मेक्सिकोसँगको सीमामा पर्खाल तोकिएको समय भन्दा अघि–ट्रम्प

फागुन १४, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा बनाउने भनिएको पर्खालको निर्माण तोकिएको समय भन्दा पहिले नै सुरु हुने बताउनुभएको छ । 

कन्जरभेटिभ पार्टीको सम्मेलनमा राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पार गर्न नसकिने पर्खालको निर्माण चाँडै नै सुरु हुने बताउनुभएको हो । मेरिल्याण्डमा भएको कन्जरभेटिभ पोलिटिकल एक्सन कांग्रेस (सिपिएसी) लाई सम्बोधन गर्दै ट्रम्पले आफूले जहिले पनि अमेरिकी नागरिकलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले नराम्रा मानिसलाई अमेरिका भन्दा बाहिर राख्ने विषयलाई पनि प्राथमिकता दिनुभयो । उहाँले इस्लामिक स्टेट आइएसलाई पूर्ण रुपमा नष्ट गर्ने गरी तयारी गरेको पनि बताउनुभयो । 

अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सन र होमल्याण्ड सुरक्षा मन्त्री जोन केलीले आफ्ना मेक्सिकन समकक्षीसँग भेट गरेको एक दिनपछि ट्रम्पको यस्तो भनाई आएको हो । तर टिल्लर्सन र केलीले आफ्ना समकक्षीसँगको भेटमा सीमामा बनाउने भनिएको पर्खालका विषयमा कुरा नगरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । सीमामा बनाउने भनिएको पर्खाल निर्माणका लागि २१ अर्ब ५० करोड अमेरिकी डलर भन्दा धेरै लाग्ने होमल्याण्ड सुरक्षा मन्त्रालयको आन्तरिक प्रतिवेदनलाई उल्लेख गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । यो राष्ट्रपति ट्रम्पले भने भन्दा धेरै बढी हो । 

चुनावी अभियानदेखि नै ट्रम्पले पर्खाल बनाउनका लागि १२ अर्ब डलर लाग्ने बताउँदै आउनु भएको छ । ट्रम्पले पर्खाल निर्माणका लागि मेक्सिकोले पनि लगानी गर्नु पर्ने बताउनुभएको छ । तर मेक्सिकोका राष्ट्रपति इन्ड्रिक पेनाले अस्वीकार गर्नुभएको छ । पर्खाल निमार्णका लागि राष्ट्रपतिले कांग्रेसको स्वीकृति लिनु पर्छ । त्यो प्रक्रिया सजिलो भने छैन ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.