'निष्ठुरी आमाले छाडेपछि बिचल्ली'

चितवन, १२ माघ - दुई वर्षे बालकले अरु बेला नभए पनि रातभर सुत्दा आमाको साथ पाएकै हुन्छन् । तर, चितवनको पहाडी गाविस काउलेको वडा नं. ४ राक्सिराङ गाउँका दुई वर्षे दूधे बालक भुवन चेपाङलाई सुतेका बेलामा विस्तारामै छाडेर आमा सावित्री चेपाङ अर्कै पुरूषसँग बिहे गर्न घर छाडेर हिडिन् । 

बिउँझदा आडमा आमा नभेटेपछि खोज्दै गर्दा भुवन अगेनोमा परे । त्यो बेला पोलेको घाउँ अझै निको भएको छैन । भुवनका बाबु हुन्, सुर्जे चेपाङ । उनी प्राय घरमा भेटिदैनन् । भुवनको रेखदेख अहिले ११ वर्षकी दिदी सीमा र नौ वर्षका दाजु यमनले मिलेर गर्दछन् । घाउँ भएका कारण हिँड्न गाह्रो हुने भाइलाई यमनले नै बोकेर यताउता लैजान्छन् । घरमा भएको खाने कुरा पकाएर खुवाउने जिम्मेवारी दिदी सीमाको हो । यी दिदी भाइको जिम्मामा भुवन मात्रै छैनन् । 

सात वर्षका सुजन र चार वर्षकी लक्ष्मीको स्याहार पनि उनीहरुले नै गर्छन् । गएको मंसिरमा सावित्री गाउँको अर्कै पुरूषसँग बिहे गरेर हिँडेको तीन दिनमै सुर्जेले अर्की महिलासँग बिहे पनि गरेका छन् । आफ्नी आमाको झै स्याहार बालबच्चाहरुले उनीबाट पाउन सकेका छैनन् भन्छन छिमेकीहरु । तर, सीमाले भने नयाँ आमाले पनि आफूहरुलाई खासै हेला नगर्ने बताउँछिन् । ‘बा बिहानै काममा जानु हुन्छ । आमा पनि गाईवस्तु चराउन निस्कनु हुन्छ । भाइ बैनी मैले र ठूलो भाइले मिलेर हेर्छौ’ उनले भनिन् । 

गाउँदेखि पर लगभग डेढ घण्टा उकालो बाटो पार गरेर गएपछि हात्तीबाङ भन्ने ठाउँमा स्वास्थ्य चौकी पनि छ । त्यहीबाट ल्याएको सामान्य औषधिले भाइको घाउँ निको हुने आशा सीमालाई छ । तर, सरसफाइमा पटक्कै ध्यान नदिएका कारण आगोले पोलेको घाउँ ओभाउन पाएको छैन । ‘यहाँ ठूला मान्छेले त आफ्ना बच्चाको राम्रो स्याहार गर्दैनन्, केटा केटीहरुले झन् के नै गर्न सक्छन्’ छिमेकी शोभा चेपाङले भनिन् । हात्तीबाङ स्वास्थ्य चौकीकी अनमी बसुन्धरा पराजुली चोट पटक लाग्दा वा पोलेर घाउँ हुँदा पनि उपचार गराउन स्वास्थ्य केन्द्रमा आउनेहरु कमै हुने बताउँछिन्,चितवन पोष्टले जनाएको छ । 

‘हामी बेलाबेलामा गाउँमा जाने गर्दछौं । पोलेर सानो घाउँ भए पनि सरसफाइ र राम्रो उपचार नपाउँदा अनेक खालका संक्रमण भएर ठूलै घाउ भएको भेटिन्छ । मल्हमहरु बोकेर जाने गर्दछु । घरमै उपचार गर्दिन्छु तर, स्वास्थ्य चौकीमा बोलाए आउँदैनन्’ उनले भनिन् । (तस्बिर - लालाबालाहरु : आगोले पोलेको दुई वर्षे भाइसँगै सीमा र यमन चेपाङ ।)

0 comments

Write Down Your Responses

Powered by Blogger.