एमाले स्वयंसेवकलाई सेल्फी खिच्न र घुमफिर गर्न कडाई, मेची-महाकाली अभियानमा अवरोध भए प्रतिकार गर्ने चेतावनी
१६ फागुन, काठमाडौं - नेकपा एमालेले फागुन २१ देखि झापाको काँकडभिट्टाबाट शुरु गर्न लागेको दुई साता लामो मेची-महाकाली अभियानमा जाने स्वयंसेवकहरुका लागि ९ बुँदे आचारसंहिता जारी गरेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा सोमबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वयम् सेवकहरुलाई प्रशिक्षण दिए । साथै दुई साता पूर्णकालीन रुपमा सहभागी हुने स्वयंसेवकहरुलाई आचारसंहिता कडाईका साथ पालना गर्न पनि निर्देशन दिए ।
मेची-महाकाली अभियान सचिवालयले तयार पारेको आचारसंहितामा स्वयंसेवकहरुले सेल्फी खिच्ने कुरामा कडाई गरिएको छ ।
आचार संहिताको ८ औं बुँदामा भनिएको छ, ‘स्वयंसेवकहरुले सेल्फी खिच्ने, घुमफिर गर्ने, साथीभाइ आफन्तसँगको भेटघाटमा अनावश्यक समय खर्च नहोस् भन्नेमा ध्यान दिने ।’
स्वयंसेवकले अभियानको अवधिभर मध्यपान र धुम्रपानको प्रयोग गर्न पूर्णतः निषेध गरिएको छ । यो अभियानमा केन्द्रबाट एक सय जना स्वयंसेवक जानेछन् ।
बाँकी स्वयंसेवक तराई मधेसका जिल्लाबाटै थपिने एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले बताए ।
स्वयंसेवकहरुको केन्द्रीय कमाण्डर पार्टी सचिव योगेश भट्टराई तोकिएका छन् । सोमबार स्वयंसेवकहरुलाई बिशेष प्रशिक्षण दिइएको र उनीहरु अभियानभरी पार्टी नेताहरुसँगै रहने प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिए ।
स्वयंसेवकलाई पार्टीको तर्फबाट रातो रंगको हाफ ज्याकेट र निलो टोपी र टिसर्टको व्यवस्था गरिएको छ । यो अभियानभर पार्टीका अध्यक्षसहित शीर्ष नेताहरु तराई मधेसमा जनताकै घरमा बस्ने एमालेले जनाएको छ ।
मधेसका जिल्लामा एमालेको शाख बढाउन अभियान केन्द्रित गरिने भएको छ । अभियानको पूर्वसन्ध्यामा रौतहटमा मधेसी मोर्चाका कार्यकर्ताले एमाले वरिष्ठ नेता माधव नेपालको कार्यक्रममा अवरोध प्रयास गरेका थिए । एमालेले यस्तो अवरोध भएमा ठाउँको ठाउँ प्रतिरोध गर्ने चेतावनी दिएको छ ।
एमालेको यो अभियान मधेसका भित्री शहरमा केन्द्रित हुनेछ, जहाँ संविधान जारी भएदेखि एमालेले सार्वजनिक कार्यक्रम गरेको छैन ।
राजविराज, लाहान, महोत्तरी, गरुढा जस्ता शहरमा अभियान लिएर एमाले जान लागेको छ ।
मोर्चा कार्यकर्ताले भने एमालेलाई मधेस प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन् ।

0 comments
Write Down Your Responses