आशा लामालाई राजदूतबाट हटाएको समाचार आएपछि पत्रकार सम्मेलनमै ‘आगो’ भइन
काठमाडौँ, १६ फागुन युएईका लागि नेपाली राजदूतमा सिफारिश आशा लामाले सरकारले योग्य, अनुभवि, सक्षमता देखेर आफूलाई राजदूतमा सिफारिश गरेकोले उक्त निर्णयबाट सरकार पछिनहट्नेमा आफू विश्वस्त रहेको बताईन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएकी हुन् । लामाले भनिन्, ‘मैले देश र जनताको हित विपरित कुनैपनि त्यस्तो काम गरेको छैन, मैले आप्रवासी नेपाली महिलाहरुको हकहितको लागि काम गरेको छु, विगत ६ वर्षदेखि युएईमा काम गरिरहेको छु, त्यहाँका नेपालीहरुको पीडा मलाई जति कसैलाई पनि थाहा छैन्, उनीहरुको समस्या समाधान गर्नको लागि म जेलमा पुगेको छ, हरेक ठाउँमा पुगेको छु, हरेक नेपालीहरुले काम गर्ने कम्पनीदेखि घरमा पुगेको छु ।’ सरकारले मेरो योग्यता, क्षमता हेरेर मलाई जुन किसिमको जिम्मेवारी दिने निर्णय गरेको छ, यसले मलाई निकै खुशी तुल्याएको छ, यसको लागि पूर्ण रुपमा सक्षम र योग्य छु ।’
लामाले आफ्नो परिवारको रगत–रगतमा कांग्रेस रहेकोले जिकिर गर्दै भनिन्, ‘मेरा पुर्खाहरु पनि कांग्रेस नै हुन्, हजुरबुवादेखि बुवासम्म सबै कांग्रेस हुन्, मलाई जनमोर्चा भनियो, तर त्यतिखेर मलाई उम्मेद्वारी मात्रै बनाईएको हो ।
मैले पाँच नम्बर क्षेत्रमा कांग्रेसका उम्मेद्धवार नरहरी आचार्यलाई भोट हालेकी हुँ । साध्यबहादुर भण्डारीले मलाई उम्मेद्धवार बन्नुहोस्, सहयोग गर्नुहोस्, हामी राष्ट्रवादी हौँ भनेर भन्नुभयो, त्यसैले मैले उम्मेद्धवारी दिएकी हुँ, म त कांग्रेस नै हुँ ।’ उनले पार्टीले आफूलाई अन्याय नगर्नेमा आफू विश्वस्त रहेको बताईन् ।
लामाले आफू राजदूत बन्न पूर्ण रुपमा योग्य र सक्षम रहेको स्पष्ट पारिन् । उनले राजदूत नियुक्तिमा आफू जत्तिको सक्षम व्यक्ति नेपाली कांग्रेसभित्र नरहेको दाबी समेत गरेकी छन् । लामाले अगाडि भनिन्, ‘अहिले मेरो नाम राजदूतमा सिफारिश भए लगत्तै मेरो बारेमा गलत तरिकाले समाचारहरु आए, यी सबै मेरो चरित्र हत्या गर्नेगरि आएका हुन्, ती असत्य र भ्रामक समाचारहरुको म आज खण्डन गर्न चाहन्छु, आजसम्म मैले कसैलाई बिगारेको छैन ।’
उनले यो देशको लागि केही गर्ने भनेर ठूलो सपना देखेको व्यक्ति भएको बताउँदै भनिन्, ‘म अन्तिमसम्म पनि देश र जनताको लागि र विदेशमा रहेका नेपालीहरुको हकअधिकारको लागि लडिरहनेछु ।’ उनले पछिल्लो समय आफूले महिला हिंसा विरुद्धको अभियानको नेतृत्व गरिरहेको बताउँदै भनिन्, ‘नेपालमा मात्रै नभएर विदेशमा समेत मैले आवाज बुलन्द गरेको छु, नारीमाथि भएको अन्याय, अत्याचार र शोषणविरुद्ध आशा फाण्डेशन नेपाल संस्थाबाट लडिरहेकी छु ।’
उनले आफूले गरेको यस्तो राम्रो कामको बारेमा लेखिदिनुपर्ने बेलामा मिडियाले गलत रुपमा समाचार सम्प्रेषण गरेको गुनासो पोख्दै थपिन्, ‘मैले गरेका राम्रा कामहरुको बारेमा लेख्नुपर्ने बेलामा मिडियाले हचुवाको भरमा तथ्यहीन समाचारहरु मेरो बारेमा लेखेकोमा मलाई निकै दुःखित तुल्याएको छ, मलाई न्याय दिनुहोस्, मैले अन्याय गरेकै छैन ।’
उनले आफूले गलत काम गरेको प्रमाणित भए जस्तोसुकै कठघरामा उभिन पनि आफू तयार रहेको स्पष्ट पारिन् । उनले हात जोडेर भनिन्, ‘मलाई न्याय दिनुहोस्, गलत समाचार कहिल्यै पनि सम्प्रेषण नगर्नुहोस् ।’ उनले दुवईमा बसेर नेपाललाई चिनाउने ग्लोवल भिलेजको आयोजक पनि आफू रहेको दाबी गरिन् ।

0 comments
Write Down Your Responses