अञ्चल अस्पतालहरुमा स्नातकोत्तर तहको पढाई थालिनेःमन्त्री थापा

चितवन । स्वास्थ्य मन्त्री गगन थापाले सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकले अनुमति नलिई निजी अस्पतालमा काम गर्न नपाउने प्रष्ट पारेका छन् । उनले सरकारले पुराना सबै अनुमति खारेज गरेको र अब नयाँ अनुमति लिएर मात्र काम गर्नु पर्ने जानकारी पनि गराएका छन् ।

 नेपाल प्रेस युनियन चितवनले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री थापाले निजी अस्पतालमा काम गर्नेले अनुमति लिएको प्रमाण पत्र सवैले देख्ने स्थानमा राख्नु पर्ने र अनुमति पत्रमा अस्पतालमा काम गर्ने समय स्पष्ट लेखिएको हुनुपर्ने बताए । उनले सरकारी कामको समयमा निजीमा काम गरेको पाईएमा त्यस्ता चिकित्सकलाई कारवाही गरिने दृढता पनि व्यक्त गरे । 

मन्त्री थापाले देशभरका ३० वटा जिल्ला अस्पतालमा शल्यक्रियाबाट प्रसुति सेवा उपलव्ध गराउने व्यवस्था नभएको भन्दै ती अस्पतालहरुमा चिकित्सक पठाएर शल्यक्रिया गर्ने प्रवन्ध गर्न लागेको जानकारी पनि दिए । फागुन १५ गते भित्र सवै अस्पतालहरुमा चिकित्सक पुग्ने र शल्यक्रिया सुरु हुने उनको भनाई थियो । दीर्घकालीन समस्या समाधानका लागि जनशक्ति आवश्यक पर्ने भन्दै मन्त्री थापाले अञ्चल अस्पतालहरुमा स्नातकोत्तर तहको पढाई थालिने पनि बताए । 

अर्को एक प्रश्नमा मन्त्री थापाले वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका संञ्चालक समितिका अध्यक्ष र कार्यकारी निर्देशकलाई एक महिने समय सीमा दिईएकोमा ती काम भए नभएको हेरेर चित्त वुझ्दो काम नभए वर्खास्त गरी नयाँ व्यवस्था गरिने पनि बताए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.