झुटो विवरण पेश गर्ने भूकम्पपीडितलाई रकम फिर्ता गर्न सरकारले १५ दिने अल्टिमेटम जारी

माघ २७ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले झुटो विवरण पेश गरी अनुदान रकम लिने वा लिन प्रयास गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । 

बस्न योग्य घर भएका वा अन्यत्र घर भएकाहरुले पनि झुटो विवरण पेश गरी लाभग्राही सूचीमा आफ्नो नाम पारेको भन्ने गुनासो आएकोमा ध्यानाकर्षण भएको भन्दै प्राधिकरणले सार्वजनिक सूचना प्रकाशन गरी कारबाहीको चेतावनी दिएको हो । 

प्राधिकरणले लाभग्राहीको सूचीमा नाम पारी अनुदान सम्झौता गरेका गैर पीडितहरुले अनुदान प्राप्त गरेको भए रकम फिर्ता गर्न र रकम लिन प्रयास गर्नेहरुले सम्बन्धित जिल्ला समन्वय समितिको सचिवालयमा सम्पर्क गरी १५ दिनभित्र लाभग्राही सूचीबाट आफ्नो नाम हटाउन भनेको छ । 

तोकिएको समयभित्र रकम फिर्ता नगर्ने या नाम नहटाउनेलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने प्राधिकरणको चेतावनी छ । यस्तै पहिलो किस्ता अनुदान लिएर पनि घर नबनाउने भूकम्पपीडितलाई सरकारले कारबाही गर्ने तयारी गरेको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको ४२ औं बैठकले पहिलो किस्ताको ५० हजार रुपैयाँ लिएर घर नबनाउनेहरुलाई दण्ड दिनुपर्ने निष्कर्ष निकालेको हो । ‘झुठो विवरण दिएर पहिलो किस्ता लिने र पहिलो किस्ता लिएर घर नबनाउने प्रवृत्ति देखिएकाले दण्डात्मक व्यवस्था गर्न लागेका हौं’, प्राधिकरणका सह–प्रवक्ता भीष्मकुमार भूसालले भने, ‘सुरुमासूचना निकालेर सचेत गराउँछौं । 

पछि कानुनअनुसार रकम फिर्ता गर्नेदेखि कालोसूचीमा राख्नेसम्मको कारबाही हुन्छ ।’ कालोसूचीमा परेकाले सरकारले उपलब्ध गराउने नागरिकता, पासपोर्ट लगायतका कागजात नपाउनुका साथै अन्य नागरिक अधिकारबाट बञ्चित हुने र बैंकको समेत कालोसूचीमा पर्ने उनले बताए । प्राधिकरणले गत फागुन ३० गतेबाट भूकम्पपीडितलाई पहिलो किस्ताको ५० हजार रुपैयाँ दिन थालेको हो।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.