सानैमा बिहे, बर्षेनी सन्तान : कलिला आमाका व्यथा

चितवन – काउले–३, तार्सेलिङकी सुनकुमारीले १४ बर्षकै उमेरमा स्थानीय सन्तबहादुर चेपाङसंग भागेर बिहे गरिन् । अहिले उमेर २४ पुग्यो । साथमा ४ सन्तान छन् । पछिल्लो पटक जन्मिएकी छोरी बर्ष दिन नपुग्दै पुन: गर्भवति छिन् । पहिलो सन्तान ८ बर्षका भए । जेठा मुनि जन्मिएको छोरा बचेनन् । त्यसपछि तीन बर्ष र एक बर्षकी छोरी छन् । घरमा खाने अन्न छैन । मकै, कोदोले ६ महिना पुग्दैन । बर्ष दिनकी छोरी रेखदेख गर्न समस्या भोगिरहेका बेलै उनी गर्भवति बन्न पुगिन् । ‘महिनावरी नभई बच्चा बसेछ,’ उनले लजाउँदै भनिन, ‘कति महिना भयो थाहा छैन ।’ पेटभरी खाने अन्न छैन । 

शरिर ढाक्ने राम्रो लुगा छैन । सबै सन्तान साना छन् । कान्छी छोरीले पोषिलो खानेकुरा नपाउँदा हात खुट्टा सुक्दै गएको छ । सन्तानले राम्रो स्याहारसुसार पाएका छैनन् । तर, उनी फेरी आमा बन्ने तयारीमा छिन् । ‘पढ्न पाएन, चाँडै बिहे गरियो,’ उनले थपिन्, ‘पेटभरी खान नपाए पनि बच्चा पाउन सकिदो रैछ, त्यही भएर फेरी बच्चा बसे छ ।’ यो समस्या उनको मात्र होइन । गाउँमा अझै वालविवाह हट्न सकेको छैन । सानै उमेरमा बिहे गर्ने क्रम पहिला जस्तो थियो । अहिले पनि उस्तै छ । ‘मैले १२ बर्षको उमेरमा बिहे गरे, अहिले २४ बर्ष पुगें,’ नीरमाया चेपाङले भनिन्, ‘यो उमेरसम्म ४ छोराछोरी जन्माई सकें ।’ उनका ९, ७ र ३ बर्षका ३ छोरी र २ बर्षका एक छोरा छन् । उनी बिहे गरेको ३ बर्षमा आमा बनिन् । 

तीन कक्षा भन्दा पढ्न सकिएन,’ उनले भनिन्, ‘आफुले नपढेपनि छोराछोरीलाई दु:ख सुख पढाएका छौं ।’ गाउंमा मागि विवाह भन्दा भागेर बिहे गर्ने परम्परा जस्तै बनेको छ । केटा/केटी आपसमा मन परापर भए उमेरको हिसाव हुँदैन । उमेर पुगेर बिहे गर्नेको संख्या कम छ । ‘तरुनी भए आंखा लाग्छ भनेर होला, कम उमेरमै बिहे गर्ने रहर जागेको छ,’ गाउँकै अगुवा नक्कलीमाया चेपाङले भनिन्, ‘सानै उमेरमा बिहे गर्दा दु:ख बढी हुन्छ ।’ उनले गरीबि र अशिक्षाले गर्दा यस्तो समस्या गाउंमा रहेको बताईन् । नजिकमा विद्यालय हुदैनन् । घण्टौं हिंडेर विद्यालय जानु पर्ने बाध्यता छ । त्यही भएर दु:ख गरेर पढ्न जानेको संख्या कम छ । पढ्दा/पढ्दै भागेर बिहे गरी पढाई छाड्नेको जमात बाक्लो छ । ‘१४ बर्षको उमेरमा बिहे भयो,’ सीता चेपाङले भनिन्, ‘कम उमेरमा बिहे गर्दा जिम्मेवारीको काम गर्न समस्या हुँदो रैछ ।’

 उनले परिपक्क उमेरमा बिहे गर्दा आमा बन्न समस्या हुने बताईन । ‘कुन उमेरमा आमा बन्ने, सन्तान कसरी हुर्काउने भन्ने कुरा सानैमा बिहे गर्दा थाहा हुदैनरैछ,’ उनले भनिन्, ‘हामीले यस्तो समस्या भोग्नु परेपनि अरुले भोग्नु नपरोस भन्ने छ ।’ उनले गाउँमा कम उमेरमा बिहे नगर्न सल्लाह सुझाव दिने गरेपनि त्यो प्रभावकारी हुन नसकेको बताइन । कलिलैमा आमा बन्दा कमजोर हुने, टाउको दुख्ने, पेट दुख्ने समस्या भोग्नु पर्ने बाध्यता छ । ‘यो गाउँमा १२/१३ बर्षकै उमेरमा अहिले पनि बिहे हुने गरेको छ,’राष्ट्रिय माध्यमिक विद्यालय हात्तिबाङका प्रअ रमेश रसाईलीले भने, ‘यो क्रम कक्षा ६ भन्दा माथी पढ्दै गर्नेहरुमा बढी छ, जसले गर्दा माथिल्लो कक्षामा विद्यार्थीको संख्या कम हुने गरेको छ ।’ 

उनका अनुसार विद्यालयमा ८० प्रतिशत चेपाङ विद्यार्थी छन् । पढ्दा पढ्दै बिहे गर्ने र पढाई छाड्नेको संख्या समेत बर्षेनी बढ्दो छ । समस्यै समस्या भरतपुर अस्पतालका स्त्री तथा प्रसुती रोग विभागीय प्रमुख डा. सुनिलमणि पोखरेलका अनुसार कम उमेरमा बिहे गर्दा शरिर सन्तान पाउनका लागि विकास भईसकेको हुँदैन । आमालाई रक्तअल्पता हुने खतरा हुन्छ । महिना नपुग्दै बच्चा जन्मिने र कम तौलको हुने खतरा बढी हुन्छ । ‘कम उमेरमा बिहे गर्दा गर्भपतन गराउने बढी हुन्छन,’ उनले भने, ‘शिशु मृत्युदर समेत बढ्छ ।’ सानै उमेरमा बिहे गर्दा पाठेघरको पुर्ण विकास भइसकेको हुदैन । त्यस्तो बेला पाठेघर फुट्ने र आमाको ज्यान जाने खतरा हुन्छ । यस्तो समस्या मध्यम र न्युन आयस्तर भएका समुदायमा बढी हुन्छ । 

जसले गर्दा गर्भवति भएपछि आमाले पोषिलो खाना खान पाउँदैनन् । आमा र बच्चा दुबैलाई कुपोषण हुने खतरा हुन्छ । ‘कम उमेरमा बिहे गर्दा स्वाथ्य समस्या धेरै आईपर्छ,’ उनले भने, ‘कम उमेरबाटै यौन सम्पर्क गर्दा पछि पाठेघरको मुखको क्यान्सर हुने, आङ खस्ने समस्या आईपर्ने खतरा बढी हुन्छ ।’ यो सबै वालविवाहले निम्ताएको समस्या हो । गरीबि र अशिक्षा यसका मुख्य समस्या हुन् । ‘कम उमेरमै बिहे गर्ने क्रम गाउँघरमा बढी छ, त्यो पनि न्युन आयस्तर भएका समुदायको परिवारमा छ,’ उनले भने, ‘ यसको सिकार विकट गाउँ/ठाउँ बनेका छन्, त्यही भएर वालविवाह अझै रोकिन सकेको छैन ।’

0 comments

Write Down Your Responses

Powered by Blogger.