लालपूर्जा नभए पनि अनुदान पाउन थाले भूकम्पपीडितले

१३ फागुन, काभ्रे - जग्गाको लालपुर्जा नभएर पुनःनिर्माण आवास अनुदान पाउनबाट वञ्चित भएका काभ्रेपलाञ्चोकको फलाँटे र भूम्लुटारका भूकम्पपीडितले बिहीबारदेखि आवास अनुदान पाउन थालेका छन् । 

विसं २०३२ मा भएको सीमा विवादका कारण नापी नभएपछि त्यस भेगका स्थानीयवासीले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको तिरो तिरेको रसिदका आधारमा उनीहरुलाई पुनः निर्माण आवास अनुदान उपलब्ध गराइएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, धुलिखेलले जनाएको छ । 

“जग्गा भोगचलन गरेको छ, तिरो तिरेको रसिद पनि छ, तर लालपुर्जा छैन र यसका कारण निजी आवास अनुदान पनि भूकम्पपीडितले पाउँदैनन् भन्ने थाहा भएपछि हामीले हिम्मत गरेका हौँ”, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिव सिम्खडाले भने । उनले घर भत्केको छ र अनुदान पाउनयोग्य छुटेको भए गुनासो फारम भर्न सुझाव दिँदै निर्माण भइसकेको घरका विषयमा पनि नयाँ नीति आउन लागेको बताउए। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, धुलिखेलका प्रमुख ध्रुव गैडाले बस्नयोग्य घर भएकाले आवास अनुदानको सुविधा नलिन आग्रह गर्दै सरकारको नीतिअनुसार पुनःनिर्माण हुने आवास भूकम्प प्रतिरोधी हुनुपर्नेमा जोड दिए । 

स्थानीय विकास अधिकारी टेकराज निरौलाले आवास अनुदान दिनका लागि अथक मिहिनेत भएको उल्लेख गर्दै सरकारले पीडितलाई राहत दिन खोजेको बताए। स्थानीय शिक्षक नारायण उप्रेतीले पुनःनिर्माणका क्रममा करिब ६० घर निर्माण भइसकेको र अहिले बल्ल इन्जिनियर गाउँ आएर पुनःनिर्माण भएका घरका विषयमा टिप्पणी गर्ने कुरा जायज नभएको बताए । 

पुनःनिर्माण आवास अनुदान पाउने भूकम्पपीडित भूम्लुटार गाविसमा पाँचसय ८९ र फलाँटे गाविसमा तीनसय ६७ रहेका छन् । उनीहरुले पहिलो किस्ताबापत रु ५० हजार पाउनेछन् । योसँगै जिल्लामा कुल लाभग्राहीको सङख्या ६७ हजार सातसय ११ पुगेको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.