इराकी सेनाद्वारा मोसुल विमानस्थल नियन्त्रणमा
मोसुल - अमेरिकी समर्थनको इराकी गठबन्धन सेनाले इस्लामिक स्टेट (आइएस) को नियन्त्रणमा रहेको मोसुल सहरस्थित विमानस्थल बिहीबार आफ्नो कब्जामा लिएको छ ।
हवाई कारबाहीमा विमानस्थल आसपासमा रहेका आइएसका सैन्य अखडामा पनि भीषण गोलाबारी गरिएको छ। इराकको सरकारी टेलिभिजनले दिएको जानकारीअनुसार इराकका सबै सुरक्षा संयन्त्रले संयुक्त रूपमा मोसुल विमानस्थलमा आक्रमण गरेका थिए ।
गठबन्धन सेनाले गत महिना मोसुल सहरको पूर्वी भागबाट आइएसलाई धपाएको थियो । इराकी सेनाले विमानस्थल र त्यस नजिकै रहेको अल गाजलानी सैन्य अखडामा नियन्त्रण गर्न सफल भएको छ । यी भाग इराकी सेनाको नियन्त्रणमा आएपछि गठबन्धन सेनालाई मोसुलको पश्चिमी क्षेत्रमा आक्रमण सहज हुने बताइएको छ । उक्त क्षेत्रमा आइएसको तालिम केन्द्र पनि रहेको छ ।
सन् २०१४ को जुनमा आइएसले मोसुल कब्जा गरेको थियो । त्यसै बेलादेखि विमानस्थल र सैन्य तालिम केन्द्र आइएसले कब्जामा परेको थियो । मोसुल सहरबाट आइएसलाई धपाएपछि इराकमा आइएसको अस्तित्व समाप्त हुने सैन्य विश्लेषकहरूको भनाइ छ ।
बिहीबार गरिएको आक्रमणमा १ लाखभन्दा बढी इराकी सैनिक, कुर्द लडाकर र सिया लडाकु सहभागी थिए । पश्चिमी मोसुलमा करिब ६ लाख सर्वसाधारण फसेका छन् । आइएसले सर्वसाधारणलाई ढालको रूपमा प्रयोग गर्ने गरेको छ ।

0 comments
Write Down Your Responses