ ।
शुक्रबार निर्वाचन आयोगका पदाधिकारीहरुले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको भ्रमण गरी त्यसपश्चात मतपत्र छाप्ने जिम्मा दिइएको हो । जनक शिक्षा पनि मतपत्र छाप्न सकारात्मक देखिएपछि आयोगको टोली मेशिनको अवलोकन र लिखित प्रतिवद्धता लिन शुक्रबार भक्तपुरस्थित कार्यालयमा गई अवलोकन गरेको थियो ।
मतपत्र छाप्न आवश्यक पर्ने करिब सबै कागज समेत जनक शिक्षामा रहेको र मतपत्र छाप्नका लागि मेसिनको पनि अवलोकन गरी छपाइको काम जनक शिक्षालाई दिइएको सचिव गोपी मैनालीले जानकारी दिएका छन् । केन्द्रले पनि आगामी चुनावभन्दा अगावै मतपत्र छापेर दिने प्रतिवद्धता जनाएको छ ।
जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले २०३६ सालमा भएको जनमत संग्रहदेखि निर्वाचनको मतपत्र छपाइ गर्दै आएको छ ।
१३ फागुन, काठमाडौं - स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि कुन क्याम्पसमा कति मतदाता छन् भन्ने विवरण आजको नयाँपत्रिका दैनिकले प्रकाशित गरेको छ ।
हालसम्म नामावली प्रकाशित भएका राजधानीका क्याम्पसमध्ये शंकरदेवमा सबैभन्दा धेरै मतदाता रहेको देखाइएको छ । शंकरदेवमा कुल ८ हजार २ सय ७ जनाको अन्तिम नामावली प्रकाशित भएको समाचारमा उल्लेख छ ।
नामावली प्रकाशित भएका राजधानीका क्याम्पसमध्ये ललितकलामा सबैभन्दा थोरै अर्थात् १४५ जनामात्रै मतदाता छन् । तालाबन्दी र विवादका कारण त्रिचन्द्र क्याम्पस र मीनभवनस्थित नेपाल कमर्श क्याम्पसको मतदाता नामावली प्रकाशन हुन सकेको छैन ।
त्यसैगरी अमृत साइन्स क्याम्पसले पनि मतदाता नामावली प्रकाशित नगरेको नयाँपत्रिकामा खबर छ । उता पशुपति क्याम्पसमा भने ११ र १२ कक्षा पढ्ने विद्यार्थीलाई पनि मतदाता सूचीमा राखिनुपर्ने नयाँ माग गर्दै असन्तुष्ट विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । तर, त्यहाँ नामावली भने प्रकाशित भइसकेको छ ।
नयाँ पत्रिकाले राजधानीका मुख्य क्याम्पसहरुको मतदाता संख्या यस्तो उल्लेख गरेको छः
त्रिवि केन्द्रीय क्याम्पस- ३६९९
महेन्द्ररत्न क्याम्पस-२०९५
पुल्चोक इञ्जिनियरिङ-२०८३
पाटन संयुक्त क्याम्पस-४७५८
थापाथली इञ्जिनियरिङ-१०९५
विश्वभाषा क्याम्पस-१८००
रत्नराज्य क्याम्पस-३५८१
शंकरदेव क्याम्पस-८२०७
पद्मकन्या क्याम्पस-३४३४
सरस्वती क्याम्पस-५३०
नेपाल ल क्याम्पस- ४४००
नर्सिङ क्याम्पस- २८१
त्रिवि चिकित्सा क्याम्पस-२०३५
ललितकला क्याम्पस-१४५
भक्तपुर बहुमुखी क्याम्पस- १६५६
सानोठिमी शिक्षा क्याम्पस- १६४७
पब्लिक युथ क्याम्पस-२८९५
पशुपति क्याम्पस ४१७३
११ फागुन, काठमाडौं - निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । जस अनुसार वैशाख १६ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
सरकारले वैशाख ३१ मा चुनाव गर्ने घोषणा गरेको दुई दिनपछि नै आयोगले तालिका सार्वजनिक गरेको छ । जस अनुसार वैशाख १६ गते विहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । मुख्य/निर्वाचन अधिकृतको कार्यलय, गाउँपालिका/नगरपालिका केन्द्रमा उम्मोदरी दर्ता गर्नु पर्नेछ ।
१७ गते दाबी विरोध र मनोनयन पत्र जाँच गर्ने, १८ गते उम्मेदवारी फिर्ता दिने र १९ गते अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १९ गते नै उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिनेछ । ३१ गते विहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ ।
काठमाडौ ११ फागुन - एकाबिहानै शेरबहादुर देउवाको घरमा म्यानपावरवालीको लफडा चल्यो। सोमबार दिउँसोको दोस्रो क्याबिनेट बैठकले चौध देशका लागि राजदूत सिफारिस गर्ने क्रममा पार्टी कोटामा परेकी म्यानपावर व्यावसायी आशा लामाको विषयलाई लिएर कांग्रेससम्बद्ध लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष प्रज्ञान न्यौपानेहरु हिजो बिहान देउवासंग पड्किएका हुन।
पेशागत आधिकारिक संघका वहालवाला अध्यक्ष विमल ढकाल पनि संगै थिए । प्रज्ञानको भनाइ थियो, ‘यो पार्टीको मान्छे नै होइन । कसरी कोटाबाट नियुक्ति भयो ? यदि यस्तै हो भने हामी पार्टी छाड्छौ ।’ देउवाले जवाफ दिए, ‘बढी बोल्छौ ? तिमीले छोडे अरु आउँछन् । मास बेस्ड पार्टीमा मान्छेहरु आउने(जाने भइरहन्छ।’ त्यहाँ पुग्ने व्यवसायीमा तिलक रानाभाट, विष्णु गैरे, ज्ञानु गैरे, कुमुद खनाल, थिरमणि पौडेल, ऋषि शर्मा, नरेन्द्र ढकाल र वैदेशिक रोजगार प्रबर्द्धन बोर्डकी सदस्य सीता देवकोटा थिए। आजको जनआस्था साप्ताहिकमा खबर छापिएको छ।
जनकपुधाम - मधेसी मोर्चाको बन्दका बेला जनकपुरमा आएका एमाले वरिष्ठ नेता वामदेव गौतम मोर्चाको घेराउमा परेका छन् ।
मंगलबार नै पार्टीको कार्यक्रममा सहभागी हुन मोर्चाको कडा विरोधका बाबजुद जनकपुर आइपुगेका नेता गौतमलाई बुधबार एमाले नेता रघुवीर महासेठको घरमा बसेको बेला मोर्चाका नेता कार्यकर्ताहरुले घेराउ गरेका छन्। सद्भावना पार्टीका जिल्ला अध्यक्ष सञ्जय सिंहका अनुसार मोर्चाका नेता कार्यकर्ता शान्तिपूर्ण रुपमा नगरक्षेत्रमा मोटरसाइकल र्याली निकाल्ने सहभागी हुँदा एमाले कार्यकर्ताले अवरोध गरेपछि झडप भएको हो। जनकपुरको ब्रह्मपुरीस्थित महासेठको घर अगाडिबाट र्याली अगाडि बढ्दै गर्दा एमाले कार्यकर्ताले ढुंगामुढा गरेपछि मोर्चाका कार्यकर्ता आक्रोशित भएको अध्यक्ष सिंहले जानकारी दिए। झडपको क्रममा मोर्चाका राजु साह र कुलदीप साहको खुट्टा भाँचिएको छ।
एमालेका पनि केही कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ। मोर्चाका नेताले हाल वामदेव गौतम बसेको महासेठको घर घेराउ गरेका छन् भने प्रहरीको व्यापक उपस्थितिपछि झडपलाई नियन्त्रणमा लिइएको छ ।
बुटवल : रुपन्देहीको मझगवामा सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ता र प्रहरीबीच दिनभर झडप भएको छ ।


शनिबार दिउँसो मझगवा गाविस स्थित मर्चवार उच्च माध्यमिक विद्यालयको प्राङगढमा आमसभा गर्ने तयारी गरेका कार्यकर्तालाई प्रहरीले अवरोध गरेपछि बिहानैदेखि झडप भएको हो । हामीले अवरोध गर्दा आक्रमण गरेका थिए, मझगवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमराज थापाले भने । पूर्व तयारीबाट गरिएको कार्यक्रमलाई अवरोध गर्न प्रहरी परिचालन गरिएको थियो ।
गएको वर्ष सोही स्थानमा आमसभाका गरेको सिके राउत कार्यकर्ताले अहिले पनि त्यही स्थानलाई छनोट गरेका थिए । आमसभाका लागि केही दिन यता पर्चा पम्प्लेट टाँसिएका थिए । टाँसिएका पम्पप्लेट प्रहरीले हटाएको थियो । स्वतन्त्र मधेशको माग गर्नु राष्ट्रियता विपरीत भएपछि प्रहरीले अवरोध गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी प्रवक्ता वेलबहादुर पाण्डेले झडपमा केही प्रहरी घाइते भएको जानकारी दिए ।
झपडमा सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक डम्बर श्रेष्ठसहितका प्रहरी हवल्दार र केही जवान घाइते भएका छन् । प्रहरीसँगको झडप अहिले पनि जारी रहेको मझगवा प्रहरी कार्यालयका प्रमुख थापाले जानकारी दिए ।
फाल्गुन ६ - चुनाव मिति घोषणाको विषयलाई लिएर प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल आफ्नै दलभित्रबाट दबाबमा परेका छन् ।
संविधान संशोधन विधेयक टुंगो र स्थानीय चुनाव प्रक्रिया एकैसाथ अघि बढाउने भन्दै आएका उनलाई बिहीबार माओवादी केन्द्र हेडक्वार्टर बैठकमा चुनावको मिति तोकिहाल्नुपर्नेे पक्ष र पहिले संविधान संशोधन गर्नुपर्ने पक्षको दोहोरो दबाब पर्न गएको हो । बैठकमा नारायणकाजी श्रेष्ठ पक्षले तत्कालै चुनाव मिति घोषणा गरिहाल्नुपर्ने मत जोडदार रूपमा उठायो ।
श्रेष्ठले संविधान कार्यान्वयन गर्नका लागि अहिलेदेखि नै कार्यतालिका बनाएर तीनै चरणको चुनाव नथाले संकट आउने भन्दै मिति घोषणा तत्काल गर्न माग गरे । श्रेष्ठले मधेसी मोर्चासँग सहमति खोज्ने क्रमलाई मिति घोषणापछि पनि निरन्तरता दिन सकिने भन्दै निर्वाचन आयोगलाई तुरुन्तै बिजनेस दिइहाल्नुपर्ने माग गरेका थिए । तर रामबहादुर थापा, देव गुरुङलगायत नेताले अहिलेकै अवस्थामा चुनावमा गए राजनीतिक सहमति झन् टाढा जाने भन्दै संविधान संशोधन विधेयकलाई टुंगो लगाउने कामलाई प्राथमिकता दिन आग्रह गरे । दाहालनिकट नेताहरूले भने दुवै प्रक्रिया एकैसाथ अघि बढाउनुपर्ने तर्क गरेको स्रोतले बतायो ।
बैठकमा अरू नेताहरूले बोल्न बाँकी छ । ‘प्रधानमन्त्रीज्यू चुनाव गराउने मुडमा हुनुहुन्छ, तर संशोधन प्रक्रिया अघि बढाउने, स्थानीय निकायको संख्या थप्ने कुरा पनि एकैसाथ हुनुपर्छ भन्ने उहाँको जोड देखियो,’ नेता प्रभु साहले भने, ‘कुन मितिमा चुनाव गर्ने भन्ने कुरा प्राविधिक प्रश्न हो, राजनीतिक सहमति खोज्दै चुनावमा जाने कुरा सैद्धान्तिक रूपमा अघि बढाइएको छ ।’ बैठक थाल्दै प्रधानमन्त्री दाहालले पछिल्ला दिनहरूमा सत्ता घटक, प्रतिपक्षीलगायत दलहरूसँग गरेको छलफल र निर्वाचन तयारीबारे अवगत गराएका थिए । उनले बोलिसकेपछि श्रेष्ठ, थापालगायतले बोलेका थिए ।
नेता देव गुरुङले मधेसी मोर्चालाई आश्वस्त पार्ने गरी चुनाव मिति घोषणा गर्न बैठकमा माग गरे । ‘यो चुनावको मात्रै कुरा होइन, संविधान संशोधनसँग जोडिएको विषय हो, त्यसका लागि पहिले मधेसी पक्षलाई सहमतिमा ल्याउन प्रयास गर्नुपर्यो,’ बैठकमा आफूले राखेको विषय सुनाउँदै गुरुङले कान्तिपुरसँग भने, ‘नत्र मिति घोषणा भए पनि पछि बिथोलिने भयो भने को जवाफदेही हुन्छ ? अहिले एमाले र मधेसी दुवै एक्स्टि्रममा छन्, यस्तो बेला हामीले मध्यमार्गी नीति लिनुपर्छ ।’
थापा, गुरुङलगायत उनीहरू निकट नेताहरूले संविधान संशोधन विधेयक पास वा फेल जे भए पनि त्यो संसदको विषय हुने, तर प्रक्रियालाई टुंगो नलगाई चुनावमा जाने निर्णय लिए आत्मघाती हुने धारणा राखेका थिए । उनीहरूले संविधान संशोधन गराउने वाचा पनि माओवादी केन्द्रले नै गरेको हुनाले बीचमा छाड्न नहुने तर्क राखे । ‘निर्वाचनको विकल्प छैन,’ गुरुङले भने, ‘तर सहमतिमै घोषणा गर्नुपर्छ भन्ने हाम्रो कुरा हो । यसमा सबै जिम्मेवार हुनुपर्यो ।’
थापा पक्षले एमाले र मधेसवादीमध्ये एउटा अर्कोलाई चुनावविरोधी देखाउने, अनि संशोधनविरोधी देखाउने अभियानमा लागिरहेकाले त्यसबाट माओवादी बच्नुपर्नेसमेत तर्क गरेको थियो । बैठकमा नेताहरूले बोल्ने क्रम सकिएको छैन । शुक्रबार प्रधानमन्त्री दाहालको व्यस्तताका कारण शनिबार बैठक बस्न सक्ने नेताहरूले बताए । बैठकले फागुन १० गते संसद् चल्नुअघि एमाले र मोर्चासँग थप छलफल गर्नेसमेत निर्णय गर्यो । हेडक्वार्टर बैठकले संविधान संशोधन र स्थानीय तहको निर्वाचनबारे सरकारले गरेको गृहकार्य र तयारीलाई सकारात्मक भएको निष्कर्ष निकाल्दै पार्टी पंक्ति निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको थियो ।
बैठकपछि प्रवक्ता पम्फा भुसालले राजनीतिलाई अग्रगमनमा लैजान स्थानीय तहको निर्वाचन गरेर संविधान कार्यान्वयनलाई गति दिनुपर्ने पार्टीको ठहर रहेको सुनाइन् । ‘जनसंख्याको घनत्वलाई विचार गरी प्रदेश नम्बर २ मा स्थानीय तहको संख्या केही बढाएर भए पनि मधेसी मोर्चालाई निर्वाचनमा ल्याउने र निर्वाचनको मिति घोषणा गर्नेबारे छलफल भयो,’ उनले भनिन्, ‘यसैका आधारमा छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा हुन्छ ।’ दाहालले आइतबार चुनाव मिति घोषणा गर्ने भनिए पनि बैठकमा मितिबारे कुरा नभइसकेको स्रोतले बतायो ।
काठमाडौ - नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेकपा माओवादीले समानान्तर सत्ता सञ्चालन गर्ने रणनीति अवलम्बन गर्न लागेको छ।
रोल्पाको थवाङमा आफैंले निर्माण गरेको सहीद स्मृति सभागृहमा बिहिबारदेखि शुरु भएको सो पार्टीको आठौ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनले समानान्तर सत्ता सञ्चालन गर्ने रणनीति प्रष्टयाएको हो। सो पार्टीले 'जनबिरोधी' ठहर्याएका व्यक्ति तथा संस्थालाई 'कारवाही' गर्ने योजना पनि प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा संसदीय व्यवस्था असफल भएको ठहर गर्दै त्यसलाई फाल्न पहल गर्ने,वैज्ञानिक समाजवाद स्थापना गर्न संघर्ष गर्ने,संघर्षको अवधिमा जनताले आफनो स्थानबाट जनताको सत्ता वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्दै अगाडि बढने,पार्टीको नेतृत्वमा जनताले निर्माण गर्ने सत्तामा जनताका विभिन्न वर्ग,समुदाय,राष्ट्र,लिंगको सहभागिता रहने, जनताको सत्ता अन्तर्गत जनताको जनप्रतिनिधिसभा, जनपरिषद गठन हुने, वैज्ञानिक समाजवादी सत्ताले सत्तासँग सम्बन्धित सबै कामहरु सञ्चालन गर्ने,सत्तासँग अन्य सबै कार्य जनसंविधान र जनसत्ता सञ्चालन निर्देशिकामा उल्लेख भए अनुरुप गर्ने प्रतिवेदनमा जनाइएको छ।
'दलाल पुँजीवादी संसदीय राज्यसत्तालाई फालिसकेपछि जनताको राजनीतिक व्यवस्था नयाँ जनवाद,वैज्ञानिक समाजवाद स्थापना हुनेछ। यो राज्य व्यवस्था श्रमिक वर्गको हुनेछ। कम्युनिष्ट पार्टीको नेतृत्व,जनवादी पार्टीहरुको प्रतिस्पर्धा र जनताको प्रत्यक्ष नियन्त्रणमा यो सञ्चालित हुनेछ' प्रतिवेदनमा भनिएको छ 'यसको राज्य सञ्चालन जनप्रतिनिधिमुलक संस्था जनप्रतिनिधिसभाबाट निर्वाचित जनसरकारले गर्नेछ। यसको ढाँचा समाजवादी सत्ता भित्रको स्वायत्त शासन हुनेछ भने राज्यका सबै तहमा मजदुर,किसान,मध्यम वर्ग अर्थात नयाँ श्रमिक वर्ग,जाति,जनजातिहरुको समानुपातिक प्रतिनिधित्व रहनेछ।' वैज्ञानिक समाजवादमा अन्तराष्ट्रिय कुटनीतिक सम्बन्ध समानतामूलक र सन्तुलित हुने,स्वाधिनता र सार्वभौमिकतालाई केन्द्रमा राखेर कुटनीति अवलम्बन गरिने, चीन र भारतसँगको सम्बन्धलाई सन्तुलित प्रकारले गर्ने उल्लेख छ।
'भारतसँग बिशेष सम्बन्ध होइन,दुई छिमेकीसँगको सम्बन्धलाई समान हुनुपर्छ भन्ने कार्यक्रम सञ्चालन गरिनेछ। समानताका आधारमा नयाँ सम्झौता गरिनुपर्छ'प्रतिवेदनमा भनिएको छ। बिश्भरीका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुसँग भाइचारा सम्बन्ध कायम राख्ने,अन्तरराष्ट्रियतावादी मान्यतालाई आत्मसाथ गर्ने,माक्र्सवाद,लेनिनवाद र माओवादी पार्टीहरुसँग भाईचारा सम्बन्ध बनाउने,साम्राज्यवाद बिरोधी शक्तिहरुसँग राजनीतिक सम्बन्ध निर्माण गर्ने नीति अवलम्बन गरिने प्रतिवेदनमा जनाइएको छ। 'संसदवादी दलहरुलाई प्रयोग गर्दै बिशेषत भारतीय साम्राज्यवादले नेपालकोराजनीतिक मामिलामा निर्लज्ज हस्तक्षेप गरिरहेको छ।
शान्तिवार्तादेखि हालसम्म नेपालका राजनीतिक दलहरुलाई कठपुतलीको रुपमा नचाउँदै आएको छ। उसले नै संविधान,कानुन,सरकार बनाउने र भत्काउने गरिरहेको छ। काँग्रेस,एमाले,माओवादी केन्द्र सबैतिर यसको दबदबा चलिरहेको छ'प्रतिवेदनमा भनिएको छ 'विगतमा प्रचण्डको सरकार ढाल्नेदेखि हालै केपी ओलीको सरकार गिराउनेमा भारतको मुख्य हात रहेको छ। स्थिति कस्तो छ भने संघर्षमा उत्रिरहेका कयौ क्षेत्रीय पार्टीहरुलाई समेत भारतले नै बोकेर हिडिरहेको छ। सत्तामा पनि आफै,बिद्रोहमा पनि आफै अनौठो चाल भारतले चालिरहेको छ।' 'जनताको सेवामा काम गर्ने प्रगतिशिल गैरसरकारी संस्थालाई काम गर्न दिइनेछ। साम्राज्यवादी र विस्तारवादी तत्वहरुबाट परिचालित जनबिरोधी एवं दलाल गैरसरकारी संस्थाहरुलाई रोकिनेछ। जनसत्ताबाट जनबिरोधी संस्थाहरुलाई कारबाही सञ्चालन गरिनेछ' बिप्लवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ।
वैज्ञानिक समाजवादको खास अवस्थासम्म गैरसरकारी संस्था सञ्चालन गर्ने अधिकार रहने तर देशलाई हानी गर्ने,जनताको सुव्यवस्थामा दखल गर्ने संघ संस्थाहरुलाई रोक लगाइने प्रतिवेदनमा उल्लेख छ। नेपाली सेना र प्रहरीलाई फकाउने रणनीति अवलम्बन गरिएको प्रतिवेदनमा अगाडि भनिएको छ। 'प्रतिक्रियावादी दलाल संसदीय सत्ताका बिरुद्ध क्रान्ति अगाडि बढाउँदा जनताको सेना संगठित गरिनेछ। नेपाली सेना र प्रहरीलाई पनि जनताका पक्षमा उत्रिन आब्हान गरिनेछ।' देशको सुरक्षा गर्ने सैन्य शक्ति हुने,सामाजिक सुरक्षाका लागि जनसुरक्षा बल रहने,देश र जनताको सुरक्षालाई सुदृढ गर्न १८ बर्ष पुगेका हरेक युवाले सैन्य तालिम लिने व्यवस्था हुने,सुरक्षामा परनिर्भरताको अन्त्य गरिने प्रतिवेदनमा उल्लेख छ। मधेशीलाई स्वायत्त सत्ताको अधिकार सुनिश्चित गरिने दावी प्रतिवेदनमा गरिएको छ।
'मधेश मुक्तिका लागि राजनीतिक संघर्षका कार्यक्रमहरु सञ्चालन गरिनेछन। जनसत्ताले सत्ता सञ्चालनका क्रममा स्वायत्त शासनको प्रयोग गर्दै अगाडि बढनेछ।' जनजातिहरुलाई स्वायत्त शासनको सुनिश्चितासहित सत्ता सञ्चालनमा पुर्याउन संघर्ष गरिने उल्लेख छ। 'जनताको सत्ताले भने सत्ता स्थापना र सञ्चालन गर्दा जनजातिको स्वशासनको मान्यता अनुरुप नै गर्नेछन' प्रतिवेदनमा भनिएको छ। वैज्ञानिक समाजवादले धर्ममा बिश्वास नराख्ने,धर्मलाई राज्यबाट अलग राखिने,धर्म मान्न चाहनेको हकमा धार्मिक स्वतन्त्रता प्रदान गर्ने,धर्मका नाममा जनतालाई गर्ने शोषण अन्त्य गरिने उल्लेख छ। प्रतिवेदनमा देश र जनतासँग सम्बन्धित बिषयहरुमा निर्णय लिनु पर्दा प्रत्येक नागरिकले पूर्व सुचित हुन पाउने अधिकार सुनिश्चित गरिने, सूचना सञ्चारमा विदेशी एकाधिकार र ठूला कम्पनीहरुको नियन्त्रण रहने प्रणाली अन्त्य गरिने जनाइएको छ। श्रमिक जनताका लागि संघीयता अर्थहिन रहेको ठहर प्रतिवेदनले गरेको छ।
'नेपालमा केहि शक्तिले गणतन्त्र संघीय भयो भने जातीय मुक्ति हुन्छ,त्यसैले केहि भूगोल र अधिकार बाँडफाँट गरे पुग्छ भन्ने सोचाई राख्ने गरेका छन। केहिले सत्ता एकात्मक भएपनि जनवादी भए पुग्छ भन्ने सोचाई राख्ने गर्छन' प्रतिवेदनमा भनिएको छ 'हाम्रो बिचारमा यी दुवै दृष्टिकोण गलत छन। पहिलो खालको दृष्टिकोण पुँजीवादी,संसदवादी वा यथास्थितिवादी सोचाई हो भने जसले जातिले निश्चित भूगोल पाए पुग्छ,शासन जुन वर्गले गरेपनि हुन्छ भन्ने दृष्टिकोण राख्छ,यसको नेतृत्व नै संसदवादी,दलाल पुँजीवादी वर्गले गरिरहेका छन। उनीहरुले जातिहरु माथिको उत्पीडनलाई जातीय दृष्टिले मात्र हेर्नु गलत छ किनकी जातिहरु भित्र वर्गहरु छन र त्यसमा पुन जनतालाई दलाल र सामन्तहरुले नै शासन गर्ने हुन भने सारमा श्रमिक जनताका लागि त्यो संघीयता अर्थहीन छ। 'अग्रेजबाट भारत मुक्त भएपनि भारतीय जनता वर्गीय रुपले मुक्त हुन नसकेको उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ 'केहि राजनीतिज्ञ र पार्टीहरुको दृष्टिकोण के छ भने जातीय उत्पीडनबाट मुक्ति पाउन जातीय राज्य बने हुन्छ वा आफनो जातीको राज्य मात्र बनाए पुग्छ भन्ने आउँछ। कतिपयले यसको ठीक उल्टो वर्गीय मुक्ति भए पुग्छ,जातिको मुक्ति स्वत हुन्छ भन्ने सोच्छन।
यी दुवै दृष्टिकोण गलत हुन। जसले राज्य बने पुग्छ वा अर्को जातिको बिरुद्ध लडे पुग्छ भन्छन ती सामन्तवादी र पुँजीवादी बिचार भन्दा अगाडि नबढेका मान्छेहरुको बिचार हुन। ती बिचार केवल जातीय सत्ताको मात्रै कुरा छ,जनताको मक्तिको कुरा छैन। यसले जातीय उत्पीडनको एएटा भागबाट त छुटकारा दिन्छ तर अर्को उत्पीडन वा वर्गीय उत्पीडनबाट मुक्ति दिदैन।' नेपालको कम्युनिष्ट आन्दोलनमा केपी ओलीले नेतृत्व गरेको संसदवादी धार र चन्दले नेतृत्व गरेको क्रान्तिकारी धार मात्रै रहेको प्रतिवेदनमा उल्लेख छ। पुष्पकमल दाहाल र मोहन बैद्यको कम्युनिष्ट आन्दोलनमा कुनै धार नरहेको प्रष्टयाउँदै प्रतिवेदनमा भनिएको छ'अन्य पार्टीहरु समयअनुसार कहिले क्रान्तिकारी धार नजिक आउँछन भने कहिले एमाले नजिक पुग्छन।' प्रतिवेदनमा बाबुराम भट्टराईलाई गैरकम्युनिष्ट करार गरिएको छ।
पार्टीको नाम परिवर्तन भित्री विचलन र बाह्य हमलाबाट पछिल्लो समयमा माओवादीलाई बिचलन र बिकृतिको प्रतीक बनाउन खोजिएको,आफूहरुले पुनर्गठन गरेपछि माओवादीको प्रभाव सुल्टोतिर फर्किएको,पूरै ठीक नभएको,माओवादीमा कुनै बिशेषण जोडदा मात्र जनतामा सकारात्मक सोचाई बन्ने खालको भएको उल्लेख गर्दै प्रतिवेदनमा नाम परिवर्तनको प्रस्ताव गरिएको छ। 'कम्युनिष्ट पार्टी बिश्व सर्वहारा वर्गको अग्रदस्ता हुनुको कारण कुनै सन्दर्भमा उपनाम जोडनु परे पनि वास्तवमा कम्युनिष्ट पार्टी कम्युनिष्ट पार्टी नै हो। संभव रहदासम्म कम्युनिष्ट पार्टीकै रुपमा संगठित र परिचालित गर्दा राम्रो हुने हो'प्रतिवेदनमा भनिएको छ 'नेपाली सन्दर्भमा हेर्दा प्राय सबै कम्युनिष्ट पार्टीहरुका पछाडि कुनै न कुनै उपनामहरु जोडिएको स्थिति छ। कम्युनिष्ट पार्टीको नाम मात्र संगठित र सञ्चालित पार्टी खासै छैन।
यसरी सबै पाटाबाट हेर्दा हामीले पार्टीको नाम कम्युनिष्ट पार्टी मात्र राख्दा वस्तुवादी त हुन्छ नै सँगै सहज, सरल र सजीव पनि हुनेछ। तसर्थ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्नु उपयुक्त हुनेछ।'
५ फागुन, काठमाडौं - स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन पाँच दिन पछि सार्ने प्रमुख दल निकट विद्यार्थी संगठनका नेताहरुबीच सहमति भएको छ ।
प्रमुख विद्यार्थी संगठन र आन्दोलनरत विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेताहरुको बिहीबार बिहान बसेको संयुक्त बैठकमा स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति भएको हो । बुधबार बसेको कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठकले निर्धारित मिति फागुन १४ मै स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । तर, त्यसको भोलिपल्टै तिनै दल निकटका विद्यार्थी नेताहरुले विप्लव माओवादी निकट विद्यार्थी संगठनसँग चुनावको मिति पछि सार्ने सहमति गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालयले विद्यार्थी नेताहरुलाई बोलायो इन्द्रेणी फुडल्याण्डमा बसेको बैठकमा नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु अध्यक्ष नविना लामा, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने र विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउने सहभागी थिए । अखिल क्रान्तिकारीका व।र उपाध्यक्ष रञ्जित तामाङले स्ववियु चुनाव पाँच दिन पछि सार्ने सहमति भएकाले अब त्रिभुवन विश्वविद्यालयलाई त्यसबारे जानकारी गराइने अनलाइनखबरलाई बताए ।
त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते स्ववियु निर्वाचन गर्ने कार्यतालिका यसअघि नै सार्बजनिक गरेको थियो । विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले त्यसको विरोध गर्दै आएको थियो । यसैबीच त्रिभुवन विश्वविद्यालयले बिहीबार दिउँसो दुई बजे प्रमुख विद्यार्थी संगठनका नेताहरुलाई छलफलमा बोलाएको छ । सम्भवतः त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको नयाँ तालिका सार्बजनिक गर्नेछ ।




















