केन्याविरुद्धको खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं - आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्याविरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा भएको छ। 

आइसीसी प्रतिनिधिसहितको तीन सदस्यीय छनोट समितिले पारस खड्काको कप्तानीमा १९ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। उपकप्तानमा भने ज्ञानेन्द्र मल्ल छन्। यस्तै मोहम्मद आरिफ शेख, दिलिप नाथ, मेहबुब आलम, करण केसी, मोहम्मद आसिफ शेख र सागर पुन रहेका छन्। यसैगरी भुवन कार्की, शरद भेष्वाकर, शक्तिप्रसाद गौचन, अभिनाश कर्ण, सोमपाल कामी, सुनिल धमला र दिपेन्द्रसिंह ऐरीले पनि टिममा स्थान बनाएका छन्। 

यस्तै बसन्त रेग्मी, राजेश पुलामी मगर, विनोद भण्डारी र सन्दिप लामिछाने पनि टिममा परेका छन्। टिममा परेका चारजना भने नयाँ खेलाडी हुन्। आसिफ शेख, दिपेन्द्रसिंह ऐरी, दिलिप नाथ र सुनिल धमला टिममा पहिलो पटक स्थान बनाउन सफल भए। आसिफ शेख आरिफ शेखका आफ्नै भाइ हुन्। आइसीसी प्रतिनिधि भेन्काटापथी राजु, नेपाली क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको तीन सदस्यीय छनोट समितिले १९ सदस्यीय टोली छनोट गरेको हो। 

नेपाली क्रिकेट टोली शुक्रबार नेपाल एयरलाइन्सको विमानमार्फत साँझ पाँच बजे अभ्यास खेलका लागि भारत जाँदैछ। भारतमा रहँदा दिल्लीमा नेपालले तीनवटा अभ्यास खेल खेल्नेछ। कप्तान पारस खड्का भने बिरामी भएकाले अभ्यास खेलका लागि भारत जाने छैनन्। नेपालले केन्याविरुद्धको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा फागुन २८ र ३० मा हुनेछ। नेपाली टोली भारतबाट फर्किएपछि टिममा रहेका १९ मध्ये १८ खेलाडीको अन्तिम घोषणा गरिने छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.