फुङ्लिङ (ताप्लेजुङ) - नेपाली खेलकुदका लागि उदाहरणीय पात्र हुन्, शिवकुमार गुरुङ। खेलकुद क्षेत्रको विकासका लागि सरकारी स्तरबाट थालिएका प्रयासहरू पर्याप्त नरहेको गुनासो बढिरहँदा शिवले भने हिमाली जिल्ला ताप्लेजुङमा आफ्नै व्यक्तिगत लगानीमा ब्याडमिन्टनको सुविधासम्पन्न कभर्डहल निर्माण गरेर गतिलो उदाहरण प्रस्तुत गरेका छन्।
स्थानीय खेलाडीका लागि नियमित अभ्यास गर्ने सामान्य कभर्डहलसमेत नरहेको ताप्लेजुङ सदरमुकाममा शिवले व्यक्तिगत लगानीमा दुईवटा कोर्टसहितको ब्याडमिन्टन कभर्डहल निर्माण गरिदिएपछि यतिबेला उक्त खेलप्रति स्थानीयको चासो पनि निकै बढेको छ। ताप्लेजुङ नगरपालिका वडा नम्बर ६ स्थित कोठेबारीमा शिवले आफ्नै स्वामित्वमा रहेको करिब दुई रोपनी क्षेत्रफल जग्गामा कभर्डहल निर्माण गरेपछि अहिले हरेक दिन त्यहाँ ब्याडमिन्टन खेल्नेको ओइरो लाग्ने गर्छ। व्यक्तिगत लगानीमा कभर्डहल निर्माण गरिए पनि त्यहाँ खेल्न र नियमित अभ्यास गर्न आउने कसैसँग शुल्क लिइँदैन। ‘सदरमुकाममा समेत खेलाडीका लागि नियमित अभ्यास गर्ने सुविधासम्पन्न स्थानको अभाव रहेकाले मैले व्यक्तिगत लगानीमा ब्याडमिन्टनको कभर्डहल निर्माण गरेको हुँ। ब्याडमिन्टन खेल्न र सिक्न आउने सबैका लागि यो निःशुल्क हो।
खेलकुद क्षेत्रको विकासमा सानो भए पनि योगदान पुर्याउन सक्दा आत्मसन्तुष्टि मिलेको छ’, शिव भन्छन्। करिब दुई वर्षअघि निर्माणकार्य सुरु गरी क्रमशः पूर्णता दिइएको उक्त कभर्डहल र ब्याडमिन्टन कोर्ट अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार पारिएको शिवले बताए। ‘यो कभर्ड हल र कोर्ट नेपाल ब्याडमिन्टन संघसँग सल्लाह गरेर अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको हो’, ४८ वर्षीय शिवले भने। कभर्डहल निर्माण गर्न ब्याडमिन्टन संघले प्राविधिक पक्षसँगै एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको जानकारी पनि उनले दिए। ‘सुरुमा कभर्डहल र कोर्ट निर्माण गर्न धेरै खर्च हुँदैनजस्तो लागेको थियो तर, निर्माण सामग्रीको ढुवानी निकै महँगो परेकाले काम सकिँदासम्म ७० लाख रुपैयाँ जति खर्च भयो’, शिव भन्छन्।
यतिमात्र होइन, शिवले कभर्डहल नजिकै ब्याडमिन्टन संघलाई पनि कार्यालय भवन बनाउन चार आना जग्गा निःशुल्क रूपमा उपलब्ध गराएका छन्। तर त्यहाँ कार्यालय भवन भने हालसम्म निर्माण गरिएको छैन। ब्याडमिन्टन भनेपछि हुरुक्कै हुन्छन् रे, शिव। उनी राष्ट्रिय स्तरमा चिनिएका खेलाडी होइनन् तर, उनी अहिले पनि नियमित रूपमा ब्याडमिन्टन खेल्छन्। जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका कार्यालय प्रमुख यज्ञनिधि पौडेल खेलकुदप्रतिको शिवको लगाव अरूका लागि पनि अनुकरणीय रहेको बताउँछन्। ‘उहाँ (शिव) ले जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि गरेको प्रयास अरूका लागि अनुकरणीय छ। ब्याडमिन्टनको कभर्डहल निर्माण भएपछि अहिले जिल्लामा यो खेलप्रतिको चासो पनि निकै बढेको छ’, यज्ञनिधि भन्छन्, ‘पहिले बाहिर कोर्ट बनाएर ब्याडमिन्टन खेल्नुपथ्र्यो, हावा चलेर खेल्न निकै समस्या हुन्थ्यो तर, अहिले राति ९ बजेसम्म बत्ती बालेर पनि ब्याडमिन्टन खेलिन्छ।’
यसदेखिबाहेक जिल्लाका कर्मचारीहरू पनि उक्त कभर्डहलमा ब्याडमिन्टन खेल्न आउने गरेका छन्। ‘पछिल्लो समय स्वास्थ्यका लागि पनि नियमित रूपमा ब्याडमिन्टन खेल्ने प्रचलन बढेको छ। कभर्डहल बनेपछि विभिन्न पेसा, वर्ग र उमेरसमूहका व्यक्ति नियमित रूपमा खेल्न आउँछन्। ६० वर्षीय बलबहादुर पोख्राबुद्ध पनि यहाँ नियमित रूपमा खेल्न आउनुहुन्छ’, यज्ञनिधि भन्छन्। ब्याडमिन्टन खेलप्रति शिवको लगाव देखेर पछिल्लो समय उनलाई जिल्ला ब्याडमिन्टन संघको अध्यक्षको जिम्मेवारी पनि दिइएको छ। उनले ब्याडमिन्टन सिक्न आउने बालबालिकाका लागि एकजना स्वयंसेवक प्रशिक्षकको व्यावस्थासमेत गरिदिएका छन्। राष्ट्रिय प्रतियोगिता खेलिसकेका मनकुमार लिम्बूले अहिले उक्त कभर्डहलमा केही स्कुले विद्यार्थीलाई नियमित रूपमा प्रशिक्षण दिँदै आएका छन्।
खेल पदाधिकारीसँग भने शिवको केही गुनासो छ। ससाना बालबालिकालाई ब्याडमिन्टन सिकाउन प्रशिक्षकको व्यवस्था मिलाइदिन पटकपटक सम्बन्धित निकायमा आग्रत गर्दा पनि उनको यो चाहना पूरा हुन सकेको छैन। ‘मैले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव र ब्याडमिन्टन संघका अध्यक्षसँग पनि धेरैपटक भने तर, अहिलेसम्म आश्वासनभन्दा बढी केही पाउन सकेको छैन’, शिवले गुनासो पोखे। यसैगरी कभर्डहल निर्माण गर्दा भलिबल खेलसमेत खेल्न मिल्ने गरी बनाउन नसकेकोमा पनि उनलाई पछुतो लागेको रहेछ। ‘भलिबलसमेत खेल्न मिल्ने गरी अलि ठूलो कभर्डहल बनाउन सकेको भए सुनमा सुगन्ध हुने थियो तर, त्यतिबेला विचार गरिएन, कसैले सल्लाह पनि दिएनन्, अहिले पछुतो लागेको छ’, उनी भन्छन्।
ब्याडमिन्टनको कभर्डहलमा दर्शकसमेत बस्न मिल्ने गरी माथिल्लो तलामा काठको प्यापिट पनि बनाइएको छ। सोही कभर्डहलमा छिट्टै जुनियर राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको शिवले बताए। २०७२ सालमा सोही कभर्डहलमा पूर्वाञ्चलस्तरीय अन्तरजिल्ला ब्याडमिन्टन प्रतियोगितामा पनि आयोजना गरिएको थियो। शिव र ब्याडमिन्टनबीच अर्को रमाइलो प्रसंग पनि जोडिएको छ। शिवसहित उनको परिवारका पाँचजना सदस्य यतिबेला ब्याडमिन्टनमा सक्रिय छन्। उनका छोरा मिनेश गुरुङ पूर्वाञ्चलस्तरीय जुनियर प्रतियोगितामा पहिलो भएका थिए। उनी हाल काठमाडौंमा उच्च शिक्षासँगै आफ्नो ब्याडमिन्टनको सीपलाई तिखार्न व्यस्त छन्। यसैगरी स्थानीय माविमा कक्षा ९ मा अध्ययनरत कान्छा छोरा मिलिन गुरुङले पनि जिल्लास्तरिय प्रतियोगितामा प्रथम भइसकेका छन्। उनी अहिले नियमित प्रशिक्षण लिइरहेका छन्। यसैगरी हाल नियमित प्रशिक्षणमा रहेकी भाइबुहारी बलकुमारी गुरुङले पनि जिल्लाबाट छनोट भएर सातौं राष्ट्रिय खेलकुदको क्षेत्रीयस्तरको प्रतियोगिता खेलेकी थिइन्। पारिवारिक वातावरणकै कारणले होला, बलकुमारीका छोरा पनि स्कुल र गृहकार्यबाट फुर्सद पाउनासाथ र्याकेट बोकेर कोर्टतिर दौडन्छन्।
काठमाडौं - लिग लिडर रियल मड्रिड ला लिगामा भ्यालेन्सियासँग पराजित भएको छ। गएराति भएको खेलमा रियल मड्रिडलाई भ्यालेन्सियाले २–१ गोल अन्तरले पराजित गरेको हो।
रियल मड्रिड पराजित भएपछि दोस्रो स्थानमा रहेको बार्सिलोनालाई प्रत्यक्ष फाइदा पुगेको छ। रियल मड्रिडले खेल सुरु भएको १० मिनेटभित्रै दुई गोल खायो। खेलको चौथो मिनेटमै जाजाले गोल गर्दै भ्यालेन्सियालाई सुरुवाती अग्रता दिलाए।
खेलको ९ औं मिनेटमै ओरेलानाले गोल गर्दै भ्यालेन्सियाको अग्रता दोब्बर पारेका थिए। पहिलो हाफको ४४ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै खेल २–१ मा झारेका थिए। तर, दोस्रो हाफमा रियल मड्रिडले केही राम्रा अबसर पाएपनि गोल गर्न नसकेपछि २–१ को हार ब्यहोर्न बाध्य भयो।
हारपछि पनि रियल मड्रिड २२ खेलबाट ५२ अंकका साथ शीर्ष स्थानमा यथावतै छ। रियल मड्रिडभन्दा एक खेल बढी खेलेको बार्सिलोना ५१ अंकका साथ दोस्रो तथा २३ खेल नै खेलेको सेभिल्ला ४९ अंकका साथ तेस्रो स्थानमा छ।
काठमाडौं - आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्याविरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा भएको छ।
आइसीसी प्रतिनिधिसहितको तीन सदस्यीय छनोट समितिले पारस खड्काको कप्तानीमा १९ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। उपकप्तानमा भने ज्ञानेन्द्र मल्ल छन्। यस्तै मोहम्मद आरिफ शेख, दिलिप नाथ, मेहबुब आलम, करण केसी, मोहम्मद आसिफ शेख र सागर पुन रहेका छन्। यसैगरी भुवन कार्की, शरद भेष्वाकर, शक्तिप्रसाद गौचन, अभिनाश कर्ण, सोमपाल कामी, सुनिल धमला र दिपेन्द्रसिंह ऐरीले पनि टिममा स्थान बनाएका छन्।
यस्तै बसन्त रेग्मी, राजेश पुलामी मगर, विनोद भण्डारी र सन्दिप लामिछाने पनि टिममा परेका छन्। टिममा परेका चारजना भने नयाँ खेलाडी हुन्। आसिफ शेख, दिपेन्द्रसिंह ऐरी, दिलिप नाथ र सुनिल धमला टिममा पहिलो पटक स्थान बनाउन सफल भए। आसिफ शेख आरिफ शेखका आफ्नै भाइ हुन्। आइसीसी प्रतिनिधि भेन्काटापथी राजु, नेपाली क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको तीन सदस्यीय छनोट समितिले १९ सदस्यीय टोली छनोट गरेको हो।
नेपाली क्रिकेट टोली शुक्रबार नेपाल एयरलाइन्सको विमानमार्फत साँझ पाँच बजे अभ्यास खेलका लागि भारत जाँदैछ। भारतमा रहँदा दिल्लीमा नेपालले तीनवटा अभ्यास खेल खेल्नेछ। कप्तान पारस खड्का भने बिरामी भएकाले अभ्यास खेलका लागि भारत जाने छैनन्। नेपालले केन्याविरुद्धको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा फागुन २८ र ३० मा हुनेछ। नेपाली टोली भारतबाट फर्किएपछि टिममा रहेका १९ मध्ये १८ खेलाडीको अन्तिम घोषणा गरिने छ।
१२ फागुन काठमाडौं - लिग लिडर रियल मड्रिडले स्पेनिस ला लिगामा दोस्रो हार ब्याहोर्ने क्रममा भ्यालेन्सियासँग २-१ को पराजित भएको छ ।
खेल सुरु भएको चौथो मिनेटमै वेष्ट हृयामका पूर्व स्ट्राइकर सिमोन जाजाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । गत बर्षको मे महिनापछि जाजाको पहिलो लिग गोल हो । गोलपछि उनी भावुक बनेका थिए । नवौं मिनेटमा फावियन ओरेलानाले अर्को गोल थपेपछि सुरुवाती १० मिनेटमै रियल दुई शून्यले पछि परेको थियो ।
पहिलो हाफको अन्त्यतिर सुपरस्टार क्रिष्टियानो रोनाल्डोले एक गोल फर्काएपनि दोस्रो हाफमा रियलले जादू देखाउन सकेन र लिगमा दोस्रो हार व्यहोर्न बाध्य भयो । पराजयपछि पनि जिनेदिन जिदानेको टोली लिगमा १ अंकको अग्रताका साथ शीर्ष स्थानमै छ भने उसले अझै एक खेल कम खेलेको छ । लिगमा राम्रो गर्न संघर्षरत भ्यालेन्सिया जितपछि १३औं स्थानमा उक्लिएको छ । भ्यालेन्सियाले यसै सिजनमात्रै तीन प्रशिक्षक फेरिसकेको छ । भोरो अहिलेका प्रशिक्षक हुन् ।
फागुन ताप्लेजुङ - दोस्रो राष्ट्रिय पाथीभरा भलिबल प्रतियोगिताको उपाधि नेपाल पूलिस क्लबले जितेको छ । राउण्ड रोविनको आधारमा खेलाइएको प्रतियोगितामा नेपाल पूलिसले ११ अंकका साथ उपाधि चुमेको हो । त्यस्तै १० अंक सहित त्रिभुवन आर्मी क्लबले उपविजेतामा चित्त बुझाएको छ ।
शनिबार भएको निकै प्रतिस्पर्धात्मक अन्तिम खेलमा १९-२५, १५-२५, २५-२०, २५-२२ र १५-११ बनाउँदै ३-२ को सेटमा त्रिभुवन आर्मीलाई नेपाल पुलिसले पराजित गरेको हो । यस्तै सशस्त्र प्रहरिको एपीएफले ६ अंक जोड्दै तेस्रो भएको छ भने पूर्वाञ्चलले २ अंकका साथ सान्तवनामा चित्त बुझाएको छ ।
सशस्त्र प्रहरीले २५-१३, २५-१८ र २५-८ को सोझो सेटमा पछि पार्दै तेस्रो स्थान पक्का बनाएको हो । प्रतियोगिताका विजेतालाई तीन लाख ३० हजार र उपविजेता लाई १ लाख ६५ हजार पानएको छ । तेस्रो र चौथो हुने टिमलाई नगद ३५/३५ हजार प्रदान गरिएको आयोजक जिल्ला भलिवल संघ ताप्लेजुङले जनाएको छ ।
सुनसरी फागुन - काठमाडौं धरानमा जारी १९औं अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटबल संकटा क्लबको जितसँगै प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ ।
एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको उद्घाटन खेलमा भारतको कोलकातास्थित दुर्गापुर स्टिल फुटबल क्लबलाई ३–२ ले हराउँदै संकटाले क्वाटर फाइनलमा प्रवेश गरेको हो । १० टिम सहभागी प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
५ फागुन, पोखरा - पर्यटकीय शहर पोखरामा आगामी शनिबार सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन हुने भएको छ ।
भुतपूर्व खेलाडी मञ्च पोखराको आयोजनामा ११औं संस्करणको म्याराथन प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष खड्गबहादुर रानाभाटले जानकारी दिए । शुक्रबार साँझसम्म नाम दर्ता गर्न सकिने म्याराथनमा करीब ४ हजार प्रतिष्पर्धीले भाग लिने अपेक्षा गरिएको उनले बताए ।
४२.१९५ मिटर म्याराथनमा करीब १२५ जनाले सहभागिता जनाउने आयोजकको अनुमान छ । त्यस्तै, छात्र/छात्रा ५ किलोमिटर दौडमा करीब २ हजार, रन फर फनमा करीब २ हजार ५ सय तथा अपाङ्गताहरुको हृविलचेयर दौडमा करीब ५० जनाले भाग लिने अनुमान गरिएको रानाभाटले बताए । उनका अनुसार म्याराथनमा दौडनका लागि हालसम्म नेपाली खेलाडीहरु ५५ जना पुरुष र ६ जना महिला तथा एक स्पेनिस खेलाडीले नाम दर्ता गराईसकेका छन् । त्यस्तै छात्र दौडमा ८ सय, छात्रा दौडमा ६ सय तथा रन फर फनका लागि १ हजार ६ सयले नाम दर्ता गराइसकेका छन् ।
शनिबार विहान ७ बजे पोखरा रंगशालाबाट शुरु हुने म्याराथन पृथ्वीचोक, छोरेपाटन, विरौटा, राष्ट्रवैंकचोक, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, सिर्जनाचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गा, सिद्धार्थचोक, मोहरियाटोल, विन्ध्यबासिनी, बगर, लामाचौर, बाटुलेचौर, उपल्लो दीप, तल्लो दीप, पुनः बगर हुँदै नदीपुर, महेन्द्रपुल, हस्पिटलचोक, अमरसिंहचोक, बिजयपुर, लेखनाथचोक, औद्यौगिक क्षेत्र, इन्द्रचोक हुँदै पुनः रंगशालामा आएर टुंगिनेगरी रुट तय भएको मञ्चका सचिव हरिप्रसाद पराजुलीले जानकारी दिए ।
लक्ष्मी हाउसको उत्पादन सफल दुधको प्रायोजनमा हुने प्रतिस्पर्धा अन्तर्गत म्याराथन बिजेताले नगद ६० हजार, उपबिजेताले ४० हजार, तृतीय हुनेले २५ हजार र सान्त्वना स्थान प्राप्त गर्नेले ५ हजार पुरस्कार पाउनेछन् ।









