सर्ट फिल्मको अश्लील तमासा, देखाउने एउटा दाँत, चपाउने अर्कै
सर्ट फिल्म कलाको सशक्त विधा हो । तर, नेपालमा थुप्रै गिरोह सर्ट फिल्मलाई अश्लील धन्दाको माध्यम बनाइरहेका छन् ।
भद्दा, छाडा र सस्ता यौनजन्य विषयवस्तु हुने यस्ता फिल्म युट्युबमा अपलोड गरेर पैसा कमाउन पल्केका उनीहरूलाई कला वा अभिनयसँग मतलब हुने कुरा पनि भएन । यस्ता फिल्ममा काम गर्ने महिलाको श्रम तथा यौन शोषण हुने गरेको छ । सर्ट फिल्मका नाममा नेपालमा कस्ता–कस्ता तमासा भइरहेका छन् त ? किन कसैले नियमन गरिरहेको छैन ? को–को छन् यसमा संलग्न ? अनिल यादवले केस्रा–केस्रा केलाएका छन् । फिल्मको नामः पैसा कि बैँसा ।
दृश्य छ यस्तो– गाउँबाट हिरो बन्ने सपना बोकेर शहर छिरेको एक युवक एउटा कार्यालयभित्र प्रवेश गर्छ । कार्यालयमा बसेकी युवती उसलाई ‘पैसा दिन नसके बैँसा’ दिन आग्रह गर्छे । केटा राजी हुन्छ । अनि, कार्यालयको सोफामै ती युवती र युवक बैँसको प्यास मेट्न थालिहाल्छन् । र, यत्तिकैमा चार मिनेट लामो फिल्म सकिन्छ । फिल्मको नामः कलेज बंक । कलेज जाँदै गरेकी आफ्नी प्रेमिकालाई युवक ‘कलेज बंक’ गर्न आग्रह गर्छ । एकछिनको आनाकानीपछि युवती मञ्जुर हुन्छे । युवक उसलाई एकान्त ठाउँको एउटा झाडीमा लिएर जान्छ । त्यसपछि उनीहरू रमाइलो गर्न थाल्छन् । ‘सामाजिक सन्देशका लागि’ भनिएको साढे सात मिनेट लामो यो फिल्म पनि रमाइलो गर्दागर्दै सकिन्छ ।
‘इन्जोय नेपाल’ युट्युब च्यानलबाट अपलोड भएको यो फिल्मलाई तीन करोडभन्दा बढी पल्ट हेरिएको छ । फिल्मको नामः ‘ड्यामड्याम–४’ । फिल्म छायांकन भइरहेको दृश्य छ यसमा । निर्देशक केटा र केटीलाई सुझाउँदै हुन्छन्, ‘पहिला बहिनी त्यहाँ गएर लड्ने, त्यसपछि हिरोले हिराइनलाई रेप गर्ने सिन हो । त्यसपछि चाहिँ तपाईंहरूको लभ पर्छ क्या । यो अनौठो खालको लभस्टोरी हो क्या ।’ अनि निर्देशक ‘एक्सन’ भन्छ । निर्देशकले भनेझैँ दृश्य सुट हुन्छ ।
क्यामेराम्यानलाई सिन चित्त बुझ्दैन । ऊ निर्देशकलाई ‘मजा आएन’ भन्छ । त्यसपछि निर्देशक आफैँले ‘मजा’ गरेर देखाउँछ । अनि, युवती ‘भएन’ भन्दै आफैँ निर्देशकमाथि सवार हुन्छे । र, ‘रेप’ गर्ने यसरी हो भन्दै निर्देशकलाई उल्टै सिकाइदिन्छे । ‘कुलेन टीभी’ नामक युट्युब च्यानलबाट अपलोड भएको यो फिल्मलाई युट्युबमा ४ लाख ४१ हजारभन्दा बढी पल्ट हेरिएको छ । ‘न्यू नेपाली सर्ट फिल्म’ भन्दै भिडियो सेयरिङ वेबसाइट युट्युबमा यतिबेला सयौँको संख्यामा अश्लील दृश्य र संवादमात्र समावेश भएका यस्ता फिल्म छ्याप्छ्याप्ती भेटिन्छन् । ‘सर्ट फिल्म’को नाम दिँदै उनीहरू ‘सफ्ट पोर्न’ नै बनाइरहेका छन् । यस्ता भिडियोमा सिर्जनशीलता र अभिनय शिल्प देखिने कुरा भएन ।
भद्दा किस र बेड सिन नै यस्ता फिल्मका विशेषता हुन् । यसमा सहमत छन्, चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई । भन्छन्, ‘नेपालमा सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न सर्ट मुभीको नाममा सर्ट पोर्न मुभी जस्ता देखिने भिडियोहरू बनाएर अपलोड गरिन्छन्, यो त ज्यादती नै भइरहेको छ । यो कुनै कला होइन । यस्ता फिल्मले अश्लीलतालाई मात्र बढावा दिन्छन् । समाजमा विकृति ल्याउने काम गरिरहेका छन् । यहाँ त सर्ट फिल्म जान्रकै बदनाम भइरहेको छ ।’ यता ‘एकादेशमा अन्तर्राष्ट्रिय सर्ट फिल्म फेस्टिभल’का प्रोग्राम डिरेक्टर समेत रहेका सर्ट फिल्म निर्देशक अविनाशविक्रम शाह व्यक्तिगत रूपमा आफूलाई त्यस्ता फिल्म मन नपर्ने बताउँछन् । ‘हरेक मेकरको फिल्म बनाउनुपछाडि एउटा ‘इन्टेन्सन’ हुन्छ,’ उनी भन्छन्, ‘जसको उद्देश्य भनेकै पैसा कमाउने मात्रै हो ।
उनीहरूले काम गर्ने पनि त्यसरी नै हो । एकचोटि विदेशमा बस्ने मेरो एउटा साथीले युट्युबमा नेपाली फिल्म भनेर सर्च गर्नासाथ नराम्रो, छाडा फिल्म मात्र भेटियो भनेर मलाई गुनासो ग¥यो । यसो भन्दैमा कसैलाई नबना भन्न त मिल्दैन नि । त्यो उनीहरूको स्वविवेकको कुरा हो ।’ यसरी हुन्छ शोषण यस्ता ‘सर्ट फिल्म’मा काम गर्ने अधिकांश कलाकार विभिन्न हिसाबले शोषणको शिकार भइरहेको स्वयं कलाकारहरू नै बताउँछन् । ‘नबुझीकन फिल्म खेल्न आउनेहरू यहाँ अश्लील फिल्म खेल्न बाध्य भइरहेका छन्,’ दर्जनजति सर्ट फिल्ममा अभिनय गरेकी मोडल निशा घिमिरे भन्छिन्, ‘यहाँ त सर्ट फिल्मको नाममा नयाँ केटी ल्याएर अनुहार बेच्ने काम जस्तो भयो ।
युवतीलाई नंग्याएर उनीहरू पैसा कमाइरहेका छन् । यस्तो गरेर कहिलेसम्म टिक्ने हो त ?’ उनले आफूलाई म्युजिक भिडियो भन्दै झुक्याएर सर्ट फिल्म खेलाएको तीतो अनुभवसमेत शुक्रवारसँग साटिन् । ‘डेढ वर्षअघिको कुरा हो । मलाई निर्देशक आरएस बस्नेतले म्युजिक भिडियोमा खेल्नका लागि भनेर पोखरा बोलाए,’ उनले सम्झिइन्, ‘म गएँ । त्यतिबेलासम्म मैले दुइटा म्युजिक भिडियोमा काम गरिसकेकी थिएँ । सुटिङ अवधिसम्म मलाई उनीहरूले म्युजिक भिडियो नै भनेका थिए । ‘लभ सिन हो, अलि अलि चाहिन्छ’ भन्दै किस सिनहरू दिन लगाए । भिडियो होइन जस्तो लागेर मैले प्रश्न पनि उठाएँ ।
पछि काठमाडौँमा सम्पादन गर्ने बेलामा मात्र थाहा भयो ‘सर्ट फिल्म’ रहेछ । ‘बलात्कार–३’ नाममा युट्युबमा अपलोड भएको त्यो फिल्म आफैँलाई हेर्न लाज लाग्छ । परिवारबाट धेरै गाली खाएँ । ‘ज्योति मगर र अर्चना पनेरुलाई टक्कर दिने नायिका’ भन्दै युट्युबमा प्रचार पनि गरियो । अहिलेसम्म त्यो फिल्म युट्युबबाट हटाइदिन भनेर संघर्ष गरिरहेकी छु । तर, मान्दै, मान्दैनन् । के गर्ने होला ?’ उनले भोगेको पीडा यतिमै सकिँदैन । कुलेन टीभी च्यानलबाट अपलोड भएको सर्ट फिल्म ‘उत्ताउलो मन’ सुटिङका क्रममा पनि उनले दुव्र्यवहार खेप्नुपरेको बताइन् ।
‘निर्देशक अर्जुन थापा अविरलको फिल्म हो यो,’ उनले भनिन्, ‘सुटिङका क्रममा उहाँले मलाई जबर्जस्ती सिनहरू गराएको म कहिल्यै बिर्सन सक्दिनँ । ‘अलि तल, अलि तल’ भन्दै छाती धेरै देखाउन लगाउँथे । सुटिङका बेला पनि भल्गर शब्द प्रयोग गर्थे । हाम्रो इज्जतको ख्याल नै नगर्ने । अहिले त ऊ मलाई निर्देशकजस्तो नै लाग्दैन । मबाट अञ्जानमा भएका गल्ती हुन् यी । र, अरु केटीहरूलाई बुझेरमात्र यो क्षेत्रमा काम गर्न सुझाव दिन्छु ।’ ‘आवश्यक परे जस्तोसुकै सिन दिन पनि तयार छु’ भन्दै अन्तर्वार्ता दिने अभिनेत्री सपना लामिछानेका पनि थुप्रै सर्ट फिल्महरू युट्युबमा भेट्न सकिन्छ । उनी निकटकाहरू भन्छन्, ‘सर्ट फिल्मका नाममा हुने शोषणका कारण उनले यस्तो फिल्म नखेल्ने निर्णय गरेकी छिन् ।’
शुक्रवारसँग उनले भनिन्, ‘म सर्ट फिल्म पहिला गर्थें, अहिले गर्न छाडिसकेँ । त्यस्ता मुभीबारे मेरो भन्नु केही छैन ।’ शोषण महिला मात्र होइन, पुरुष कलाकारको पनि भइरहेको छ । २ सय ७० भन्दा बढी सर्ट फिल्ममा काम गरिसकेको बताउने अभिनेता आर्यन बोगटी (नवीन) युट्युबमा भिडियोको भ्युअर्स बढाएर पैसा कमाउने लोभमा अरूलाई नंग्याउने मेकरहरू व्याप्त रहेको बताउँछन् । ‘मलाई पनि निर्देशकहरूले जबर्जस्ती र झुक्याएर भल्गर सिनहरू धेरै लिए,’ उनी भन्छन्, ‘उनीहरू सम्पादनका क्रममा मिलाउँछु भन्थे तर जस्ताको तस्तै अपलोड गर्थे । त्यही कारण कति त मैले अपलोड नै गर्न दिइनँ ।
मेरो घर भारतको पञ्जाबमा छ । मेरा पञ्जाबका साथीहरू मलाई ‘तँ नेपालको पोर्न स्टार होस्’ भन्दै जिस्काउँछन् । यस्तो सुन्दा निकै दुःख लाग्छ ।’ यही कारण केही समय सर्ट फिल्मबाट विश्राम लिएका उनी फेरि काम गर्न थालेका छन् । ‘अब त्यस्तो भल्गर खेल्दिन,’ उनले भने । यता सयभन्दा बढी सर्ट फिल्म निर्माण गरिसकेको बताउने शंकर अधिकारी ‘घायल’ आफूले अहिलेसम्म कोही कलाकारलाई शोषण नगरेको बताउँछन् । ‘तर, अरूले गरेका होलान्,’ उनी उल्टै प्रश्न गर्छन्, ‘नत्र केटीहरूलाई ‘सर्ट फिल्म खेल्ने हो ?’ भनेर प्रस्ताव राख्नासाथ नाक खुम्च्याउँछन्, किन त ?’
पारिश्रमिकमा पनि शोषण धेरैको अनुमान हुन्छ– यस्ता फिल्ममा काम गर्ने कलाकारको पारिश्रमिक पनि आकर्षक होला । तर, वास्तविकता ठीक विपरीत छ । ‘नयाँलाई त ब्रेक दिने हो, पैसा त नदिँदा पनि हुन्छ,’ निर्देशक अधिकारी भन्छन्, ‘अवस्था हेरेर दिनको एक हजारदेखि १५ सयसम्म दिइन्छ । र, एकै दिनमा आधा दर्जनजति फिल्मको सुटिङ गरिन्छ ।’ उनले शनिवारमात्र काठमाडौँ, शंखमूल नजिकैको यूएन पार्कमा तीनटा फिल्मको छायांकन गरे । देखाउने एउटा दाँत, चपाउने अर्कै बाहिरबाट देखिँदा अर्कै पेशा गरिरहेका व्यक्तिहरू भित्रभित्रै पैसा कमाउने लोभमा युट्युब च्यानल खोलेर सर्ट मुभीको धन्दामा लागेको पाइएको छ । उदाहरणका लागि पीएनपी मिडिया नामक कम्पनीका सीईओ युवराज खत्रीलाई लिन सकिन्छ । उनी फिल्म सम्पादन पनि गर्छन् । उनले चलाएको पीएनपी मिडिया नामक युट्युब च्यानलमार्फत पहिले थुप्रै भल्गर दृश्य भएका सर्ट फिल्महरू अपलोड हुन्थे ।
पछि युट्युबले नै ब्लक गरिदिएपछि उनी अहिले लुकीछिपी अर्को च्यानलबाट यो धन्दा चलाइरहेका छन् । उनले चलाएको ‘कुलेन टीभी’ धेरैजसो अश्लील दृश्य भएका सर्ट फिल्म अपलोड गर्ने युट्युब च्यानल हो । हालसम्म आठ सयभन्दा बढी सर्ट मुभी बनाइसकेको दाबी गर्ने निर्देशक घनश्याम तिमल्सिना आफूले थुप्रै मुभी बनाएर उनलाई बेचेको बताउँछन् । निर्देशक शंकर अधिकारी घायलका अनुसार उनी केही समयअघिसम्म आफूले बनाएका सर्ट फिल्म युवराजलाई नै बेच्थे । तर, यस विषयमा कुरा गर्दा युवराज तर्किए । ‘मैले चलाएको हो भन्ने के प्रमाण छ ?’ उनले उल्टै प्रश्न गरे,‘ मेरो पीएनपी मिडिया मात्र हो, अरू होइन । पहिला हामी सर्ट फिल्म किन्थ्यौँ, अहिले किन्दैनौँ ।
सर्ट फिल्ममा अभिनय चाहिँ गर्छु । पैसा दिन्छन्, त्यही भएर गर्छु । तिर्सना बढाथोकी, अर्चना पनेरुले अश्लील फोटो सार्वजनिक गर्दा चाहिँ गलत नहुने ? अनि, हामीले अभिनय गर्दा चाहिँ कसरी गलत हुने ?’ युवराजका जस्ता विभिन्न कम्पनीहरूले विभिन्न नाममा युट्युब च्यानल खोलेर अश्लील सर्ट फिल्महरू अपलोड गर्ने गरेका छन् । युवराज खत्री नै नाम गरेका अर्का एक्सन फिल्म्सका प्रमुखको सर्ट फिल्म पनि युट्युबमा बग्रेल्ती भेटिन्छन् । ‘अहिले मैले बनाएको पनि छैन, खेलेको पनि छैन,’ दोस्रो युवराज भन्छन्, ‘यहाँ यस्तो फिल्म बनाउने धेरै टोली छन् । भनेर साध्य नै छैन । म पहिला बनाउँथेँ ।
अभिनय पनि गर्थें । अहिले गर्न छाडिसकेँ ।’ त्यसो त नेपालका ठूलठूला म्युजिक कम्पनीहरूले पनि पैसाको लोभमा यस्ता सर्ट फिल्महरू अपलोड गरिरहेका छन् । ‘हाइलाइट्स नेपाल’ले जीवन थापाले बनाएको ‘लोग्ने मान्छे त हो’, राज बस्नेतको ‘वन किस’ जस्ता सर्ट फिल्म अपलोड गरेको छ । म्युजिक नेपालले ‘फिलिंग्स’ नामका भल्गर दृश्यमात्र समावेश सर्ट फिल्म राखेको छ । बुढासुब्बा डिजिटलले सर्ट फिल्म नै नभने पनि ‘चुसी राख न ल’, ‘बुढीको चाटेछ’ जस्ता दुईअर्थी शीर्षकमा कमेडी भिडियो भन्दै अपलोड गरेको छ । अपवादलाई छाड्ने हो भने युट्युबमा सामान्य फिल्म र भिडियोहरूको भ्युज एक करोड पुग्न हम्मेहम्मे पर्छ । तर, यस्ता सर्ट फिल्ममध्ये केहीलाई करोडभन्दा बढी पल्ट हेरिएको पाइएको छ । अधिकांश लाखभन्दा बढी पल्ट त हेरिएकै छन् ।

0 comments
Write Down Your Responses